अमरपथ सडकमा स्थानीयको असन्तुष्टि

0
1018

बिर्तामोड।

अमरपथ –सुरुङ्गा– झापा सडक खण्ड निर्माणका क्रममा स्थानीयले असन्तुष्टि जनाएसँंगै निर्माण व्यवसायीले सडक निर्माणलाई तीव्रता दिएका छन् ।

स्थानीयले सडकमा मापदण्ड अनुसार निर्माण साम्रगी प्रयोग नगरेको भन्दै असन्तुष्टि जनाएपछि निर्माण कम्पनी समता कन्ट्रक्सनका निर्माण व्यवसायी ध्रुव उप्रेती आफैं पुगेर निर्माण सामग्री थप गर्दै सडकलाई गुणस्तरीय बनाउन लागीपरेका हुन् । उनले आफूले पनि दैनिक रुपमा सो बाटो प्रयोग गर्ने गरेकाले आफ्नै गाउँ जाने बाटोलाई गुणस्तरीय वनाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

स्थानीयको विरोधपछि पूर्वाञ्चलकर्मीे सो सडकको अनुगमनका लागि पुगेका थिए । सो क्रममा निर्माण व्यवसायी उप्रेतीलाई सोही ठाउँमा बोलाएर सडकको अवस्थाको बारेमा आएको जनगुनासो सुनाउँदै सडक निर्माणका विषयमा जिज्ञासा राखेपछि उनले सो सडक गुणस्तरीय बनाउन कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

आर्थिक वर्ष २०७५÷०७६ को अन्त्यमा सो सडक निर्माणका लागि सडक डिभिजन कार्यालय दमकले एक करोड १३ लाख रुपैयाँमा साढे चार किलोमिटर सडक खण्ड ग्राभेलका लागि समता कन्ट्रक्सनसंँग सम्झौता गरेको थियो ।

१२ दिनमा काम सक्ने गरी सडक डिभिजन कार्यालयले सडकको ठेक्का लगाएको थियो । असार १८ गते लगाएको ठेक्का असार मसान्तमा सकिनु पर्ने थियो । तर, असारको अन्तिम साता पानी परेकाले निर्माण व्यवसायीले काम गर्न नसकेको बताइएको छ ।

यता कनकाई नगरपालिका – ५ का वडाध्यक्ष कृष्णवहादुर राईले निर्माण व्यवसायीलाई बाटो गुणस्तरीय बनाउन आग्रह गरेका छन् । हामीले सडक डिभिजन कार्यालय दमकसंँग गरेको सम्झौता अनुसारको मात्रै बाटो बनाऊ भनेका छौं, यहाँ मापदण्ड अनुसारको काम नभएको गुनासो आएको छ – अध्यक्ष राईले भने – सम्झौता अनुसार काम गर्न म धु्रवजीलाई आग्रह गर्छु ।

यता कनकाई नगरपालिका – ५ तुलसीवारीका रमेशचन्द्र दाहालले सडकको बीचमा १० सेन्टिमिटर ग्राभेल गर्ने सम्झौता भएको तर त्यस अनुसार काम नभएको बताएका छन् । उनले सडकको छेउ–छेउमा ३० सेन्टिमिटर मेट्रियल्स हाल्ने सम्झौता गरिएको बताए ।

उनीसँंगै सोही ठाउँका भूपालमान कार्की, उमानाथ तिम्सिना, शैलेन्द्र विमली लगायतले समेत सडक गुणस्तरीय बन्नु पर्ने माग गरेका थिए । यता निर्माण व्यवसायी उप्रेतीले सडकसंँग चार किलोमिटर लम्वाइ र ८ मिटर मात्रै चौडा बनाउने सम्झौता गरेपनि नगरपालिकाले २० मिटर चौडा सडक बनाउन अनुरोध गरेपछि सोही बमोजिम काम गर्दा सडक निर्माणमा ढिलाइ भएको बताए । सडक निर्माणका क्रममा गुणस्तरीय काम भएको भन्दै उनले भने – म आफैं हिड्ने बाटो कसरी बिगार्छु ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here