बाल्मीकिमा भोकमरीले गोरेको निधन भएपछि…

0
885

बिर्तामोड।

विश्वमा भोकमरीको समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सन् २०१८ को तथ्यांक अनुसार विश्वमा ८२ करोडभन्दा बढी मानिस भोकमरीको चपेटामा परेकोे संयुक्त राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो तीन वर्षयता भोकमरी बढ्न थालेको हो ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष र विश्व खाद्य कार्यक्रमले संयुक्त रुपमा प्रतिवेदन तयार पारेका हुन् ।

पछिल्लो समय दक्षिण एसियाका ११ प्रतिशत मानिस कुपोषणको चपेटामा देखिएका छन् । मध्यमस्तरको आय भएका देशहरु विशेष गरी जहाँको आर्थिक वृद्धि सुस्त रहेको छ, ती देशमा भोकमरीको समस्या बढ्दो क्रममा देखिएको छ । नेपालमा पनि खेतीयोग्य जमिन मासिने क्रम बढ्दै गएको छ भने आधिकांश जग्गा बाँझै छाड्ने प्रचलन पनि बढेको छ ।

भोकमरीले मृत्युदर बढी रहेका बेला झापाको बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा गोरेको भोकमरीकै कारण निधन भएको छ । लामो समयसम्म खाना खान नपाएका गोरे आलु भनेर लोहोरो पकाइ रहेका थिए । लोहोरो पाक्ला र खाँउला भन्ने आश गरेका गोरे बुबा माने आए लगत्तै खानै नपाएर चुलोमा नै ढल्दा बाल्मीकि एजुकेशन फाउण्डेशनको सभाहल स्तब्ध बनेको थियो ।

आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार पर्शु प्रधानद्वारा लिखित क्षणभरीको आकाश नाटकलाई विद्यार्थीले स्टेजमा जीवन्त उतारेका थिए ।

उनीहरुले कुलतमा फसेर घर ब्यवहार तहसनहस मात्रै हुँदैन भोकमरीका कारण परिवारका सदस्यले ज्यानै गुमाउनु पर्छ भन्ने सन्देश नाटकको माध्यमबाट दिएका थिए । सानी दिदीको भट्टीमा गहना बेचेर खाद्यान्न किन्न गएको मानेले सबै सम्पत्ति सक्यो तर उसले परिवारको भोकमरीको अवस्था नबुझ्दा गोरेको निधन हुन पुग्यो । नाटकमा गरीब भएर जन्मनु गल्ती होइन तर गरीब भएर मर्नु गल्ती हो भन्ने सन्देश बालकलाकारहरुले सिलसिलाबद्ध ढङ्गबाट प्रस्तुत गर्दै दुब्र्यसनविरुद्ध बाल्मीकिका विद्यार्थी जागरुक रहेको बताए ।

कार्यक्रममा बालबालिकाहरुले आदिकवि भानुभक्त आर्चायद्वारा रचित रामायणको विभिन्न श्लोकहरु बाचन गरेका थिए । बाल्मीकि एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा फाउण्डेशनका निर्देशक आनन्दकुमार बस्नेत, प्रिन्सिपल विष्णु सिंघल, सञ्जिव योञ्जन लगायतका शिक्षकहरुको आतिथ्य रहेको थियो ।

प्रतियोगितात्मक कविता बाचन प्रतियोगितामा शितोष्ना तिम्सिना प्रथम , कृति बेगा द्वितीय, रितिका खरेल र निशा भट्टराई तृतीय भएका थिए । त्यस्तै नाटक अभिनयमा रङ्कल्प पौडेल उत्कृष्ट पात्र घोषित भएका थिए ।
शिक्षक पुष्करनाथ उपाध्यायले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा जीवन आचार्य, कुलमणि चम्लागार्इं लगायतले बोलेका थिए । विद्यार्थी अभयीका प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय दिया संग्रौला र थोमस संग्रौलाले संयुक्त रुपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here