झापा।
सरकारी कर्मचारी एकपछि अर्काे गर्दै घमाघम घुससहित पक्राउ पर्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलग–अलग तीन स्थानबाट ३० लाख १८ हजार घुससहित पाँच इञ्जिनियर र एक चालक गरी ६ जनालाई पक्राउ गरेको छ । सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख र इञ्जिनियर साढे १४ लाख घुससहित पक्राउ परेका छन् । आयोगको टोलीले १४ लाख ६८ हजार रूपैयाँ घुससहित तीनजनालाई पक्राउ गरेको हो ।
जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन दोलखाका प्रमुख प्रकाश अधिकारी र जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इञ्जिनियर भोगेन्द्र साह उक्त घुससहित पक्राउ परेका हुन् । उनीहरुसँगै सवारी चालक सुमन खड्का पनि पक्राउ परेका छन् । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार असार मसान्त सकेर घुस रकमसहित काठमाडौँ आउँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
दोलखाबाट घुस रकम लिएर काठमाडौं आइरहेको सूचनाको आधारमा भक्तपुरको जगातीबाट उनीहरुलाई पक्राउ गरिएको कोइरालाले बताए । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले बताए ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु. १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ ।
बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिवार पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए । उनका अनुसार इञ्जिनीयरहरु कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनियर उमा श्रेष्ठलाई रु. ५० हजार घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि शनिवार सार्वजनिक गरेको हो ।




























