झापा।
झापाका १५ वटा स्थानीय तहमध्ये एक गाउँपालिका र एक नगरपालिकाले अझैपनि आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट सार्वजनिक गर्न सकेका छैनन् ।
बाह्रदशी गाउँपालिकाले र गौरादह नगरपालिकाले अझै पनि आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट सार्वजनिक गर्न सकेका छैनन् । संघीय सरकारले परिपत्र नै जारी गरी असार १० गते भित्रै सबै स्थानीय तहलाई बजेट सार्वजनिक गर्न निर्देशन दिए पनि एक महिना बितिसक्दा समेत यो आर्थिक वर्षका लागि दुई स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको हो ।
बजेटका विषयमा आन्तरिक कलहका कारण बाह्रदशी गाउँपालिकाले बजेट सार्वजनिक गर्न नसकेको एक जनप्रतिनिधिले बताए । उनले भने – ‘हामीले छिटो बजेट सार्वजनिक गर्न माग गरिरहेका छौं तर, रकम बाँडफाँडमा कुरा नमिल्दा अझै पनि बजेट सार्वजनिक हुन सकेको छैन ।’ कतिपय जनप्रतिनिधिले नै सामाजिक सञ्जाल फेसबुकमार्फत बजेट सार्वजनिक गर्न गाउँपालिकाले ढिलाई गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उता गौरादह नगरपालिकाले भने आफ्नो वेवसाइट मार्फत संक्षिप्त बजेट सार्वजनिक गरेको जनाएको छ । तर, सार्वजनिक कार्यक्रमको आयोजना गर्दै बजेट सार्वजनिक गर्न सकेको छैन ।
बाह्रदशी गाउँपालिकाले गत वर्ष छनौट गरेका योजना कार्यान्वयन गर्न नसकेपछि आलोचना भएको थियो । महत्वकांक्षी योजना बनाएर कार्यान्वयन गर्न नसकेपछि आलोचित बनेको गाउँपालिकाले नीति कार्यक्रम यस अघि नै सार्वजनिक गरेपनि बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गर्न सकेको छैन । गत वर्ष बाह्रदशी ५ मा शीत भण्डार, २ र ५ मै दूध चिस्यान केन्द्र निर्माण गर्ने महत्वकांक्षी योजना बनाए पनि कार्यन्वयन भएका थिएनन् । कृषि क्षेत्रमा विनियोजित बजेट समेत फजुल खर्च गरेर सकेपछि किसानले नै आलोचना गरेका थिए ।
गाउँपालिकाको कामप्रति पटकपटक आलोचना भइरहेका बेला यस आर्थिक वर्षका लागि समेत बजेट सार्वजनिक गर्न नसकेपछि गाउँपालिका थप आलोचित बनेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रधिकार भित्रको विषयमा स्थानीयस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीति र विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन योजना बनाई लागू गर्नु पर्ने व्यवस्था गरेको छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने मध्यकालीन खर्च संरचना तयार गर्ने, आवश्यकताको प्रक्षेपण तयार गर्ने र वित्तीय अनुशासन गर्नु पर्ने व्यवस्था गरेको छ ।तर,गाउँपालिकाले ऐनको समेत प्रवाह नगरी अहिलेसम्म बजेट सार्वजनिक गर्न नसक्नु आफंैमा लाजमर्दाे विषय भएको सरोकारवालाले बताएका छन् ।
बजेट सार्वजनिक नहुनुको पछाडि के कारण छ भन्ने विषयमा नेपाली कांग्रेस वाह्रदशीका सभापति ओमप्रकाश गौतम भन्छन–‘ गाउँपालिकाले हामीलाई पनि कारण भन्दैन अनि बजेट पनि सार्वजनिक गर्दैन । म त्यो विषयमा अनविज्ञ छु ।’ उनी भन्छन् – अँ त साँची खोई बाह्रदशीको बजेट ?
