प्रधानमन्त्री ओलीको गृहजिल्लामा विजयले चलाए पानीजहाज

1
881

बिनोद सापकोटा / झापा।

सल्यानमा जन्मिएका एक किशोर बैज्ञानिकले झापामा पानीजहाज बनाएभन्दा कसैलाई पत्यार नलाग्न सक्छ । तर, सल्यानको सदरमुकाम खलङ्गास्थित मेल्घारीका १५ वर्षीय एक किशोरले झापाको कनकाई नगरपालिका –३ सुरुङ्गामा आफूले बनाएको पानीजहाज चलाएरै देखाए ।

बिजय राना नाम गरेका यी किशोर उमेरले भर्खर १५ वर्षका मात्र भए । यो उमेरमा उनले ३ वटा पानीजहाज बनाएर सबैलाई चकित पारेका छन् । पहिलोपटक उनले १० वर्षको उमेरमा सल्यानमा पानी जहाज बनाएका थिए । त्यसको ४ वर्षपछि साविकको भन्दा अलिक ठूलो अर्को जहाज बनाए । सुरुङ्गाबाट करिव १५०० मिटर दक्षिण सुमन थपलियाको घरमा बस्दै आएका विजयले अर्को पानीजहाज बनाएर सफल परीक्षण गरेका हुन् ।

शुक्रबार घर नजिकैको सानो पोखरीमा उनले पानीजहाज चलाएर देखाए । ठूला समुद्रमा देखिने जाहाज भन्दा खासै फरक नदेखिएको उक्त जहाज सो पोखरीमा यसअघि पनि विजयले चलाएर देखाएका थिए ।

उक्त जहाजमा क्यापासिटर, इञ्जिन चिसो बनाउने पपुलर फेन, पानीलाई धकेल्ने टर्वाइन,२२० भोल्टेजको व्याट्री लगायतका सामग्री जडान गरिएका छन । रिसिभर, पानीलाई अगाडि पछाडि धकेल्ने पुस एयर मोटर, सोलार कन्ट्रोल प्यानल लगायतका उपकरण जडान भएका छन् । शौर्य ऊर्जाबाट जहाजको व्याट्री चार्ज हुने उनले बताए । जहाजको गति बढाउन, घटाउन उनले रेगुलेटरसमेत जडान गरेका छन् ।

हालसालै निर्माण सकिएको जहाजको तौल २५ केजी छ भने चौडाइ १.५ फिट र लम्वाइ ३ फिट रहेको उनले बताए । सो पानीजहाज ८ सय मिटरसम्म चल्न सक्छ । उनका अनुसार, यो सानो पानी जहाज हो । ‘एलएमबी टावरको सहायताले यो जहाज पानीमा मज्जाले चल्न सक्छ, लगानी अनुसार जहाजको आकार र क्षमता निर्माण हुने हो । उनले भने– पानी जहाजमा जडान हुने उपकरणको आकार बढाउने र लगानी गर्ने हो भने ५ जनासम्म मानिस बोक्न सक्ने जहाज निर्माण गर्न सकिन्छ ।’ उनले निर्माण गरेको अहिलेको पानीजहाजको लागत ३० हजार मात्र रहेको छ ।

शुरुवातमा ९ वर्षको उमेरमा विजयले हवाईजहाज बनाएर उडाएका थिए । आकाशमा चरा उडेको देख्दा म पनि जहाज बनाउन सक्छु भन्ने हिम्मत आएको उनले बताए । १८ पटकसम्म जहाज बनाएर उडाउने प्रयास गरे तर सफल हुन सकेनन् । १९ आंै पटकमा खलङ्गामै कागजको स्वचालित हवाईजहाज बनाएर आकाशमा उडाई छाडे ।

आफूले आविष्कार गरेको कागजको केही विद्युतीय उपकरण जोडिएको हवाईजहाज उडेपछि नै हौसला बढेको उनले बताए । खलङ्गामा रहँदा व्यक्तिगत स्रोत, साधन र सामग्री प्रयोग गरेर उनले बिभिन्न बिद्युतीय उपकरण बनाएका थिए ।
कागजको विद्युतीय सामग्री जडित हवाईजहाजको सफल परीक्षण पछि उनी काठ, एयरवोर्टफर्म लगायतका सामग्र्री जोडेर आकारमा ठूलो हवाईजहाज बनाउने प्रयासमा छन् । ४ लाखको लागत अनुमान गरेको निर्माणाधीन हवाईजहाजमा ६० हजार रुपैयाँ खर्च भइसकेको उनले बताए । उनले भने –‘अव ३ लाख ४० हजार कहाँवाट जुटाउने ?’

