यी ‘पँडित गर्ने’ र यिनको छोरोलाई बुझिए त थुक्क !

0
1040

व्यंग्यनारान पाँडे,

गौंथलीको बाऊका बाऊको पनि अनुहारको बनावट, रंगरुप, अग्लाई–मोटाइ, हिंडाइ–बोलाइ, खुवाइ–पियाइमा जिब्रो बजाइ, सुताइ–बसाइ, चकचक गराइ–हँसाइ–रिसाइ, आनीबानी व्यहोरा काटीकुटी गौंथलीको बाऊकै जस्तो थियो अरे ।

गौंथलीको बाऊ र गौंथलीको बाऊका बाऊ सक्कल बमोजिम नक्कल वा फोटोकपी जस्तै थियो भने उनीहरुको इण्डोसकोपी र एक्स–रे फोटो पनि उस्तै हुनपर्छ भन्थे उनीहरु । उस्तै छुल्याहा, उस्तै सिखुल्ले, उस्तै भालूभुत्ते, आफै मात्र जान्ने–बाठो हुने साइँदुवा, आफूभन्दा अरु सबैलाई नजान्ने–बेबकुफ ठान्ने, आप्mनो हुँदो गर्नुभन्दा अरुतिर आँखै नलाउने—आँखा पुगिगए हाइ काडेर आङ तान्ने तर आफूलाई समाजसेवी ठान्ने, बाऊले पढ्दै नपढी आफूलाई पण्डित भनाए जस्तै छोरो भुत्लोभाङ केही नजानी ‘सिन्यार’ माने अग्रज पत्रकारको रुपमा आफै र आफ्ना विचौलिया–यजमान भिडाएर चिनाउन अनि आफै मख्ख पर्न खप्पिस इत्यादि जस्ता थिए अरे गौंथलीको बाऊका बाऊ पनि । गौंथलीको बाऊका बाऊ पनि पैसा भनेपछि स्यालले कुखुरा–परेवालाई झम्टिन अघिका जस्ता लालची आँखा तिखार्थे अरे गौंथलीको बाऊसंग काटीकुटी मिल्ने गरी ।

अरु त अरु मान्छेको आलो–गिलो आँचीमा तीन चौथाइ डुबेको चवन्नी देखे भने पनि अरु औंलाले नछोइकन कान्छी औंला र बूढी औंला कैंची पारेर टपक्क टिप्ने र झारमा पुछपाछ, पारी भित्री खल्तीमा घुसार्थे अरे गौंथलीको बाऊका ‘पँडित गर्ने’ बाऊ पनि गौंथलीको बाऊले जस्तै भन्नेहरुले भन्छन् अरे ।…

गौंथलीको बाऊका बाऊ साउँ–अक्षर भटाभट पढ्नसक्ने भएकाले एउटा एरियाका रुढीबूढी परम्परा अलिकति पनि तलमाथि हुन नदिई मान्ने विशेषगरी अपठित अथवा बाह«खरी पनि पढ्न नसक्नेहरु कहाँ मनग्गे ‘पँडित गर्थे’ (माने जजमानी गर्थे) अरे । दानमा पाएका गाई–बाच्छी उनी जबरजस्ती बैला राखेर नूनभूस र घाँस–दाना बेस्सरी खुवाई बलियो बनाएपछि मात्र बेच्ने गर्थे अरे । त्यसरी बेच्ता पनि पाल्नका लागि किन्न चाहनेलाई होइन बोर्डरपारिबाट आउने पैकारीलाई बेच्थे अरे । ‘पैसाका लागि बेच्नुछ भने जसले बढी पैसा झार्छ उसैलाई त बेच्नुपर्छ त, मैले बैलाका बैलै राखेर टन्न खान्कीले समढन्न मोटाएका गाई–बाच्छीलाई हेरिसकेपछि उनैले भने जति दाम दिन्छन् मुखमा राल् काड्दै, उनै पारिबाट आउने पैकारीलाई बेच्छु म त । यहाँकाहरुलाई सस्तोमा बेचेर घर आउन लागेकी लक्ष्मीलाई चोट पुर्याउने पाप गर्दिन पो ।’— उनी यसो भन्ने गर्थे अरे ।

