प्रकृतिकी रानी विवादमा

0
791

चिन्तामणि दाहाल
प्रारम्भ :
बर्षौंदेखि विवादमा रहे पनि विश्वमै प्रकृतिकी रानी मानिएको भारतको जम्मुकश्मिर अहिले पुनः विवादको उत्कर्षमा रहेको छ । प्राचीनकालदेखि नै विभिन्न युगका शासकहरुको आँखामा परेर युद्ध र विवाद झेल्दै, सम्हालिँदै आएको जम्मुकश्मिर सात दशकयता भारत, पाकिस्तान र चीनका कारण विवादमा रहेको थियो । तर, अहिले एक सातायता आएर जम्मुकश्मिरलाई भारतीय संविधानको धारा ३७० र त्यही धाराको ३५ (क) ले दिँदै आएको विशेष दर्जा भारतको विजेपी सरकारले संविधान नै संशोधन गरेर खोसेपछि पुनः विवादको उत्कर्षमा पुगेको हो ।

पछिल्लो समय विवादमा आएको जम्मुकश्मिरका बारेमा थुप्रै लेख रचना, समाचार, ब्याख्यानहरु, टिप्पणीहरु, आलोचना र समर्थनहरु विश्वकै सञ्चारमाध्यमहरुमा बग्रेल्ती छन् । तर, पनि कश्मिरको इतिहास, प्राचीन स्वरुप, सात दशकदेखिको विवाद र विवादमा तीन देश भारत, पाकिस्तान र चीन देखिनु र त्यसमा पनि भारत र चीन आमनेसामने हुनुका बारेमा बुझिने भाषामा कुराहरु नआएको महशुस गरी यस हप्तामा पंक्तिकारले जम्मुकश्मिरका बारेमा कलम चलाउने साहस गरेको हो ।

अर्वाचिन र प्राचीनकाल :

महाभारतकालभन्दा पनि अघि अर्थात् अर्वाचिन र प्राचीनकालमा कश्मीर उपत्यका काठमाडांै जस्तै पानीले भरिएको ठूलो ताल थियो । कश्मिर बाहेक वरिपरिका अन्य चारवटा तावी, पुन्च, सिन्ध र लिद्दर उपत्यकाको पनि त्यस्तै अवस्था थियो । यी उपत्यकाको पनि पानी क्रमशः बाहिरियो । त्यसअघि यी सबै तालको वरिपरि प्राचीन र नवीन ढुंगे युगका मानिस बसोबास गर्थे भन्ने त्यहाँ प्राप्त अवशेषहरुले प्रमाणित गरेको छ ।

प्राकृतिकरुपमा अत्यन्त सुन्दर भएकैले सबै प्रकारका मानिसहरु चाहे ती ढुंगे युगका हुन् वा त्यसपछिका, सबैले कश्मिरलाई मनपराउनु स्वभाविक थियो । उसको त्यही सुन्दरताले आक्रमणको शिकार पनि भयो भने सजिने मौका पनि पायो ।

त्यही अवस्थामा ब्रह्माका नाति मरिचिका छोरा कश्यप ऋृषि तपस्या गर्ने मनोरम प्राकृतिकस्थलको खोजी गर्ने क्रममा घुम्दै फिर्दै कश्मिर पुगे । केही बर्षको तपस्यापछि उनलाई कश्मिरमा मानव बसोबसोबास गराउने विचार आयो । अनि उनले तालको पानीलाई विस्फोट गराई बारामुला क्षेत्रबाट निकाल्ने काम गरे । पानी सुकेपछि त्यो उपत्यका बस्न लायक, सुन्दर र उब्जाउमय भयो । अनि उनले त्यस क्षेत्रमा ब्राम्हणहरुको बस्ती बसाउन शुरु गरे । बस्ती बसाएपछि त्यसको नाम राखे काश्मिरी अर्थात् संस्कृतमा का को अर्थ पानी हुन्छ र शमीरीको अर्थ सुकाएको अर्थात् सुख्खा बनाएको हुने भएकोले त्यसको नाम काश्मिरी राखे । पछि यही नाम अपभ्रंश हुँदै कश्मिर भयो ।

