देशलाई दुख्नु हुँदैन

0
542

सरकार र नेकपा विप्लव समूहका बीच फेरि मुठभेद भएको छ । गत बुधबार भोजपुर–७ स्थित पाँचतारे होटल नजिकै दुई पक्षबीच गोली हानाहान भएको र त्यसक्रममा दुई राई बन्धुको मृत्यु भयो । मृत्यु हुनेहरुमा प्रहरीका सञ्जीवकुमार राई र विप्लव समूहका नीरकुमार राई रहेका छन् । घटनाका विषयमा दुबै तर्फबाट फरक–फरक प्रतिक्रिया आएका छन्, तर मृतकका परिवारको पीडा यस्ता तर्क, प्रतिक्रिया र आरोप–प्रत्यारोपले कम गर्ने छैन । प्रहरीतर्फका राई घुमुवा हुन र उनी सादा पोशाकमा थिए, अर्का प्रहरी सोमनाथ भट्टराई त्यही घटनामा घाइते भएका छन् ।

जीवन कसैको पनि सस्तो हुँदैन । जसले मुत्युवरण गर्छ ऊ फर्किएर फेरि उही रुपमा भेटिंदैन । त्यसकारण कसैले अकाल, असमय र अनाहकमा जीवन गुमाउनु हुँदैन । उसको मृत्युले परिवारजनलाई दिने पीडा न अनुभूतिले न त शब्दले कम गर्न सक्छ । त्यसैले कोही, कतै मर्नु वा मारिनु हुँदैन । अझ भगवान बुद्धको देश, शान्तिगामी नेपाल भनेर परिचित जाति र वैदिक संस्कृतिमा सम्पूर्णता देख्नेहरुका लागि हत्या, हिंसा र टाढाको कुरा परपीडा नै वर्जित मानिन्छ । तर, यी सबैभन्दा फरक हुन्छ राजनीतिमा । अर्थात् राजनीति गर्ने र त्यसमै रमाउनेका लागि मर्नु–मार्नु सामान्य जस्तै लाग्न सक्छ । त्यसकै उदाहरण मान्न सकिन्छ, नेपाली इतिहासको कोतपर्व, भण्डारखाल पर्व, झापा काण्ड हुँदै माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्ष ।

नेपालीलाई बानी पर्न थालेको छ, यस्ता घटना सुन्न, हेर्न र भोग्न । अनि पनि सबैको चाहना हुन्छ कि फेरि–फेरि मर्ने र मार्ने घटना नदोहोरियुन, तर राजनीति गर्नेहरुका लागि यस्ता विषय सामान्य र नियमित हुने भएकाले आरोप–प्रत्यारोप, चेतावनी–चुनौति पछि फेरि बिर्सना हुन पुग्छ । इतिहासमा कोत पर्वको घटना जसले निरंकशु राणा शासनलाई स्थापित गरायो र त्यसपछिको ठूलो र धेरैले अनाहकमा मृत्युवरण गर्नुपरेको दश वर्षे सशस्त्र संघर्षले जीर्ण बनाएको मनलाई संवेदनहीन पनि बनाए जस्तै भइरहेको छ । होला त्यसकै परिणाम यतिखेर पत्याउनै नहुने गरी, सुन्दै कान फुट्ने गरी, देख्दा आँखा टालिने खालका अपराधहरु भइरहेका ।

कहीँ, कोही र कुनै बहानामा मर्नु नपरोस् । आम नेपालीको साझा चाहना हो यो । विद्रोही हुन्, राष्ट्रसेवन कर्मचारी, उद्योगी–व्यवसायी अथवा सेना प्रहरी नै किन नहुन् सबै नेपाली हुन् । नेपाली एउटै परिवारभित्रका सदस्य हुन् त्यसैले एउटाको पीडालाई अर्काले अनुभूत गर्नुपर्छ । त्यस्तो हार्दिकता, एकात्मकता र सद्भाव चाहिएको छ देशलाई । भोजपुरका दुई राईको हत्याले उत्पन्न पीडा र क्षति आम नेपालीको हो, सरकारका लागि त झनै ठूलो हो । उसको दुई होनाहार सन्तान गुमाएको गहिरो पीडा बोकेको छ, त्यसैले उसले संयमित हुनुपर्छ र सन्तान वियोगको घटना सरह फेरि–फेरि यस्तो नहोस् भन्ने संकल्प गर्नुपर्छ । अनि मात्र देश, समय र जनताले खोजेको आवश्यकताको परिपूर्ति हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here