उनले ‘पँडित गर्ने’ क्षेत्रका बूढापाकाले विभिन्न सिलसिलामा भेटघाट–बातचीन हुँदा मसित गौंथलीको बाऊका बाऊ बारे भनेका कुरा यिनै हुन् केरे । उनै बूढापाकाले भने अनुसार गौंथलीको बाऊका बाऊले ‘पँडित गर्ने’ क्षेत्र यस प्रकार थिएछ—
झापा जिल्लाको उत्तर–पूर्व सीमास्थित काँकरभिट्टा भन्ने ठाउँबाट पश्चिमतिर गएको हो कि पश्चिमको कञ्चनपुर जिल्ला महेन्द्रनगर शहरबाट काँकरभिट्टा आएर निख्रेको हो— शुरुका साइनबोर्डहरुले महेन्द्र राजमार्ग भने पनि हिजोआज राजमार्ग मात्रै भन्दा पनि चिनिने ठूलो सडकको पूर्वी टुप्पो स्वयम् काँकरभिट्टा र त्यसबाट उत्तरमा उहिले छत्रबहादुरर बस्नेत दाइहरु बस्ने टोल, नरबहादुर बस्ने दाइले प्रधानपञ्च गरिरहनु भएका टाइमको नकलबन्दा बजारबाट क्रमशः पश्चिम दिनेश कानुको चिया बगानको धुरा–झुप्रा टोल, भोगेन्द्र थापा दाइहरुको राइस मिल र फुलचन्द जयसवाल भइयाको पसल हुँदाको इँटाभट्टा हुँदै धुलाबारी पहाडे बजार हुँदाको टाइमको टीनछाने धुलाबारी बजार, नरेन्द्र खनाल दाइका पिता रविरत्न खनालको घर भएको टोल र शेखरनाथ परेरु दाइको गाउँ टोलसम्म । उता फेरि दक्षिणतर्फ सतिघट्टा चिया कमानका धुराधुरे गाउँबाट पश्चिम राजमार्ग किनारै किनार धाइजनमोडको बराबर दक्षिणसम्म । ती बूढाखाडाले मसित भने बमोजिम गौंथलीको बाऊले ‘पँडित गरिखाने’ एरिया बस् यत्ति नै रहेछ भन्ने जानकारी छ ।

आज बिहानै मकहाँ आएका गौंथलीको बाऊले माथि ‘हरेराम हरेकृष्ण—रामराम हरेहरे’ छापिएको थोत्रो पहेंलो कुर्ता जीउभन्दा डेढा ठूलो र तल (कम्मरमुनि) बिहारी ब्राण्ड रातो गाम्छा (फुङ उडिसकेको) बाँधेका थिए भने कुर्ताको बाहिर झुण्डाएको इसाई धर्मावलम्बी चिनाउने ‘क्रश’ गर्धनबाट लट्काएका थिए । अस्ति मङसिरमा युनिभर्सल चर्चकी मालिक्नी हान मुन नाम गरेकी कोरियन आमैले काठमाडौं आएर नजिक पुगेर शिर थापेका प्रधानमंत्री, उपप्रधान मंत्री, मंत्री, सांसद, देशका पाओरफुल–पाओरफुल व्यक्तित्वहरुलाई क्रिश्चियन रक्सीले अभिषेक गरेका बेला गौंथलीको बाऊले पनि उत्ताउलिएर ‘मैले धर्म परिवर्तन गरें’ भन्दै त्यही ‘क्रश’ झुण्डाएर बुर्कुसी मारेको मैले देखेको थिएँ । बीचमा थिएन । फेरि आज देखें ।…

माथि भनिएको एरियामा उसबेला उस्तो ‘पँडित गर्न’ बिजी भएर सोहोरसाहर गर्न खप्पिस गौंथलीको बाऊका बाऊको साख्खै छोरो गौंथलीको बाऊ जस्तो पत्रकार गर्नेहरुको हुद्दामा ‘अग्रज’–को पगरी गुँथिहिंड्नेले यो के गर्या होलान् भन्ने मनमन सम्झिँदै म बोलें— “दाइको कुर्ता र गाम्छा निकै पुरानो भएछ नि ?”

