प्रोत्साहन रकम नपाएपछि…

0
793

गौरीगञ्ज।

गौरीगञ्ज–२ कोरोवारीका किसानहरुले कृषि ज्ञान केन्द्रबाट किसानहरुले पाउने प्रोत्साहन रकम वास्तविक किसानहरुले नपाएकोमा आक्रोश व्यक्त गरेका छन् ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. २ को वडा कार्यालयद्वारा आयोजित नागरिक सम्बोधन कार्यक्रममा तीन वटा कृषि समूहहरुले कुनै सूचना र जानकारी नदिई किर्ते कागज बनाएर कृषि ज्ञान केन्द्र चन्द्रगढीबाट किसानका लागि विनियोजित रकम अनियमितता गर्न खोजेकोमा तीव्र आक्रोश व्यक्त गरे ।

साविक कोरोवारी गाविसमा रहेको ४ वटा कृषक समूह मध्ये ३ वटा माङ्सावा कृषक समूह, तुलाचन कृषक समूह र कन्काई विपद कृषक समूहमा अनुदानको रकम अनियमिता भएको पाइएको छ । तीन वटा कृषक समूहले कोरोबारी क्षेत्रमा रहेर चैते धानबाली लगाएका कृषकहरुलाई अनुदान दिन १५ लाख १८ हजार रकम बिनियोजित भएको कृषि ज्ञान केन्द्र चन्द्रगढीले जनाएको छ । माङ्सेवा कृषक समूहले ६ लाख ८४ हजार, तुलाचन कृषक समूहले ४ लाख ६७ हजार र कन्काई कृषक समूहले ३ लाख ६७ हजार रुपैयाँ किर्ते कागज बनाई सही छाप गराई निकासा गरेको थियो ।

केही दिन अगाडि सो क्षेत्रका किसानहरुले उक्त कुरा थाह पाएपछि वडा कार्यालय घेराउ गर्नुको साथै बिरोध गर्दै आएका थिए । वडा कार्यालयमा आइतवार ३ वटा कृषक समूह र जनप्रतिनिधिहरुले किसानहरुलाई जानकारी गराउने सन्दर्भमा वडावासीहरुले किर्ते कागज गरी जालसाजी गरेर रकम निकासा गर्ने समूहलाई कानूनी कार्वाही गर्न माग गर्दै नारा जुलुस गरेका थिए । चैतै धानवाली लगाएका वास्तविक किसानहरुले अनुदान रकम नपाई जग्गा नभएका, खेती नगरेका, मृत्यु भएका र एउटै परिवारका सदस्यहरुको नाम भएका किसानहरुको नामावली पेश गरी रकम निकासा गरेकोमा आक्रोश व्यक्त गरेका थिए ।

कोरोबारीका किसान श्याम न्यौपानेले २०७१ सालमा निधन भएकी हजुरआमा मनमाया न्यौपानेको नाममा रहेको धनीपुर्जा पेश गर्दै किर्ते सहीछाप गरी आफूलाई जानकारी नगराई रकम निकासा गरेको बताए । त्यस्तै कोरोवारीका किसान फाल्गुलाल राजवंशीले आफ्नो बुबा कप्तान राजवंशीको निधन २०४९ साल वैशाख १० गते मृत्यु भएको तर उनको नाममा रकम लिई भर्पाई बुझिएको देख्दा आफूलाई आश्चर्य लागेको बताए । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गल्ती र कमजोरी गर्ने जो कोहीलाई पनि कानूनी कार्वाही गर्ने बताए । उनले किसानहरुको नाममा आएको अनुदान रकम दुरुपयोग हुन नदिने र अनियमितता गर्न खोज्ने जो सुकैलाई पनि कानूनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे ।

चैते धान लगाउँदा पीडित रहेका किसानहरुलाई प्रोत्साहन स्वरुप नेपाल सरकारले उपलब्ध गराउने रकम कोरोवारी क्षेत्रका किसानहरुलाई उपलब्ध गराएको हो । धानलाई भण्डारण गर्न नसक्ने र उचित मूल्य नपाई मारमा परेका किसानहरुलाई विनियोजित रकम कृषक समूहमार्फत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र चन्द्रगढीका प्रमुख शालीकराम भट्टराईले जानकारी दिए । नेपाल सरकारबाट किसानहरुका लागि विनियोजित भएको रकम आर्थिक वर्ष समाप्त हुने समयमा आफूहरुले जानकारी पाएकाले किसानहरुको घर आँगनमा पुगेर भेट्ने समय नहँुदा भूमिगत सिञ्चाई परियोजनामा पेश गरेका किसानहरुको धनीपूर्जाको फोटो पेश गरिएको तुलाचन कृषक समूहका अध्यक्ष सुजन श्रेष्ठले जानकारी गराए ।

कृषक समूहहरुले रकमको अनियमितता गर्ने लक्ष्य नराखी फ्रिज हुने रकमलाई किसानहरुको हातसम्म ल्याउन उक्त कार्य गर्नु परेको जनाए । वडा नं. २का वडा सदस्य तथा कन्काई विपद् कृषक समुहका सचिव अरुण राजवंशीले अनुदानको रकम फछ्र्यौट गर्ने समय कम भएकोले आफू नजिकका किसानहरुको धनीपुर्जाको फोटो कपी र किर्ते सहीछाप गरी पेश गरेको स्वीकार गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here