सडकको पीडा र जनता

0
1019

स्मार्ट सिटीको अवधारणा अनुसार बिर्तामोड–भद्रपुर सडक खण्डको चार किलोमिटर क्षेत्रको सडक बिस्तारको काम अबको छ महिनामा सम्पन्न गर्नुपर्नेछ । चन्द्रगढीस्थित लेखनाथ चौकसम्मको चौध किलोमिटर मध्ये झण्डै तीन किलोमिटर सडक चार लेनको हुनेछ । बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुरसम्मको सडकखण्डको बाँकी भाग दोस्रो चरणमा निर्माण हुने बताइएको छ । पहिलो चरणको चार लेनसहितको सडक आउँदो असोज महिनाभित्रमा सम्पन्न भइसक्नुपर्नेछ । जसको निर्माण कार्य भने बीस प्रशित पनि पूरा भएको छैन ।

बिर्तामोडदेखि मेची आँखा अस्पतालसम्मको सडकको दुईतर्फ नाला खनिएको छ । ढल बनाउन खनिएको सडक यो वर्ष हिउँदमा धुलाम्मे र अहिले हिलाम्मे भएर स्थानीयबासीले भोग्नुपरेको पीडा शब्दले व्यक्त गर्न सकिँदैन । अझ गएको एक हप्तादेखि भएको अविरल वर्षाका कारण कैयौं सवारी चालक र पैदलयात्रीले वहन गर्नुपरेको जोखिमको मापन गर्ने इकाइ नै छैन । अठार–महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी आशिष÷प्रेरा जेभीले ठेक्का सम्झौता गरी आरम्भ गरेको भए पनि कामको ढिलासुस्ती, लापरवाहीका कारण समयसीमाभित्र निर्माण सम्पन्न हुने अवस्था देखिएको छैन ।

सडकखण्डका आसपास बस्नेहरुले पटक–पटक स्थानीय सरकार, सडक विभाग र सरोकारवाला निकाय समक्ष हारगुहार गरे, अनुनय–विनय गरे तर उनीहरुको ध्यानाकर्षण भएको देखिएन । एकले अर्कालाई देखाउने कारणले बिर्तामोडको आर्थिक गतिविधि नै अवरुद्ध भएको छ । त्यही कारण बिर्तामोड उद्योग वाणिज्य संघले समेत परिस्थितिको गाम्भीर्यलाई अनुभूत गर्न दवाव दियो । स्थानीयबासीले सडकमै धान रोपेर आक्रोश पोखे तर, त्यसले सम्बद्ध पक्षलाई चिमोटेको र दुःखेको अनुभूति भएको सुन्न पनि पाइएन । यस्तोमा सडक मापदण्डभित्र परेका जग्गाधनीहरुलाई क्षतिपूर्ति दिनु बाहेक उल्लेख्य काम हुन नसक्नुले निर्माण कम्पनीसँगै सम्झौता गराउने डिभिजन सडक कार्यालय दमकलाई कसरी स्याबासी दिइन्छ र ?

झापाको सर्वाधिक व्यस्त र सम्पूर्ण दृष्टिले महत्वपूर्ण सडकखण्डको यस्तो दुर्दशा छ भने अन्यत्र के होला ! अनुमान गर्न सहज छ । गाउँ–गाउँमै सरकार पु¥याएको दम्भ गर्ने सरकारले यस्तो लापरवाहीलाई किन आँखा चिम्लिएर बसेको होला ! खोज्नुपर्ने भएको छ ।

सडकखण्डमा भएका ठूल्ठूला खाल्डाखुल्डीले दिनहुँ दुर्घटना भइरहँदा भएको क्षति र त्यसले उत्पन्न गरेको जोखिम कम गर्न स्थानीय सरकारको भूमिका स्थानीयबासीले खोज्दै छन् । त्यसकारण अबको बाँकी समयभित्रमा निर्माण सम्पन्न हुने प्रतिबद्धता होइन अग्रसरता देखिनु पर्दछ । होइन भने ढाड भाँचेर कर तिर्दै गरेका जनता शिर उठाएर विद्रोहमा उत्रिन सक्छन्, जसको उपचार कसैले गर्न सक्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here