भद्रपुर।

सीमाक्षेत्रबाट बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरणको उद्देश्य राखेर झापाका मारवाडी समुदायका महिलाहरूले राष्ट्र सेवक कर्मचारीसँग रक्षा बन्धन मनाएका छन् ।
हिन्दू धर्मावलम्बीहरूको पर्व रक्षा बन्धन अर्थात् जनपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आबद्ध महिलाहरूले नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको नाडीमा राखी बाँधेर उनीहरूसँग रक्षा बन्धन मनाएका हुन् । भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निक्की साहेवालाको नेतृत्वमा गएका महिलाहरूको टोलीले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठसहित वडामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई राखी बाँधेका थिए ।

त्यस्तै महिलाहरूले सशस्त्र प्रहरी बल नेपाल गण हेकुवा झापा नम्बर २ गणले खटाएका भद्रपुरका सीमा क्षेत्रमा तैनाथ सम्पूर्ण सशस्त्र प्रहरी र भद्रपुर भन्सार कार्यालयका कर्मचारीलाई पनि राखी बाँधेका थिए । साथै उनीहरूले वडा कार्यालयमा रहेका थुनुवा र झापा कारागारका कैदीबन्दीलाई समेत राखी बाँधेको बताइएको छ । रक्षा बन्धन कार्यक्रम पश्चात् राष्ट्रसेवक कर्मचारीले मारवाडी महिलाहरूलाई दक्षिणा दिन खोजेका थिए ।
तर, नगद दक्षिणाभन्दा पनि महिलाहरूले बढ्दो चेलीबेटी बेचबिखन रोकथाम तथा महिलामाथि हुने हिंसाजन्य घटना न्यूनीकरण गरिदिन आग्रह गरेका थिए । ‘महिलाको सुरक्षाका लागि हामीले सुरक्षाकर्मीलाई बन्धन बाँधेका हौं’ –अध्यक्ष साहेवालाले भनिन्– ‘चौबिसै घण्टा जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीसहित कर्मचारीहरू पर्व मनाउन घर जान नपाउने, त्यही कुरालाई मध्यनजर गरी उनीहरूको दिदीबहिनी भएर राखी बाँधेर नाता जोडेका हांै ।’































