हिंसाबाट बच्न छात्रालाई आत्मरक्षा तालिम

0
707

काँकरभिट्टा।

शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्देश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धी अभिमुखीकरण तालिम बिहीबारदेखि काँकरभिट्टामा शुरु भएको छ ।

‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल उद्घोषसहित सो तालिम शुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालित तालिमको उद्घाटन प्रदेशसभा सांसद् गोपालचन्द्र बुढाथोकीले गरेका थिए । तालिम जिल्ला खेलकुद विकास समिति झापाको समन्वय तथा व्यवस्थापनमा शुरु भएको हो ।

शुक्रबार समापन हुने तालिमको उद्घाटन सत्रमा नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापालले शारीरिक रुपमा महिलालाई हुन सक्ने हिंसात्मक घटनाबाट जोगिने उपाय सिकाउन तालिम शुरु गरिएको बताए ।

सो अवसरमा १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएका झापा जिल्लाका १ सय १० वटा सामुदायिक र संस्थागत विद्यालयलाई खेल सामग्री खरिद तथा प्रोत्साहन स्वरुप प्रति विद्यालय १० हजार रुपैयाँका दरले रकम वितरण गरियो ।

त्यसक्रममा सगरमाथा मल्टी मार्सल आर्टका अध्यक्ष दीपक धिमाल र शारीरिक सुगठन प्रतियोगितामा मिस्टर पूर्वाञ्चलको उपाधि विजेता तुलबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

अभिमुखीकरण तालिममा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत् ३ सयभन्दा बढी छात्राहरुले भाग लिएका संघका जिल्ला उपाध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।

एक विद्यालय बराबर ३ जना छात्रा सहभागी तालिमको सहजीकरण नेपाल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, क्षेत्रीय प्रशिक्षक शीला श्रेष्ठ, प्रकाश बस्नेत र पिंकी वर्मनले गरिरहेका छन् ।

‘राखेपको वार्षिक कार्यक्रम हो यो, महिला हिंसा न्यूनीकरणका लागि संघको देशव्यापी अभियान जारी छ’ –संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकर थापाले भने–‘अहिलेसम्म ३४ जिल्लाका २० हजार महिलालाई प्रशिक्षित गराइएको छ ।’

उद्घाटन कार्यक्रममा समितिका उपाध्यक्ष भेषराज भण्डारी प्रशान्तले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here