अध्यक्ष कमरेड चिन्तनलाई चिठ्ठी

0
607

अध्यक्ष कमरेड चिन्तन
नेपाल कम्युनिष्ट पार्टी, झापा
लालसलाम !
नेपालको समाजवादी क्रान्तिको महान यात्रामा नेपाल कम्युनिष्ट पार्टी झापाको मोर्चा हाँक्ने अध्यक्ष तथा कमाण्डरको जिम्मेवारी प्राप्त गर्नुभएकोमा कमरेडलाई सफलताको शुभकामना छ । कार्यसम्पादनको मूल्यांकनका आधारमा कार्यकाल सकुशल पूरा गरेका दिन कमरेडलाई कोटी–कोटी बधाई पनि ज्ञापन गरौंला । कमरेडसँग कुनै व्यक्तिगत नभएर राजनीतिक धरातलबाट झापाको केही सन्दर्भहरु यो पत्र मार्फत उठान गर्दछु ।

‘नेतृत्व कार्य हो पद होइन’ डोनाल्ड एथको यो उद्दरणका आधारबाट पनि अनुमान गर्न सकिन्छ कमरेड चिन्तन पाठकले पक्कै पनि झापाको उर्बरिलो राजनीतिक चेतनाको मैदानमा आफूलाई कार्य सम्पादनका आधारमा अब्बल प्रस्तुत गर्नुहुनेछ । कमरेडको वर्तमान नेतृत्व पक्कै पनि झापाको आजको आवश्यकताले जन्माएको हो भन्नेमा नेता कार्यकर्ता आस्वस्त छन् । कमरेडको नेतृत्व पदको रुपमा नभएर कार्यको रुपमा प्रत्यक्ष अनुभूत गर्न पाइयोस् । पार्टी एकताको ऐतिहासिकतालाई सार्थक बनाउन प्राप्त गरेको गौरवपूर्ण अध्यक्षको यो अवसरको लागि फेरि पनि शुभकामना छ ।

बिडम्बना आज नेपालको कम्युनिष्ट राजनीति भने आदर्श गुमाउँदै नेतृत्वलाई कामको रुपमाभन्दा पनि जबरजस्त पद ओगट्नुको रुपमा स्थापित गर्दै गएको छ । साम, दाम, दण्ड भेद जसरी भए पनि पद ओगट्न सक्नु नै राजनीतिक सफलता हो, काम भनेको गरे पनि ठिकै छ नगरे पनि ठिकै छ । तर, गुटको पुच्छर भने बफदारीताका साथ समाइरहनुपर्छ भन्ने मनोविज्ञानबाट राजनीति बदनाम बन्दै गएको छ । यो विसंगतिबाट झापाको राजनीतिलाई कसरी बचाउने भन्ने चुनौति पनि कमरेडका सामु उत्तिकै पेचिलो छ ।

कमरेडलाई एउटा जिज्ञासा, कमरेड प्रशंसाको कत्तिको भोको हुनुहुन्छ ? टोम पेटर्सले भनेका छन्– ‘नेतृत्वले शुभेच्छुक निर्माण गर्दैन, उसले धेरै नेतृत्व बनाउँछ ।’ कमरेड तपाईंको कार्यकाल सम्पन्न हुँदै गर्दा नेकपा झापाको नेतृत्व गर्नसक्ने धेरै नेताहरु विकास हुन सकुन् । प्रशंसाको भोकले तपाईंले भजन मण्डली खडागर्दै जानुभयो भने कमरेड त्यहाँ अगाडि हिँडेर नेतृत्व गर्नेहरु होइन, गुटको पुच्छर समाएर पछाडि हिँड्नेहरुको जत्था मात्र उत्पादन हुनेछ । त्यसकारण कमरेड तपाईंको कार्यकालमा शुभेच्छुक पुजारी होइन युवा पुस्ताका आदर्श नेताहरु झापामा विकास हुन पाउन् ।

कमरेड वर्तमानको बारेमा मेरो बुझाइ यस्तो छ है, गलत भए सल्लाह सुझाब पाउँ । नेपाल अहिले सामन्तवाद पछिको पूँजीवादी व्यवस्थामा छ । नेपाली जनताले पूँजीवादी व्यवस्था स्थापनाको लागि रगत बगाएको हँुदै होइन । समाजवादी राज्य व्यवस्था स्थापनाका लागि आजसम्मका हाम्रा सबै संघर्षहरु केन्द्रित हुन् ।

पूँजीवादी ब्यवस्थामा जनताको पहुँच कमजोर हुँदै जान्छ र स्वनिर्णयको अधिकार खोसिँदै जान्छ । स्रोत–साधन माथि नाफाको आधारमा सिमित व्यक्ति र माफिया समूहले कब्जा जमाउँदै जान्छन् । यो पूँजीवादको बिशेषता हो । पूँजीवाद शुद्ध पैसामा, नाफामा, कमिसनमा आधारित व्यवस्था हो । यो व्यवस्थामा धनी र गरीबबीचको खाडल झन् बढ्ने र सामुहिक हित, उन्नति र लोककल्याण क्रमशः कमजोर हुने निश्चितै छ ।