यो किम्बदन्तीलाई १२औं शताब्दीका एक विद्वान लेखक कल्हण जो त्यसबेलाका कश्मिरका राजा हर्षका समयका मन्त्री चम्पकका छोरा थिए । उनले आफ्नो राजतरंगिणी नामक ग्रन्थमा यो कुरा उल्लेख गरेका छन् । ऋृषि कश्यपले यो क्षेत्रमा लामो समयसम्म शासन गरे । उनले क्याश्पियन सागरसम्म आफ्नो राज्य फैलाए । त्यसैले त्यो सागरको नाम कश्यपबाट क्याश्पियन भयो भन्ने भनाइ पनि पाइन्छ ।

पौराणिककाल :

महाभारतकालमा कश्मिरमा कम्बोजहरुको शासन थियो । पछि पान्चालहरुले कश्मिरलाई कब्जा गरी त्यसको क्षेत्र हालको पञ्जाब अर्थात् सिन्ध क्षेत्रसम्म बढाए । यही पान्चालबाट अहिले पनि पञ्जाबीहरुले पीररुपन्जाल शब्दको प्रशस्त प्रयोग गर्छन् । यही क्रममा राजा जम्बु लोचानले इशापूर्व १४औं शताब्दीमा जंगलमा शिकार खेल्न जाँदा तावी नदी किनारमा सिंह र बाख्रा एकै साथ पानी खाइरहेको देखे ।

उनलाई यस्तो दृश्यले भावनात्मक प्रभाव पा¥यो । अनि उनले यस क्षेत्रको जंगल फाँड्न लगाएर बस्ती बसाले । जम्बु लोचानले बस्ती बसाएकोले यसको नाम जम्बु भयो र यही जम्बु अहिलेको जम्मु भयो । अनि कश्मिरसँग जम्मु जोडिएर जम्मुकश्मिर भयो ।

आधुनिककाल :

समुद्री सतहबाट छ हजार फिटदेखि १६ हजार फिटसम्मको उचाईमा रहेको जम्मुकश्मिरमा विभिन्न वंशका राजाहरुले शासन गरे । १२औं शताब्दीका लोहार वंशका राजा जम्बु लोचानको वंशले शासन गरिहेकै थियो । उता यही बीचमा कश्मिरलाई भने १३३९ मा मुश्लिम शासक शाह मीरले कब्जा गरी १५८६ ईस्वीसम्म शासन गरे । उनको वंशलाई मुगल सम्राट अकबरले हराएपछि कश्मिरमा १७४७ ई.सम्म मुगल शासकहरुको शासन रह्यो । मुगल शासकहरुलाई हराउन जम्मु राज्यको डोग्रा वंशका राजा ध्रुब देवले भूमिका खेलेका थिए । उनले कश्मिर पनि जितेर जम्मु र कश्मिरलाई एउटै राज्य बनाएका थिए ।

त्यसपछि अफगानिस्तानका डुरान वंशका शासकले कश्मिरलाई कब्जा गरी १८०६ ई.सम्म शासन गरे भने पंजाबका सिख राजा भांगी मिसलले त्यसअघि नै १७७० मा जम्मुका डोग्रा वंशका शासकहरु माथि आक्रमण गरी कब्जा गरे । सिख राजा महान सिंहका छोरा रणजीत सिंहले भने १८०६ ई.मा डुरान वंशका शासकहरुलाई हराएर कश्मिर विजय गरी १८४६ सम्म शासन गरे । त्यसबेलासम्म भारतमा ब्रिटिशहरुको शासन फैलिसकेको थियो ।

