झापा,
सभामुख कृष्णबहादुर महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गर्नुभयो ।
उहाँले सांसदहरुले उठाउनुभएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद् चल्न दिन र आ–आफ्नो आसनमा बस्न पटकपटक आग्रह गर्नुभयो ।
सभामुख महराले प्रतिनिधिसभाको बैठक नचल्दा देश र जनताको विविध विषय छलफलमा जान नपाएको भन्दै विरोध गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो । सभामुखको आग्रहलाई अस्वीकार गर्दै काङ्ग्रेस र राजपाका सांसदले लगातार नाराबाजी गर्दै संसदीय सर्वोच्चता कायम गर्न माग गरेका थिए ।
लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभयो । बैठक १ बजे शुरु भएको थियो । विपक्षी दलका सांसदले करिब ४० मिनेट नाराबाजी गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन १५ गते दिउँसो ११ बजे बस्ने गरी स्थगित भएको छ ।