यता नेकपाका बाह्रदशी गाउँपालिका अध्यक्ष तोयानाथ पोखरेलले बजेट सार्वजनिक नहुनुको विषयमा आँफूलाई थाहा नभएको बताएका छन् । असार १० गतेबाट शुरु गरेको गाउँसभा असार मसान्तसम्म नै चलेको चाँहि सुनेको छु तर के कारणले बजेट सार्वजनिक भएन त्यस विषयमा आँफू जानकार नरहेको उनको भनाइ छ ।
यता नेकपा झापाका जिल्ला कमिटी सचिवालय सदस्थ तथा क्षेत्र नम्वर –३ का सचिव लक्ष्मण पाठकले गाउँपालिका अध्यक्षको मनोमानी र वडाध्यक्ष तथा परिषद् सदस्यलाई मिलाएर लान नसकेका कारण बाह्रदशीले बजेट सार्वजनिक गर्न नसकेको बताएका छन् । स्थानीय बजेट मिलाएर लान नसक्नु नै अध्यक्षलाई ठूलो दुर्भाग्य हो पाठकले भने – अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधिले स्पष्ट भिजन बनाउन नसकेपछि बाह्रदशीले न त समयमा बजेट बनाउन ल्याउन सक्यो न त बाह्रदशीलाई अन्य स्थानीय तहको गतिमा लान सक्यो । यो सव भिजन नभएकै कारण समयमा बजेट ल्याउनबाट गाउँपालिका चुकेको हो ।’
उता गौरादह नगरपालिकाले नीति कार्यक्रम तथा बार्षिक बजेट अझै सार्वजनिक गरेको छैन । कार्य सम्पादनमा पटक–पटक विवादमा आउने गरेको यो नगरपालिकाले पनि फेरि पनि सूचना मैत्री बन्न सकेको छैन । गौरादह नगरपालिकाको चौथो नगरसभा नीति कार्यक्रम र बजेटको बारेमा राजनीतिक दल, नागरिक समाज, पत्रकार जगत तथा गौरादहबासी नागरिक हालसम्म पनि बेखबर छन् ।
नगरवासीलाई सुसूचित गर्न अतिथिहरु बोलाएर सार्वजनिक रुपमा गरिने नगरसभाको उद्घाटनसत्र समेत यो पटक नगरसभा सदस्य बीचबाट मात्र गरियो । नागरिककके मौलिक हक अन्तर्गत सूचनाको हकबाट गौरादहका नागरिक स्वयम् स्थानीय सरकारबाट बञ्चित हुनुपरेको सरोकारवालाले बताएका छन् ।
सामाजिक सञ्जालमा जनप्रतिनिधिले नगरसभा शुरु भयो र सम्पन्न भयो भनेर फोटो सार्बजनिक गरेकोलाई आधार मान्ने हो भनेपनि असार १० गतेबाट शुरु भएको नगरसभा असार ३१ सम्म चलेको थियो । नगरसभाले पास गरेको नीति कार्यक्रम र बजेटको प्रतिलिपि नगरप्रमुख रोहितकुमार साहसंँग जानकारी लिँदा आफूहरुले वेवसाइड मार्फत वजेट सार्वजनिक गरेको बताएका छन् ।
उता नगरसभाले पास गरेको वडास्तरीय बजेट भनेर केही वडाध्यक्षहरुले फेसबुकमा धमाधम बजेट सार्बजनिक गरेका छन् । तर नगरपालिकाले आधिकारिक रुपमा हालसम्म पनि बजेट सार्बजनिक गरेको छैन् ।
नगरपालिका स्रोतका अनुसार असार ३१ गतेसम्म पनि नगरपालिकामा बजेटकै बाँडफाँड चलिरहेको थियो । बजेट पारित गर्न असार १० गते नगरसभा शुरु भए पनि उक्त नगरसभाको अन्त्य कहिले र कस्तो बजेट पारित गरेर सम्पन्न भयो त्यो अहिलेसम्म नगरबासीलाई कुनै जानकारी नहुनुले नगरपालिका अपारदर्शी भएको नगरका एक राजनीतिक अगुवाले बताएका छन् ।


