तसर्थ, समाजवादीहरुले पूँजीवादलाई ठीक ढंगले उपयोग मात्र गर्नुका साथै समाजवाद यात्राका आधार तयार गर्नतर्फ लाग्नुको विकल्प छैन । हामी नेपालीहरुको अबको अर्जुन दृष्टि समाजवाद नै हो । महान उपलब्धिका रुपमा संविधानमा नै परिभाषित गरिएको त्यसैकारणले हो समाजवाद उन्मुख राष्ट्र नेपाल भनेर ।

विडम्बना ! समाज परिवर्तनको महान यात्राका चालकहरू अहिले देश, जनता, आदर्श र सिद्धान्त भुलेर सरकार चालकमा मात्र सिमित बनेर पूँजीवादी व्यवस्थामा विलय हुने हुन् कि सर्वत्र चासो र चिन्ताको बिषय बनेको छ ।

झापा समाजवादी क्रान्तिको आधार इलाका बन्नुपर्छ । चिन्तन कमरेड परको कुरा नगरौं, तपाईं हाम्रो जिल्ला झापाका स्थानीय सरकारहरुको कार्यशैली हेरौं त हाम्रो समाजवाद तर्फको यात्राको निर्मम कुठाराघात भेटिन्छ । झापाका धेरैजसो स्थानीय तहमा नेकपाको तर्फबाटा नेतृत्व पाएका तथा कार्यपालिकामा दुई तिहाई बहुमत भएका हाम्रा जनप्रतिनिधिहरु आफैंले तयार गरेको नीति कार्यक्रम र बजेट समाजवाद उन्मुख छ भन्न सक्छन् ? नेतृत्वमा रहेर कमरेड तपाईंले निर्देशन पक्कै गर्नुभएको होला जनप्रतिनिधिहरुलाई समाजवाद उन्मुख नीति तथा कार्यक्रमहरु स्थानीय सरकारले पनि ल्याउनु पर्छ भनेर । तर, किन तपाईंलाई टेरेनन् कि नपत्याएका हुन् ?

स्थानीय सरकारहरुले आ–आफ्नो सापेक्षतामा समाजवाद उन्मुख मौलिक नीति कार्यक्रमहरु संविधानको दायरामा रहेर ल्याउन पाउछन् यो संघीय शासन व्यवस्था हो । हिजोको जस्तो काठमाडौंको मुख ताक्नुपर्ने केन्द्रिकृत व्यवस्था त छैन आज । रक्तिम इतिहासको ओजपूर्ण जगमा सगौरव उभिएर मुलुककै नेतृत्व गरिरहेको झापाको कम्युनिष्ट राजनीतिले अबको समाजवादी क्रान्तिको अगुवाई गर्नुको विकल्प पनि छैन कमरेड । जसका लागि उदहारणीय रुपमा अघि बढ्न केही मैलिक योजनाहरु झापाबाट शुरु गर्ने हिम्मत गर्नुपर्दछ ।

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता स्वचालित औजार तथा स्वचालित मस्तिष्क हुन् । कसैले स्विच थिच्दा चल्ने नथिच्ता नचल्ने परजिवि नेता कार्यकर्ता र संगठन कम्युनिष्ट पार्टी भित्र कल्पना पनि गर्न सकिन्न । पार्टी, भातृ संगठन, जनबर्गीय संगठन, उत्तराधिकारी संगठन लगायत सबैका सेल कमिटीदेखि लिएर सबै कमिटीले पार्टीको पथप्रदर्शक सिद्धान्तको मर्म भावनाभित्र रहेर सिर्जनशील योजनाहरु उत्पादन गरी रचनात्मक कार्यक्रम लिएर जनताको बीचमा जान पाउने अधिकार क्षेत्र सुरक्षित हुन्छ सजिव पार्टीमा ।

कमरेड, झापा पार्टीले यो आर्थिक बर्षको पहिलो तीन महिनामा गर्ने मौलिक कार्यक्रम तथा योजनाहरु बनाए हुनेथियो । पार्टी केन्द्रको निर्देशन तथा योजना अनुसरका गर्नैपर्ने नियमित काम, मिटिङ बैठक संगठन निर्माण आदि त क्रमशः व्यवस्थित रुपले अगाडि बढाउनै प¥यो ।

नियमित कार्यबाहेक झापा पार्टीका मौलिक योजना कार्यक्रमहरु पनि ल्याएदेखि सबै संगठनहरु र कार्यकर्ताहरु चलायमान हुने थिए । सरकारका प्रगतिशील योजना तथा कार्यक्रमहरु पार्टी संगठनहरु मार्फत जनतासामु सम्प्रेषण गर्न नसक्दा, जनतालाई बुझाउन नसक्दा प्रतिक्रियावादीहरु धमिलो पानीमा माछा मार्दैछन् । प्रतिक्रियावादीको नुन खाएकाहरु कम्युनिष्ट पार्टीको विरुद्धमा बिष बमन गरेर जनतालाई भ्रमित पार्दैछन् । कमरेड, झापाबाट व्यवस्थित अभियान तत्काल शुरु गरौं । कमरेड, समस्या मात्र देखायो भनेर नभन्नुहोला समाधानका उपायहरुको बारेमा समेत आवश्यक बहस छलफल गरौंला । आजलाई यतिमै पत्रको बिट मार्दछु । धन्यवाद ।
गौरादह, झापा

                                                        डण्डिराज घिमिरे ‘बिबेक’

(घिमिरे नेकपा झापाका जिल्ला कमिटी सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here