भ्रष्टाचार, प्रवृत्ति र मानसिकता

0
515

अनियमितता ‘दूध भात’ सरह मीठो भएको छ पदासीनहरुका लागि । पदको दुरुपयोग गरी क्षेत्राधिकार मिचेर वा ऐन–कानूनद्वारा रोक लगाइएका काम घुमाउरो बाटोबाट गर्नु नियमितता जस्तै भएको छ अहिले । अझ एउटा राजनीतिक व्यवस्थाबाट अर्को व्यवस्थामा प्रवेश गर्दाको समयमा हुने अन्यौल अस्थिरता र अनिश्चयका बीच यस्ता पदको दुरुपयोगका कामहरु बढी हुन्छन् भन्ने पछिल्लो तथ्यांकले देखाएको छ । गलत तरिकाले, लोभ–लालच देखाएर डर, धाक वा त्रास सृजना गरेर अथवा प्रभावमा पारेर गरिने सबैखाले काम भ्रष्टाचार हुन् । जसलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहले त्यसबेलै ‘घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन्’ भनेका थिए ।

हामीकहाँ अख्तियार प्राप्त व्यक्तिले त्यसको दुरुपयोग गरी आर्थिक वा कुनै प्रकारको लाभ नलिउन भन्ने उद्देश्यले संवैधानिक अङ्ग नै निर्माण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्यही उद्देश्यका लागि पञ्चायतकालमै स्थापित निकाय हो । तर, त्यही संस्था नै विवादमा पनि पर्ने गरेको छ । पदाधिकारी नियुक्त गर्दा सत्ताको नजिक, आफ्नो वा आफू अनुकूल गर्ने प्रवृत्तिले आयोग आफैं विवादमा परेको विश्लेषण गरिन्छ । जे भए पनि अनियमितता नहोस् अधिकारको दुरुपयोग नगरियोस् र देशमा सुशासन कायम होस् भन्ने उद्देश्यले स्थापना गरिएको आयोग अहिले प्रदेश–प्रदेशमा क्रियाशील छ ।

आयोगले शुक्रबार पत्रकार सम्मेलन मार्फत भ्रष्टाचार सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार गृह मन्त्रालय अन्तर्गतका कर्मचारी सबैभन्दा बढी घुस्याहा देखिएका छन् । आयोगले सेवाग्राही बढी हुने र जनतासँग नजिक रहेका अड्डाहरुमा सादा पोशाकमा कर्मचारी खटाएर सूक्ष्म अध्ययन र अनुसन्धान गर्ने क्रममा एक सय एकसठ्ठी जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा नायव सुब्बा तहका कर्मचारी धेरै रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तथ्यांक सार्वजनिक गर्दै घुस लिनेहरुमा विशिष्ट क्षेणीकादेखि विचौसिलयासम्मका रहेको जनाएका छन् । दिनहुँ घुस लिँदा–लिँदै कर्मचारी पक्राउ परेको समाचार प्रकाशन र प्रशारण भइरहेको छ तर पक्राउको दर बढ्दैछ । यसले उनीहरु राजनीतिक शक्तिको संरक्षणमा रहेका त छैनन् भन्ने शंका पनि उब्जाएको छ । पक्राउ पर्ने दुई–चार दिनमा साम्य हुने र दण्डित नगर्ने परिपाटीका कारण भ्रष्टाचार न्यूनीकरण नभएको टिप्पणी हुने गरेको छ । ‘धन देख्दा महादेवका तीन नेत्र’ उखानले पनि पैसा प्रतिको आशक्ति कति हुन्छ भन्ने देखाएको छ । नेपाली मानसिकता नै जसरी पनि ‘धन कमाऊ, मोज गर’ भन्ने तर्फ उन्मुख भएको सन्दर्भमा बढिरहेका भ्रष्टाचारका घटनाहरुलाई न्यूनीकरण गर्न शिरबाटै सम्पत्तिको खोजी गर्नुपर्ने अवस्था आएको छ । राज्यको स्वामित्वका चल–अचल सम्पत्ति अतिक्रमण, दुरुपयोग र अपचलन भइरहेका बेला अख्तियारले अनुसन्धान त्यसतर्फ केन्द्रीय गरोस् । यसले मात्र सुशासनको अनुभूति गराउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here