उनले तुरुन्तको तु भने— “यो मेरा बाको चिनो हो अनि के नपुरानो होस् त । हाम्रो कुलधर्म, समस्कृति र समस्कार चइँ कुन नयाँ हो र ? धन्न मेरा बाले यइ राम र किस्न लेखिया कुर्था र यो गम्छाको कपडामा छोप्पिएर घरखेत जोड्या रछन् । अ–आ–क–ख मात्तै पढेर पँडित पासको कामकर्म गरेर हाम्रो बाले कम पोरपटी जोड्या होइनन् बिचारा ! यो धमर–करमको बिख्नेसमा सिन्सेरली हुँदा के नाफा नहुँदो रछ र ? जान्दा सिरिखण्ड–नजान्दा खुर्पाको बिँड न रछ नि धर्म भन्ने जिनिस ।”

मैले फेरि भनें— “त्यस्ता नपढी विद्वान पण्डित पिताका पुत्र दाइ, अनि फेरि यो क्रिश्चियनको क्रश चाहिँ किन लगाउनु भएको नि हिन्दू देउताको नाम छापिएको बस्त्र बारिह देखाएर ?”

उनले जवाफ फर्काए— “मेरो बाले जे गर्दा कुछ हातलागी हुन्छ तो गर्नु, फैदा भन्या फैदा हो, तो चइँ आफ्नु सम्बिर्दि हो भन्ने आग्याँ–सजेक्सन दिन्थे । अ‍ैले यो किस्तानी संग कति पोइसा छ नि । फेरि अ‍ैले हाम्रो बउमतको सर्खारले ‘धर्मनि’ र ‘पेच्छता’ दोडै मान्दैन त अनि ? यो ‘धर्मनि’ भन्ने कुराको र ‘पेच्छता’ भन्ने कुराको कत्रो मत्तो छ हाम्रो गुरुपमा भन्ने तपइँलाई के था ! चानस–चानसमा अलग–अलग डानस देखाउने खुबिलिटी पो चाइँछ त क्या भाइ । मभन्दा जान्ने काइ छैन भन्दै जाँ पनि खिच्याइँ गर्ने खुबिलिटी देखाउन नसके, आफ्ना अगाडिकालाई पछाडि घिसार्ने ट्याउटिस गर्ने जति केइ बाँकी–बेलेन्स नराखी आफू अर्गज हुन लाज नमान्ने नइतिक बुद्दि ख्याउन नसके र आफू लागेको पाटीलाई थाङ्नामा सुताउँदै आर्का पाटीका मान्छेसंग सहकार्रेको सेटिङ खेल्न नजाने एत्रो चइँ खान यो पत्रकार गर्नु त ? यो रामनामे–किस्ननामे कुर्था ला’र चइन्जो यो किस्थानको कुरुस झण्डा’र हिनेसि सहकार्रे गर्या पस्ट छारो भो कि भ’न त ? मेरा बा पोइसो लुँड्याउँदा–लुँड्याउँदै मरे भनेसि उनै पँडित गर्नेमा फ्यामोस बाऊको छोरो मैले उइ बाटो हिन्नु कुन क्याति हो त ? म त आफ्फै सेटिङ सहकार्रे गर्छु र टन्न भउन्जेल खान्छु । कमाउने र खाने म आप्mफै गर्छु क्या, आफ्फै गर्छु ।, लाच, घिन, अप्ठ्यारो–सप्ठ्यारोबड अलग्ग बसेर दाउ मार्न्या काम छ । मान्छेको चोलामा आएसि सक्कल–ससेस् एसरी त भइँछ त हओ, एसरी त भइँछ त !”…

उनी मलाई केही नभनी भूँडी छाम्दै शौचालयतिर दगुरे । मैले उनलाई र उनका पँडित बाऊलाई मनमनमा खेलाउँदै बेला–बखत उनैले भन्ने गरे झैं मनैमनमा भनें— “यिनका कुरा बुझे त थुक्क !”…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here