चन्द्रगढी (दोस्रो) खानेपानीको नेतृत्व चयन

0
869

भद्रपुर।

भद्रपुर– ९ स्थित चन्द्रगढी (दोस्रो) खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रगतिशील समूहको वर्चस्व भएको छ । प्रगतिशील समूहका उम्मेदवार अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा विजयी भएका छन् । त्यस्तै नेपाली कांग्रेसका लोकतान्त्रिक समूहका उम्मेदवार उपाध्यक्ष पदमा विजयी भएका छन् ।

आगामी तीन वर्षीय कार्यकालका लागि शनिबार भएको निर्वाचनमा नेकपाका प्रगतिशील समूहका चूडामणि मैनाली २५६ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र रिजालले २३६ मत प्राप्त गरे भने साझा समूहका रामबहादुर थापाले २७ मत र स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका अग्निप्रसाद विमलीले ७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा लोकतान्त्रिक समूहकी पार्वती मल्लले ३३० मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्द्वी प्रगतिशील समूहका दिननाथ उप्रेतीले १७२ मत प्राप्त गरे भने साझा समूहका हरिप्रसाद निरौलाले २२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सचिवमा प्रगतिशील समूहका ध्रुवराज कार्कीले २६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिकका रमेश न्यौपानेले १४६ मत प्राप्त गरे भने साझा समूहका गोकुल ढकालले ९१ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिवमा प्रगतिशील समूहकी नुना अधिकारी ३२५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिककी भीमा नेपालले १२० मत र साझा समूहकी कविता बरालले ६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा प्रगतिशील समूहका महेश न्यौपाने २५५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका नवीन पोखरेलले १८३ मत प्राप्त गरे भने साझा समूहका खगेन्द्र विमलीले ७२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण भट्टराईले जानकारी दिए ।

त्यस्तै सदस्यहरूमा नेकपा र नेपाली कांग्रेसको सहमतिमा सदस्य चुनिएको छ । नेकपा र कांग्रेसमा अध्यक्षसहित मुख्य पदहरूमा कुरा नमिलेपछि पाँच पदका लागि निर्वाचन भएको थियो । सदस्यहरूमा नेकपा र कांग्रेसको तर्फबाट नेत्रप्रसाद खड्का, गीता मैनाली, विष्णु पौडेल, चन्द्रकला बुढाथोकी, तोया बास्तोला, सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् ।

पारिजात खानेपानी र चन्द्रगढी खानेपानी एकीकरण भई चन्द्रगढी (दोस्रो) खानेपानी उपभोक्ता समिति भए पश्चात् हाल पाँच सय ७० उपभोक्ता आबद्ध रहेका छन् । भद्रपुरको मुना सामुदायिक भवनमा भएको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदको निर्वाचनमा पाँच सय ५६ जनाले मतदान गरेका थिए । ९७ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here