३० लाखको कालोपत्रे १२ घण्टा टिकेन

0
1763

बिर्तामोड।

बिर्तामोडस्थित नयाँ बसपार्कमा गरिएको कालोपत्रे असारे पानीले बगाएको छ । अर्जुनधारा –११ स्थित नयाँ बसपार्कमा असारको अन्तिम साता गरिएको कालोपत्रे असारे पानीले बगाएसँगै सडक हिलाम्मे छ ।

असारे पानीले कालोपत्रे गरिएको सडक भत्काएर हिलाम्मे भएपछि उपभोक्ता समितिले रकमसमेत रोकेको छ । समितिका अध्यक्ष धनराज योङ्हाङले भने –निर्माण व्यवसायी भीमचन्द्र भट्टराईजीले कालोपत्रे गराउनु भएको भोलिपल्टै भत्किएर सडकको यो हाल भयो ।

सडक डिभिजन कार्यालय दमकले रोडबोड शीर्षकमा प्रदान गरेको ३० लाख रुपैयाँले कालोपत्रेको सम्झौता गरिएको बताइएको छ । जसमा उपभोक्ता समितिले पाँच लाख रुपैयाँ रोकेको बताइएको छ ।

त्यस्तै गुणस्तरीय काम नभएपछि नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडाले समेत एक लाख रुपैयाँ रोकेको अध्यक्ष योङ्हाङले बताए । उनले भने –३० लाखको ठेक्का भएपनि २४ लाख रुपैयाँ भट्टराईजीले लगिसक्नु भयो तर सडकको हालत भने बेहाल छ ।

बसपार्कमा कालोपत्रे गर्दा पानी परेको स्थानीय बताउँछन् । पानी पर्दापर्दै कालोपत्रे गरिएकै कारण सडक भत्किएको स्थानीयको आरोप छ । रातको समयमा कालोपत्रे गरिएको र कालोपत्रे गरेकै रात सडकमा पानी जमेको बताइएको छ । समितिका सचिव हरि भण्डारीका अनुसार सडक कालोपत्रे तीन चरणमा गरिएको र पहिलो चरणमा गरिएको कालोपत्रे केही राम्रो भए पनि दोस्रो र तेस्रो चरणमा गरिएको कालोपत्र भत्किएर सडक मै आहाल बनेको छ ।

कालोपत्रे गरेको भोलिपल्टै सडक भत्किएपछि ठेकदारलाई रकम रोकेको र घामलागेपछि पुनः सडक कालोपत्रे गरेपछि मात्रै रकम प्रदान गर्ने सहमति भएको भण्डारीले बताए ।

समितिका अध्यक्ष योङ्हाङले आफूहरुले पटकपटक गुणस्तरीय काम गर्न आग्रह गरेपनि त्यो नभएरे पैसा रोकेको बताए । योङ्हाङ भन्छन् – हामी प्राविधिक कुरा जान्दैनौं, मेट्रियलको मात्रा नमिल्दा सडक भत्किएको हुनसक्छ । निर्माण ठेकेदारले सडक कालोपत्रेका लागि आवश्यक सामान दुर्गापुरबाट ल्याउने गरेको र त्यसको गुणस्तरीयता हेर्ने आफूसँग प्राविधिक ज्ञान नभएकोले बनाएको सडक बिग्रियो ।

स्थानीय माधव खतिवडाका अनुसार सडकको पूर्व र पश्चिम अनि अर्पित होटल अगाडि कालोपत्रे गरिएको सडकमा पानी जमेर ठूलाठूला खाल्डा बनेका छन् । कालोपत्रे गर्ने सबै सामग्रीको मिश्रणमा एकरुपता नहुँदा कालोपत्रे भत्किएर सडकमा खाल्डा परेको खतिवडा बताउँछन् ।

अलकत्रा नै कमसल भएका कारणले कालोपत्रे गरिएको सडक भत्किएको पूर्व जनप्रतिनिधि गोपी गिरी बताउँछन् ।
स्थानीयका अनुसार सिल्कन गिट्टी राम्रो नभएकाले बिटुमिनले काम नगर्दा सडक उक्किएको हो । असारको तेस्रो साता अलकत्रा लगाउने काम भएको र असार २७ देखि सडकमा पानी जमेकाले बाटो भत्किएको स्थानीय भोला उप्रेती बताउँछन् । उनी भन्छन् –सडकमा अलकत्रा नै राति लगाइयो । त्यही रात पानी परेकाले अलकत्रा उक्किएर सकडमा खाल्डा परेका हुन् ।

यता निर्माण कम्पनीका ठेकेदार भट्टराईलाई यस विषयमा जानकारी लिन खोज्दा उनको मोबाइल स्वीचअफ थियो । उनका व्यवसायी साझेदार शिवलाल खतिवडाले कालोपत्रे निर्माण सकिएको रातबाटै पानी परेकोले अलकत्राले गिट्टी समात्न नसक्दा सडक भत्किएको बताएका छन् । साथै सडकमा खोलो पसेका कारण भत्किएको समेत उनले बताए । भत्किएको सडक पुनः निर्माण गरिदिने उनले प्रतिबद्धता समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here