अनाथ आश्रमकी भावनालाई मिस टिन उपाधि

0
1030

बिर्तामोड।

वीरता जेसीज र बिर्ता मिडिया इन्टरटेन्मेन्ट प्रालिको संयुक्त आयोजना भएको मिस टिन प्रोभिन्स वानको उपाधि भावना चौहानले हात पारेकी छिन् ।

विर्तामोड –४ मा रहेको अनाथ आश्रममा सहारा लिएर बसेकी चौहानले शनिवार भएको प्रतियोगितामा सहभागी बन्दै उपाधि हात पारेकी हुन् ।

तारा नमस्ते बाल ग्राममा आश्रय लिएर बिर्तामोडकै महेन्द्र–रत्न माविमा कक्षा १२ मा अध्ययनरत् उनले उपाधि जितेसँंगै बिर्तामोडमै रहेको होटल म्यानेजमेन्ट कलेजमा स्नातक तह पढ्नका लागि शतप्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन् ।

परिचय राउन्ड, प्रश्नोत्तर राउन्डबाट नै उत्कृष्ट बन्दै आएकी चौहानले अन्तिममा सोधिएको प्रश्नमा गहकिलो जवाफ दिएकी थिइन् । देश विकासमा महिलाको भूमिका के हुनुपर्छ ? भन्ने निर्णायकको प्रश्नमा उनले ‘देश विकासमा महिलाको भूमिका खोज्ने हो भने पहिला महिलालाई शिक्षित बनाउनुपर्छ’ भन्ने जवाफ दिएकी थिइन् ।

प्रतियोगिता विजेता चौहानले आफ्ना बुवा को हुन् भन्नेसम्म थाहा नभएको र आमाले सानैमा छोडेर गएको बताइन् । प्रतियोगितामा दोस्रो र तेस्रो क्रमशः स्मृति सुनुवार र अनुष्का कटेवाल भएका थिए ।

वीरता जेसीज बिर्तामोडका सन २०१९ का अध्यक्ष विशाल थापाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आस्थावाचन जीवनकुमार खड्काले गरेका थिए । जेसीज मिसन भिजन वाचन राजीव धिमालले गरेका थिए ।

विकाश वस्नेतको संयोजकत्वमा भएको कार्यक्रममा निणार्यकको भूमिका उमाकान्त खनाल, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर इनु थापा, मिसनेपाल इन्टरनेशनल रोनाली अमात्य, जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष जेसीआई सिनेटर विनोद बस्नेत र माइलाइफ पब्लिकेशनका नवीन सिद्धार्थ उप्रेतीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन जेसीजका महासचिव कुशल खतिवडा र एलसी श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here