सीसी क्यामेराको निगरानीमा काँकरभिट्टा

0
817

काँकरभिट्टा।

अब झापाको काँकरभिट्टापनि सीसी क्यामेराको निगरानीमा रहने भएको छ । नेपालको पूर्वी नाका काँकरभिट्टाको बजार क्षेत्रमा २३ वटा सीसी क्यामेरा जडान गरिएसंँगै नगर सीसी क्यामेराको निगरानीमा आएको हो ।

मेचीनगर नगरपालिका र स्थानीय जनसहभागितामा काँकरभिट्टाको सुरक्षा मजबुत बनाउन बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको हो । अपराध न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको सीसी क्यामेराको लागत खर्च १२ लाख ५६ हजार रुपैयाँ रहेको छ । जसमा मेचीनगर नगरपालिकाबाट ५ लाख ८४ हजार ३ सय ४९ रुपैयाँ सहयोग प्राप्त भएको छ भने ६ लाख ७२ हजार ६ सय रुपैयाँ जनसहभागिताको रकम रहेको जनाइएको छ ।

सीसी क्यामेराको उद्घाटन गर्दै १ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अबको युग प्रविधिको भएकाले हरेकले प्रविधिमैत्री बन्नु पर्नेमा जोड दिएका छन् । प्रहरी नायव महानिरीक्षक ज्ञवालीले अबको दुनियाँमा कोही पनि मानिस प्रविधिबाट अलग बस्न नसक्ने बताए ।

कार्यक्रम बोल्दै मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा पर्याप्त जनशक्ति तथा स्रोत साधन नभएकाले यसको व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई आग्रह गरेका थिए । नगर प्रमुख आचार्यले यहाँका प्रहरीले सीमा स्तम्भदेखि लुटपाट लागूऔषधको धन्दा, मानव वेचविखन, राजश्व चुहावटसम्मको गतिविधि नियन्त्रण गर्नु पर्ने भएकाले पर्याप्त स्रोत र साधनको आवश्यकता रहेको बताए ।

कार्यक्रममा मेचीनगर—६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुभद्रा भट्टराई अर्याल, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्याल, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, जिल्ला सहकारी संघ झापाका दुर्गाप्रसाद सापकोटा ,नेकपाका मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका इन्द्रबहादुर बुढाथोकी, राप्रपाका सुशील आचार्यलगायतले बोलेका थिए ।

पर्यटन तथा यातायात व्यवस्थापन समितिले मेचीनगर नगरपालिका तथा स्थानीयवासीको सहभागितामा मेचीनगरको वडानम्बर— ६ का विभिन्न २३ स्थानमा सीसी क्यामेरा जडान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको सभापतित्वमा भएको उद्घाटन सत्रको सञ्चालन समितिका अध्यक्ष निरबहादुर कार्की नेत्रले गरेका थिए । कार्यक्रममा सदस्य सचिव इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here