स्कूलबसमा क्षमताभन्दा बढी विद्यार्थी

0
888

बिर्तामोड।

सिट क्षमताभन्दा बढी यात्रु राख्नु ट्राफिक नियमको उल्लंघन भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यसमा चासो दिएको छैन । ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सिट क्षमताको विषयमा ध्यान नदिँदा उभिएरै यात्रा गर्नु पर्ने बाध्यता रहेको यात्रीहरुले बताएका छन् ।

सिट क्षमताभन्दा धेरै यात्रु राखेर सवारी सञ्चालन गर्नु ट्राफिक नियम उल्लंघन हो तर ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउने सवारीलाई कारवाही गरेको पाइँदैन ।

आर्थिक वर्ष ०७५–०७६ मा पर्चा पम्प्लेट वितरणदेखि सामुदायिक सेवामार्फत कक्षा सञ्चालन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा १०४ पटक गरी ९ हजार ८९२ जना विद्यार्थीलाई ट्राफिक नियम सिकाएको छ । विद्यार्थीलाई सवारीमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा, ट्राफिक नियम, बाटो काट्दा अपनाउनु पर्ने सावधानी लगायतको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियम सिकाए पनि विभिन्न विद्यालयका सवारी साधनले सिट क्षमताभन्दा धेरै विद्यार्थी राखेर यात्रा गराएको विषयमा भने ध्यान दिएको छैन ।

विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक नियम सिकाउने झापा ट्राफिकले स्कूल बस तथा सार्वजनिक सवारीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्नु ट्राफिक नियम उल्लंघन हो भन्ने विषयमा सञ्चालकलाई प्रशिक्षण दिएर कडाइ नगर्दा धेरै विद्यार्थीले उभिएर स्कूलसम्म पुग्नुपर्ने बाध्यता रहेको छ ।

ट्राफिक नियम पालना गर्ने सम्बन्धमा स्कूल ब्यवस्थापकले ध्यान दिनुपर्ने प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । उनले स्कूल बसले सिट क्षमताभन्दा धेरै विद्यार्थी राखेको सन्दर्भमा अभिभावक पनि जागरुक हुनु पर्ने भन्दै ट्राफिक प्रहरीले निगरानी गर्ने बताए ।

ट्राफिक प्रहरीले विद्यालयबाट सञ्चालित स्कूल बसहरुलाई पहेंलो रङको बनाउन लगाएको छ । तर ट्राफिक नियममा कडाइ नगर्दा स्कूल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थीलाई यात्रा गराउँदा समेत ट्राफिक प्रहरीले ध्यान नदिएको अभिभावकहरुको गुनासो छ ।

उता प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सात महिनाअघि पनि झापामा सञ्चालित केही मन्टेश्वरीहरुले स–साना बालबालिकालाई कोचीकोची सवारीमा राखेर विद्यालय पु¥याउने गुनासो आफू समक्ष आएको भन्दै ट्राफिक प्रहरीलाई कडाइ गर्ने बताए ।

उनले सिट क्षमताभन्दा धेरै विद्यार्थी राख्ने स्कूल बसहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिने बताए । ट्राफिक प्रहरीले कतिखेर दुर्घटना हुन्छ भन्नेभन्दा पनि ट्राफिक नियम पालना भएको छ कि छैन भन्ने विषयमा चनाखो हुनु पर्ने प्रजिअ दाहालको भनाइ छ ।

उनले झापामा सञ्चालित साना तथा ठूला सवारी साधनले ट्राफिक नियम पालना गरेनगरेको विषयमा जानकारी लिने र थप प्रभावकारी रुपमा अघि बढ्न निर्देशन दिने बताए । सवारी सञ्चालन गर्दा ट्राफिक नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।

यसैबीच ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा एक हजार चार सय १३ पटक विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दा ७४ हजार ४० जनालाई ट्राफिक ज्ञान प्रदान गरेको जनाएको छ । ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यहरु गरे पनि ट्राफिक नियम उल्लंघनका घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष ०७३–०७४ मा साना ठूला गरेर १९१ वटा सवारी दुर्घटना भएको थियो भने आर्थिक वर्ष ०७४–०७५ मा १७९ वटा दुर्घटना हुँदा गत आर्थिक वर्ष ०७५–०७६ मा २३९ वटा सवारी दुर्घटना भएको जनाइएको छ ।

गत आर्थिक वर्षमा भएका दुर्घटनामा ८५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here