एनसीईको पाँचौ सभा

0
882

विर्तामोड।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल झापा जिल्ला समन्वय समिति (एनसीई) झापाको पाँचौं साधारणसभा विर्तामोडमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष मोहन ओलीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि नगरउपप्रमुख प्रसाईले स्थानीय तहमा बनेका ऐनलाई संघ र प्रदेशले अंकुश लगाएका कारण शिक्षा लगायत अन्य क्षेत्रमा पनि जनचाहना अनुसार काम गर्न नसकेको बताइन् ।

संघीय व्यवस्था अनुसार निर्वाचनको पहिलो कार्यकाल सिष्टम बसाउने अभ्यासकै क्रममा रहेको बताउँदै उनले संघ र प्रदेशको अंकुशका बाबजुद असजिलोबाट काम गर्दै आएको बताइन् ।

कार्यक्रममा एनसीईका केन्द्रीय प्रतिनिधि नवराज ओलीले सरकारले सबैलाई समान शिक्षा भने पनि निजी र सामुदायिक विद्यालयका पाठ्यपुस्तकमा समेत एकरुपता ल्याउन नसकेको बताउँदै शिक्षा क्षेत्रमा खाडल यथावत रहेको धारणा राखेका थिए । झापालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा शिक्षित जिल्ला भनेर चिनेपनि वास्तविकता त्यस्तो नभएको ओलीको भनाइ थियो ।

कार्यक्रममा विर्तामोड नगरपालिका नगर शिक्षा शाखाका दिनेश आचार्य, विर्तामोड नगरपालिका वडा नं.–५ की वडासदस्य हर्कमाया विक, गैह्र सरकारी संस्था महासंघका केन्द्रीय सदस्य छवि खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सुरेशकुमार पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रेम गौतमले गरेका थिए । केन्द्रमा २०१० मा स्थापना भएको एनसीईको शाखाका रुपमा २०१४ मा गठन गरिएको झापा शाखामा विभिन्न २० वटा संघसंस्थाको आवद्धता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here