चन्द्रगढी विमानस्थलमा फायर फाइटिङ युनिट

0
536

दमक।

झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढी विमानस्थल स्थापना भएर सञ्चालनमा आएको ४० बर्षपछि बिमानस्थलमा ‘फायर फाइटिङ युनिट’ बसेको छ ।

मंगलवार यसका लागि दमकल आएसँगै यो युनिट स्थापना भएको चन्द्रगढी नागरिक उड्ययन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए । दुई बर्षअघिदेखि आवश्यक पूर्वाधार निर्माण गरेर पहल गर्दा यो सफलता मिलेको चुडालको भनाइ रहेको छ ।

बिमानस्थलको स्तरोन्नतिसँगै स्रोतसाधन थप भइरहेको र भौतिक पूर्वाधार निर्माणको काम समेत तीव्रगतिमा भइरहेको चुडालले बताए । ‘दमकल समेत नभएको बिमानस्थलको रुपमा रहेको थियो अब क्षेत्रीयस्तरको बिमानस्थल बनाउन योग्य पूर्वाधार र स्रोतसाधन जोड्दैछांै’ –उनले भने ।

आन्तरिक यात्रुमात्र नभएर यो बिमानस्थल भएर भारत, बंगालादेश र भुटानका पर्यटक एवम् ब्यापारीहरु काठमडांै जाने भएकाले यहाँ उडान थप गर्नेदेखि लिएर बिमानस्थल बढाउने कामले पनि तिब्रता पाएको बताइएको छ । ‘हामी बिमानस्थलभित्र बिमान पार्किङस्थल समेत निर्माणको काम अन्तिम चरणमा पुर्याएका छौंं’ –चुडालले बताए । १० बिगाह जमिन अधिग्रहण गरेर जग्गादाताहरुलाई १७ करोड रुपैयाँ प्रदान भइसकेको बताइएको छ । बिमानस्थलमा आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ समेत उडान शुरु भएको छ । केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिकालीन उडानको उद्घाटन गरेका थिए ।

‘पछिल्लो समय जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिन्छ’ –चुडालले बताए । बर्षात्मा पानी जमेर बिमानस्थलमा बिमान अवतरण समस्या हुने गरेकोमा अहिले पानीको व्यवस्थापनका लागि ढलको व्यवस्थापन भइसकेको पाइएको छ ।

स्तनपान कक्ष निर्माण

बिमानस्थलले महिलामैत्री बिमानस्थलको रुपमा विकास गर्ने उद्देश्यले स्तनपान कक्ष समेत बनाएको छ । बच्चा बोकेर बिमानस्थलमा आएका महिलाहरुले अप्ठेरो गरेर स्तनपान गराएको देखेपछि यसको आवश्यकता महशुस गरेर अहिले स्तनपान कक्ष पूर्णरुपमा सञ्चालनमा ल्याइएको चुडालको भनाइ छ । ‘सुविधासम्पन्न बिमानस्थलमा पाइने सुविधाहरु यहाँ पनि दिनुपर्छ भनेर लागेका छौं’ –चुडालले भने ।

उडान थपको तयारी

२०३६ सालमा घाँसे धावन मार्गबाट उडान सेवा शुरु गरेको भद्रपुरको चन्द्रगढी बिमानस्थलको स्तरोन्नतीको कामसँगै उडान थप्न कयौंपटक छलफल भएको बिमानस्थल प्रमुख चुडालले बताए । ‘अन्तरप्रदेश र पहाडी उडानलाई चाडो गर्ने हाम्रो प्रयास रहँदै आएको छ’ –चुडालले भने । ‘आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर पोखरा उडानलाई महत्वका साथ शुरु गर्न लागिरहेका छौं’ –चुडालको भनाइ छ ।

रात्रिकालीन उडानका लागि समेत सबै पूर्वाधार र उपकरण जोडिएको बिमानस्थलमा अहिले दैनिक १० वटासम्म उडान हँुदै आएको छ । बुद्ध एयर, यति एयर, श्रीएयर र नेपाल बायु सेवा निगमले यहाँबाट सेवा दिइरहेका छन् । ‘दैनिक एकतर्फ सात सय जनासम्मले यात्रा गरेका छन् र यसमा बाह्य नागरिक पनि उल्लेख्य छन्’ –चुडाल भन्छन् ।

क्षेत्रीय बिमानस्थल बनाउने प्रदेशको घोषणा

यस बिमानस्थललाई क्षेत्रीयस्तरको बिमानस्थलको रुपमा विकास गर्नका लागि आफूहरु पनि लागीपरेको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए ।

‘बिराटनगर बिमानस्थलको स्तरोन्नतिसँगै चन्द्रगढी बिमानस्थलको पनि स्तरोन्नति गर्न आवश्यक छ र यसको तयारी छ’ –उनले भने– ‘पहाडी उडानको सम्भावना यहाँबाट धेरै देखिन्छ तर अहिलेसम्म हुनसकेको छैन’ –उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here