तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

0
475

धनगढी। 

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ ।

सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भन्नुभयो, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।”

अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताउनुभयो । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ ।

“साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भन्नुभयो, “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here