प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गवहादुरको योगदान अतुलनीय – देउवा

0
1112

सुरेन्द्र भण्डारी

बिर्तामोड, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गवहादुर वस्नेतको योगदान अतुलनीय रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय बस्नेतले २००७ साल अघिदेखि नै प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्नु भएको भन्दै प्रजातन्त्र प्राप्तिमा उहाँको भूमिका अतुलनीय रहेको बताए ।
झापा बिर्तामोड निवासी बस्नेतको आज नवौं पुण्य तिथिमा नेपाली कांग्रेस झापाले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै सभापति देउवाले स्वर्गीय टुङ्गबहादुर बस्नेत र उहाँको परिवारले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदान अविस्मरणीय रहेको बताए । संक्षिप्त शोक मन्तब्य राख्नु भएका सभापति देउवाले कांग्रेसको राजनीतिमा सक्रिय रहनु भएका गोपालकुमार बस्नेतलाई यस अघि राष्ट्रियसभा सदस्यमा आफूले मनोनयन गरेको स्मरण गरे । राष्ट्रपतिले आफ्नो अधिकार क्षेत्र मिचेर मनोनित सांसदहरुको नाम अनुमोदन नगरेको आरोप लगाउँदै सभापति देउवाले भने –‘टुङ्गबहादुर बस्नेत जिवितै छँदा उहाँका छोरा गोपालकुमारलाई म केही जिम्मेवारी दिन चाहन्थे, उहाँ स्वस्थ्य हुनुहुन्थ्यो, यति छिट्टै भौतिक शरीर नास हुन्छ भन्ने कल्पनै गरेको थिइन् ।’ गोपाल कुमार वस्नेत टुङ्गवहादुरका जेठा छोरा ।

सभापति देउवाले गोपालकुमार वस्नेतलाई अब नेपाली कांग्रेसको केन्द्रीय समितिमा जिम्मेवारी दिने घोषणा गरे ।
श्रद्धाञ्जलिसभामा नेकपाका केन्द्रीय सदस्य मनकुमार गौतमले स्वर्गीय वस्नेतले पु¥याएको योगदानको चर्चा गर्दै राजपरिवारको दवावपूर्ण राजनीतिक वातावरणमा पनि जनताको जीउधनको रक्षाका लागि स्व. टुङ्गबहादुर बस्नेतले उठाएको आवाज स्मरणीय छ भने ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले पार्टी केन्द्रीय समिति र झापा समितिको समवेदना पत्र वाचन गर्दै टुङ्गबहादुर बस्नेतले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गरेका थिए । श्रद्धाञ्जलिसभामा नेपाल महिला संघ, नेपाल रेडक्रस सोसाइटी झापा, नेपाल प्रेस युनियन झापा, नेपाली कांग्रेस–२ नंं क्षेत्रीय समिति, विर्तामोड नगरसमिति, नेपाल दलित संघ लगायत दर्जनबढी संस्थाले समवेदना पत्र बस्नेत परिवारलाई हस्तान्तरण गरेका थिए ।
परिवारका तर्फबाट गोपालकुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय टुङ्गवहादुर बस्नेतको गत साउन २४ गते शुक्रवार ९७ वर्षको उमेरमा निधन भएको हो ।
श्रद्धाञ्जलिसभामा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा, पूर्व सांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल, नेकपाका केन्द्रीय सदस्य नरेश खरेल, प्रदेश सभा सदस्य एकराज कार्की, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल लगायत जिल्लाका विशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो ।


इलामको साँखेजुङमा वि.सं. १९८० भदौ राधाअष्टमीमा धनमाया र धनराज बस्नेतका कान्छा पुत्ररत्नका रुपमा जन्मिएका स्व.बस्नेतले प्रारम्भिक शिक्षा नेत्रहीन विद्वान गुरु पण्डित ब्रम्हलाल पौडेलबाट ग्रहण गरेका थिए ।
ऐन स्रेस्ता राइटर हरिभक्त खत्रीबाट पढेका बस्नेतले भारतीय शिक्षकबाट अंंग्रेजी र गणितको अनौपचारिक पढाई गरेका थिए । उनले बुबाको प्रेरणाबाट गाउँका समकालीन साथीहरुसँग बसेर इलामको पाठशालामा र पछि पदमबहादुर देवानहरुल स्थापना गरेको निजी विद्यालयमा कक्षा ६ सम्म अध्ययन गरेका थिए ।