मुगल शासकहरुलाई हराएका ब्रिटिशहरुसँग पञ्जाबको युद्ध भयो । अमृतसरको सन्धीबाट यो युद्ध समाप्त भएपछि पञ्जाबका प्रधानमन्त्री रहेका डोग्रा वंशका गुलाव सिंहलाई ब्रिटिशहरुले जम्मुकश्मिर ७५ लाख नानकशाही मुद्रामा बिक्री गरे । किनकि यो राजवंशलाई सिख वंशले नै विस्थापित गरेको थियो । यसै डोग्रा वंशका सन्तानहरु पञ्जाबमा जागिर खाएर जीवन धानिरहेका थिए । यही डोग्रा वंश नै कश्मिरको अन्तिम राजवंश भयो । यसले १९४७ ई. सम्म शासन ग¥यो । ब्रिटिशहरुले जम्मुकश्मिरमा शासन गरेनन् । डोग्रा वंशको सय बर्षको शासनकालमा क्रमशः गुलाव सिंह, रनविर सिंह, प्रताप सिंह र हरि सिंह महराजा भए । अन्तिम महाराज हरि सिंहका छोरा करण सिंह राजकुमार मात्र भए । सन् १९२५ मा राजा भएका हरि सिंहले जम्मुकश्मिरलाई भारतमा विलय गराए ।

जम्मुकश्मिर एउटै भएका वेला यस राज्यमा लद्दाख र गिलगितरुबल्तिस्तान पनि पथ्र्यो । ब्रिटिश सम्राज्यबाट भारत स्वतन्त्र हुँदा भारत पाकिस्तान बन्यो भने ब्रिटिशहरुले जम्मुकश्मिरलाई बाँडेका थिए । बाँड्ने क्रममा गिलगितरुबल्तिस्तान पाकिस्तानमा प¥यो । आजाद कश्मिर पनि पाकिस्तानकै भागमा गयो । बचेको जम्मुकश्मिर र लद्दाख राजा हरि सिंहको भागमा प¥यो । चीनसँग सीमाना विवाद भएको लद्दाखलाई ब्रिटिशहरुले कश्मिरभित्रै राखे ।

विभाजनपछि पहिला पाकिस्तान स्वतन्त्र भयो १४ अगष्ट १९४७ मा र भोलिपल्ट १५ अगष्टमा भारत स्वतन्त्र भएको घोषणा गरियो । बचेको भागका जम्मुकश्मिरका राजा हरि सिंहलाई कता जाने रोज्न लगाइयो । हरि सिंहले स्वतन्त्र राज्य भएर बस्ने निर्णय लिए । तर, त्यसबेलाका ब्रिटिश गभर्नर जनरल लुइस माउन्टबेटनले स्वतन्त्र बस्न गाह्रो हुने जनाए ।
त्यहीकीच गिलगितरुबल्तिस्तान र पख्तुनख्वाहबाट मुश्लिमहरु जम्मुकश्मिर कब्जा गर्न पाकिस्तानको सहयोगमा हाहतियारसहित प्रवेश गर्न थाले ।

यो देखेपछि हिन्दु राजा हरि सिंहलाई मुश्किल भयो । उनले मुश्लिम देश पाकिस्तानमा विलय हुनुभन्दा हिन्दुस्तानमा विलय हुनु ठीक ठाने । अनि उनले भारतमा विलय हुने इच्छा जाहेर गरी भारत सरकारलाई पत्र लेखेपछि जम्मुकश्मिर १९४७ को अक्टुवर २६ मा भारतमा विलय गराइयो । भारतले हजारौं सेना पठाएर मुश्लिम घुसपैठियालाई धपायो । यस कदमलाई पाकिस्तानले अपत्ती गरेपछि त्यहींबाट अहिले देखिएको कश्मिर समस्या शुरु भएको हो ।

प्रजातन्त्रकाल :

