शिवसताक्षीमा सुरक्षा चुनौती

0
915

झिलझिले।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरलाई स्थानीयले कसैको दवाब र प्रभावमा नपरी जनताको जिउ धनको सुरक्षामा काम गर्न सुझाव दिएका छन् ।

मापसे र लापसेबाट हुने अपराध, सवारी दुर्घटना, बलात्कार, हाइवेमा छाडा छाडिएका चौपाया, बन जंगलमा हुने चोरी तस्करी, कुटपिट, लुटपिट यहाँका मुख्य समस्या रहेको बताउँदै नगरका जनप्रतिनिधिले इलाका प्रहरी कार्यालय झिलझिलेमा प्रमुख भएर आएका कार्यालय प्रमुखलाई चुनौति बढी र अवसर कम भएको बताए ।

उनीहरुले भने– ‘निर्भीकताका साथ कुशल प्रहरीले गर्ने काम गर्नुहोस् अवसर छ, प्रहरी संगठनले दिएको निर्देशन बिपरीत काम गर्नुभयो भने चुनौति बढी छ ।’

वडा नम्बर –६ का अध्यक्ष मनोज खुलाल कार्की, ९ का छविलाल पाठक, १० का कर्णवहादुर थापाले नगरका मुख्य समस्या राख्दै इलाका प्रहरी कार्यालय झिलझिलेमा दरवन्दी अनुसारको प्रहरी जनशक्ति थप गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

यहाँका सतासीधाम, दोमुखा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पछिल्ला दिनमा दिन दहाडै लुटपाट हुने, तीर्थ यात्रीमाथि कुटपिट हुने घटनाले आफूहरुलाई स्तव्ध बनाएको सतासीधाम बिकास समितिका अध्यक्ष प्रसाद सुव्बाले बताए । उनले भने– १५ बर्षपछि पहिलो घटना सताक्षीधाम जाने तीर्थयात्री लुटिएका छन, कुटिएका छन् त्यसतर्फ प्रशासनको ध्यान जाओस् ।

कार्यक्रममा बोल्दै नेकपाका नगर सचिव धनवहादुर थेवेले शिवसताक्षी नगरका केही स्थानमा लागूऔषध प्रयोग कर्ताको ट्रान्जीट पोइन्ट बन्ने गरेको खुलाए । लागूऔषधका प्रयोगकर्ताको संख्या दिनानुदिन बढेको भन्दै उनले प्रहरी प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । संगतले सिकाउने लागूऔषधको कारोवारी पनि नगरभित्र रहेकाले त्यस्ताको पहिचान गर्न प्रहरी निरीक्षक ठाकुरलाई उनले आग्रह गरे । ९ नम्वर वडाका अध्यक्ष पाठकले नगरका सतासीधाम, बैंशावारी, शिवगञ्ज र व्याङ्गडाँडा लागूऔषध प्रयोग गर्ने र बेचविखन गर्नेको अखडा भएको जानकारी दिए ।

गैंडे सामुदायिक बनका अध्यक्ष अमृतवहादुर कार्कीले दोमुखा, माईधाम लगायतका पर्यटकीय तथा धार्मिक स्थानको सुरक्षाका लागि जनशक्ति थप गर्न माग गरे । उनले, जंगलबाट हुने चोरी तस्करीका घटना पनि शिवसताक्षी नगरमा कमी नभएको भन्दै त्यसतर्फ स्थानीय सामुदायिक वनसंँग सहकार्य गर्न आग्रह गरेका छन् ।

शिवसताक्षी नगरपालिका करिव ११ किलोमिटर हाइवे भएको क्षेत्र हो । मापसे र लापसे गरी सवारी चलाउने चालकका कारण अधिक सवारी दुर्घटना भई ज्यानै जाने घटना हुने गरेको स्थानीयले बताए । सडकमा हेरालु बिनाका चौपायाका कारणले पनि सवारी दुर्घटना हुने गरेको छ । स्थानीय सरकोकार राख्ने संघ सस्था र समुदायसँंगको सहकार्यमा छाडा चौपाया नियन्त्रण गर्न स्थानीयले प्रहरीलाई सुझाव पनि दिए ।

प्रहरी निरीक्षक ठाकुरले आफूलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका नेता कार्यकर्तासँग अपिल गरे । उनले भने– ‘कुनै पनि घटनामा म संँग दवाब र प्रभावको कुरा हँुदैन, स्वतन्त्रपूर्वक काम गर्न दिनुहोस् केही समयमै शान्ति सुरक्षाको प्रत्याभूति पाउनु हुने छ । उनले भने– ‘ कुनैपनि घटनाको गहिरो अनुसन्धान प्रहरीले गर्छ, त्यसमा तपाईंहरुको रचनात्मक सहयोग चाहियो ।’

प्रहरी निरीक्षक ठाकुर इलाका प्रहरी कार्यालयवाट झिलझिले सरुवा भई आएका हुन् भने यस अघिका प्रहरी निरीक्षक ढुण्डीराज गिरी १ नम्बर प्रदेश इकाई कार्यालय विराटनगर सरुवा भएका छन्

आइतवार कार्यालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा शिवसताक्षी नगरपालिका लगायत आसपासका क्षेत्रमा काम गर्ने जो कोही प्रहरी प्रमुखलाई चुनौति बढी र अवसर कम भएको पनि स्थानीयले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here