निर्माणाधीन हवाइजहाजमा उनले इञ्जिनको सट्टामा ४०० भोल्टेजको मोटर र १२ भोल्टेजको ब्याट्री राखेर उडाउने प्रयास गरेका छन् । उनले भने – ‘ठूलो आकारको जहाज उडाउनको लागि इञ्जिन नै राख्नु पर्ने भएकोले ५०० सीसीको ट्याक्टरको दुई वटा इञ्जिन राख्ने निर्णय गरेको छु ।’

विजयले रिमोट कार, रोवर्ट, बिस्फोट हुने बम पनि बनाएका छन् । कतिपय बमको स्थानीय प्रशासन पालिकाका प्रतिनिधि, स्थानीयबासी, विद्यालयका शिक्षक विद्यार्थीलार्ई रोहवरमा राखेर बिस्फोट पनि गराएका छन् । उनले बम बनाउँदा हाइड्रोजन, अक्सिजन, नाइट्रिक लगायतका ग्यासको प्रयोग गरेका थिए । बारुद क्यापासिटर र बिटु बारुद प्रयोग हुने उनले वताए ।

कसरी झुकाव बढ्यो ?

उनले आफू समान उमेरका बालबालिकाले फिरफिरे घुमाइ रहेको देखे । उनले त्यसको अनुसन्धान शुरु गरे । त्यस पश्चात नै यस्ता विज्ञानको आविष्कारमा झुकाव हुन थालेको उनले बताए ।

आकाशमा उड्ने गिद्धको पनि उनले अनुसन्धान गरे । गिद्ध कसरी माथिसम्म उड्छ ? उनले गिद्धले उड्न लाग्दा कुदेर भुँइ छोड्न लाग्दा अनि आकाशमा पखेटा फिँजाएर उडेकोसम्म अनुसन्धान गरे । उनले भने –गिद्ध उडेको देखेर म पनि जहाज बनाउन सक्छु भन्ने लाग्यो । अनि बनाएरै छाडँें ।’ मैले बनाएका सवै साधन नेपाल सरकारको हुने छ । उनले भने– ‘गलत ठाँउमा प्रयोग हुने छैन, बरु सवै साधनमा “मेड इन नेपाल” लेखेर नेपालको झण्डा फर्फराउन मन छ ।’

कसरी आए झापा बिजय ?

सल्यानकै शारदा नगरपालिका वडा नं. २ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय, लुहापिङमा कक्षा ९ मा अध्ययनरत् हुँदा बनाएका उपकरणप्रति कसैले चासो र सहयोग नगरेको सामाजिक सञ्जालमा केही व्यक्तिले पोष्ट गरेका थिए । उक्त पोष्ट झापा सुरुङ्गाका सुमन र बसन्त थपलियाले भेटे । बिलक्षण प्रतिभाका किशोरले पैसाकै अभावमा आफ्नो कला प्रस्तुत गर्न नसकेको उनको गुनासो थपलिया दाजुभाइलाई महशुस भयो ।

सुमनले भने–‘हामीले उनलाई केही न केही गर्न सक्छौं भनेर झापा बोलायांै ।’ स्थानीय कनकाई मावि सुरुङ्गामा विजयलाई कक्षा ९ मा थपलिया दाजुभाइले भर्ना गरिदिए । दिउँसोभरि उनी विद्यालयमा नै हुन्छन् । विदाको दिन अनि साँझ र विहानको फुर्सद निकालेर उनी जहाज लगायतका अन्य उपकरण बनाउने कार्यमा व्यस्त हुने गरेको सुमनले बताए । उनलाई आवश्यकीय बस्तुको खरिद थपलिया दाजुभाइले खरिद गरिदिन्छन् । नेपालमा पाउने सामान नेपालमै खरिद हुन्छ नपाउने छिमेकी भारतका विभिन्न ठाँउमा खरिद गरेर ल्याउने गरेको सुमनले बताए ।

थपलिया दाजुभाइका अनुसार बिजयलाई सहयोगको आवश्यक छ । उनको प्रतिभालाई स्थानीय सरकारदेखि केन्द्र सरकारले पनि देख्न जरुरी छ । नेपालमा विलक्षण प्रतिभाका मानिस कैयांै होलान् त्यस्ता प्रतिभाको खोजी गरेर संरक्षण गर्ने दायित्व सरकारको रहेको स्थानीयले बताए ।

विद्यालयमा विजय

प्रधानाध्यापक कर्ण डाँगीले उनी अन्य विद्यार्थीभन्दा फरक क्षमता र स्वभावका रहेको बताए । डाँगी भन्छन्– ‘घामपानी, हावाहुरी आउन लागेको पनि उनलाई थाहा हुन्छ ।’ डाँगीका अनुसार सल्यानमा पनि उनले कक्षा ९ उत्तीर्ण गरेका थिए ।

अहिले पनि उनी कक्षा ९ मै अंग्रेजी माध्यममा अध्ययनरत् छन् । उनलाई चाहिने र विद्यालयको क्षमता अनुसारका सामग्री विजयलाई उपलव्ध गराउने गरेको विद्यालयले जनाएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here