भारतमा विलय भएको जम्मुकश्मिरलाई भारतले १९४९ मा संविधान घोषणा गर्दा हरि सिंहसँगको शर्त बमोजिम विशेष अधिकारको दर्जामा राख्न धारा ३७० राखेको थियो । यो धारा सक्रिय भए पनि ७० बर्षसम्म पनि जम्मुकश्मिर समस्या हल हुनुको बदला बढ्दै गयो । कश्मिर विवादकै कारण भारत र पाकिस्तानबीच १९६५,१९७१ र १९९९ ई. मा युद्ध भयो । १९७२ ई. मा सिमला सम्झौता भएर वार्ताबाट समस्या समाधान गर्ने भनिए पनि समस्या ज्युँका त्युँ छ । समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघले विभाजनताका नै प्रयास गरे पनि दुबै पक्षको आ–आफ्ना अडानका कारण समस्या समाधान भएन । जनमत संग्रह गर्नुपर्ने प्रस्ताव भारतले अस्वीकार गर्दा कश्मिर समस्या समाधान भएन ।

हिन्दूहरुले बसोबास शुरु गरी हजारौं बर्षसम्म हिन्दूहरुकै बाहुल्य रहेको जम्मुकश्मिरमा १४औं शताब्दीदेखि मात्रै मुश्लिमहरुको बसोबास बढ्न थाल्यो भने मुगलहरुको आधिपत्य भएका बेला यहाँ मुश्लिमहरु बहुसंख्यामा रहे र अहिले पनि उनीहरु नै बहुमतमा छन् ।

जब विवादकै कारण कश्मिरको विकास भएन भन्ने त्यहाँका जनताले बुझ्न थाले तब उनीहरु पनि पछिल्लो केही चुनावदेखि जम्मुकश्मिरको विकासमा भारतीय जनता पार्टीले लिएको नीतिको समर्थन गर्न थाले । पछिल्लो निर्वाचनमा कश्मिरमा विजेपीका उम्मेदवारले उल्लेख्य संख्यामा जिते ।

यसैलाई जनसमर्थन मानेर विजेपीको नरेन्द्र मोदीको सरकारले यही २०१९ को अगष्ट ५ मा संविधानको धारा ३७० खारेज गरेर जम्मुकश्मिरमा केन्द्रीय शासन शुरु गरेको हो । अरु राज्य सरह जम्मुकश्मिरलाई पनि बनाएको हो भने अन्यायमा परेका होैं जम्मुकश्मिरमा जोडेर भनेर गुनासो गरिरहेका लद्दाखका जनताको आवाजलाई पनि सम्बोधन गर्दै लद्दाखलाई अलग केन्द्र शासित राज्य बनाएको हो । मोदी सरकारको यो निर्णय यही ३१ अक्टुबरदेखि लागू हुने बताइएको छ । यसवीच लद्दाखको व्वस्थापन, कश्मिरमा शान्ति र अमनचयन कायम गर्ने काम मोदी सरकारले गरिरहेको बताएको छ ।

क्रिया–प्रतिक्रिया :

भारतले जम्मुकश्मिरलाई दिँदै आएको विशेष दर्जा खारेज गर्नु हुन्थ्यो भन्ने र हुँदैनथ्यो भन्ने पक्षमा भारतभित्रै र कश्मिरभित्रै पनि विवाद छ भने बाह्यदेशमा चिन र पाकिस्तानले भारत सरकारको कदम गलत भएको बताएका छन् । तर, संयुक्त राष्ट्रसंघ, अमेरिका लगायतका देशले भारत सरकारको कदमपछि जम्मुकश्मिरका जनताको मानवअधिकार हनन् नहोस्, दमन नहोस् मात्र भनेका छन् । नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।

तर, नेपाली कांग्रेसले त्यो भारतको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । तर, सत्ताधारी नेकपा मौन बसेको छ मौनम् सम्मति लक्षणम् भने जस्तो । भेनेजुयलाको संकटमा अमेरिकी हस्तक्षेपको कडा विरोध गर्ने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले जम्मुकश्मिरको संकटमा चुँसम्म बोलेका छैनन् । प्रभुको कसरी विरोध गर्ने भनेर चुप लागेको होला भन्ने प्रतिक्रिया पनि बजारमा आएको छ । कश्मिरका बारेमा धेरै लेख्न सकिन्छ । तर, यस छोटो आलेखमा यत्ति नै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here