त्यही समय ११ वर्षको उमेरमा वि.सं. १९९१ मा पुवामझुवा इलामकी पूर्णकुमारी चम्लागाँई खत्रीसँग उनको विवाह भएको थियो । ६ जना दाजुभाइ र ६ जना दिदीबहिनी भएको उनको संयुक्त परिवारमा विवाह पछि पढाइ रोकियो । बुबाको रक्सेमा भएको पसलमा बसेर आर्थिक कारोबारको शिक्षा लिएका बस्नेतको राजनीतिक चेतना नरेन्द्रनाथ बाँस्तोलासँगको निकटताबाट जागृत भयो ।
त्यसकै परिणाम वि.सं. २००७ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका बस्नेत राणा विरोधी र प्रजातान्त्रिक आन्दोलनमा होमिए । १६÷१७ वर्षकै उमेरमा कांग्रेसको सिपाही भएर पर्चा पम्प्लेट बाँड्ने र संगठन विस्तार गर्न सक्रिय भए उनी ।

राजनीतिक सहयात्री दलकृष्ण श्रेष्ठ, पूर्णलाल श्रेष्ठ पक्राउ परे पनि संगठनमा क्रियाशील उनी आफू पटकपटक पक्राउ परे । कठोर जेल यातना खपे तर पनि प्रजातन्त्रको पक्षमा किञ्चित सम्झौता गरेनन् ।
००७ सालको सशस्त्र आन्दोलनदेखि भद्रअवज्ञा आन्दोलन सम्म र त्यसपछि वीपी कोइरालाको स्वदेश फिर्तीदेखि ०३६ र ०४६ सालको जनआन्दोलनमा समेत उनी समानरुपले संघर्षरत् रहे । ०१५ सालको पहिलो आमनिर्वाचनका समयमा पूर्वी पहाडी जिल्लाका ग्रामीण क्षेत्रहरुमा वीपीलाई परिचित गराएका बस्नेत २०१९ सालमा पक्राउ परे ।
सरकारको गाथगाधी ताकेको आरोप लागेका उनलाई ट्रिव्युनलमा उपस्थित गराइयो । उनीसँगै पक्राउ परेका उनका भतिज गंगाबहादु बस्नेत, ज्ञानीराम भट्टराई, बाजवर्ण कटुवाल मध्ये भट्टराई कागजपछि छुटे भने बाँकी जेल पठाइए । जेलमा पनि हतकडी लगाएका उनीहरुसँग झापाबाट पक्राउ परेका समेत ५० जनाभन्दा बढी क्रान्तिकारी युवाहरु थिए ।
वि.स. ०२८ सालको झापा काण्डमा निर्दोष, निहत्था मारिएका घटनालाई अत्यन्त दुःखद ठान्ने बस्नेत त्यसपछि पनि नेपाली कांग्रेसबाट कहिल्यै विरत् भएनन् । ०३२ सालको मेलमिलापको नीति अनुरुप वीपीको स्वदेश आगमन होस् वा ०३३ सालदेखि शुरु गरेको प्रजातान्त्रिक आन्दोलन उनी जनचेतना जागरणमै क्रियाशील रहे ।
त्यसैले २०३६ सालमा जनमत संग्रहसम्म पु¥यायो देशलाई र पराजयले कमजोर र छिन्नभिन्न पनि बनाएको नमीठो सम्झना थियो बस्नेतसँग ।


दाजुभाइका बीचको एकताका कारण परिवार संगठित भएको ठान्ने बस्नेत परिवार, मावली हजुरबुबा लप्टन खड्गबहादुर भट्टराईको प्रत्यक्ष निगरानीमा सुरक्षित रहेको बताउँथे ।
बाबुसँगै झापासँग जोडिन पुगेका उनी पछिल्लो समयम मूलतः झापालीका रुपमा चिनिए । झापाका अनेक सामाजिक संघसंस्थासँग जोडिएका बस्नेतले थुप्रै मठमन्दिर, देवालय, शिक्षालय र धार्मिक संस्थाहरुमा सहयोग गरेका छन् ।

सचेत र जागरुक परिवारको रुपमा पहिचान बनाएका उनका तीन छोरा बुहारीहरु गोपालकुमार–रमा बस्नेत, श्यामकुमार –लीलादेवी बस्नेत र जीतेन्द्र–सुलोचना बस्नेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here