झापामा मदिरा नियन्त्रण अभियान असफल, शान्तिसुरक्षा कायम गर्न प्रहरी कमजोर बन्दै

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

अपराध नियन्त्रणका लागि भन्दै गत बर्ष नेपाल प्रहरीले झापामा एकपछि अर्काे गर्दै नयाँ–नयाँ कार्यक्रम सार्बजनिक ग¥यो ।

अपराध रोकथाम गर्नु र जनतालाई अनावश्यक झञ्झटमा पर्नबाट बचाउन सकियोस् भन्दै तत्कालीन प्रहरी उपरीक्षक भीम ढकालले पीडितको साथी प्रहरी, टोल–टोलमा प्रहरी, घरेलु मदिरा नियन्त्रण अभियान जस्ता एकपछि अर्काे कार्यक्रम सञ्चालनमा ल्याए । तर, उनले ल्याएका सबै कार्यक्रम उनको सरुवासँगै प्रभावहीन बने ।

गत बर्षको कात्तिक ७ गते झापाको कनकाई नगरपालिकामा सम्पन्न स्थानीय तहको संयुक्त बैठकले झापामा घरेलु मदिरा नियन्त्रण गर्ने निर्णय ग¥यो । सोही निर्णय अनुसार गत माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गरियो ।

झापाका राजनीतिक दल, उद्यमी, व्यवसायी, स्थानीय सरकार प्रमुख तथा प्रशासनको सहमतिमा कात्तिक ७ गते आन्तरिक राजश्व कार्यालयले यो अभियानको शंखघोष गरेको थियो । राजश्व कार्यालयका प्रमुख बोलराज आचार्यले तीन चार महिना भित्रै झापालाई मदिरा निषेधित जिल्ला नै बनाउने अभियानको लक्ष्य रहेको भन्दै गरेको उद्घोषमा प्रहरी उपरीक्षक ढकाल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दलका प्रतिनिधि र जनप्रतिनिधि समेतले हस्ताक्षर गर्दै अभियानलाई पूर्ण रुपमा प्रभावकारी बनाउने प्रतिवद्धता जाहेर गरे ।

अपराधको मूल कारण मदिरा रहेको र मदिरा नियन्त्रण नभएसम्म अपराध नरोकिने भन्दै जिल्लामा घटेका अपराधका तथ्याङ्क प्रस्तुत गर्दै तत्कालीन प्रहरी उपरीक्षक ढकालले घरेलु मदिरा बेचविखनमा पूर्ण रुपमा बन्देज गरेको घोषणा गरेका थिए । घरेलु मदिरा नियन्त्रण ऐन २०३१ले नै घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाएपनि पछिल्लोपटक प्रहरीले शुरु गरेको अभियानले प्रभावकारिता पाउने धेरैले विश्वास लिएका थिए । तर, प्रहरी उपरीक्षक ढकालले शुरु गरेको अभियान उनी वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएर काठमाडौं सरुवा भएसँगै अभियान नारामै सीमित बन्न पुग्यो ।

अन्तःशुल्क छलेर मदिराको अवैध कारोवार हँुदै आएको झापामा यो अभियान शुरु भएसँगै अन्तःशुल्कको नक्कली स्टिकर टाँस गरेको समेत फेला परेको थियो । घरेलु मदिरामा भारतमा निर्मित मदिराका स्टिकर टाँसेर बजारमा छ्याप्छ्याप्ती नक्कली मदिरा भेटिनु र मदिराको अवैध कारोवार रोक्नुमा अभियानले सहयोग पु¥याए पनि अभियानलाई निरन्तरता नदिँदा अहिलेपनि भारतबाट लुकाइछिपाइ ल्याएर स्टीकर टाँस्दै खुलेआम नक्कली रक्सीको बेचबिखन भइरहेको छ ।

श्रोतका अनुसार झापाको काँकरभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, शनिश्चरे, सुरुङ्गा, झिलझिले, दमकमा यस्तो रक्सीको खुलेआम कारोवार भइरहेको छ । अझ ग्रामीण क्षेत्रमा त महिलाले घरेलु मदिरा उत्पादन र विक्री बितरणबाटै वर्षाैंदेखि जीवीकोपार्जन गर्दै आएका छन् ।

घरेलु मदिरामा अधिकांश स्पीरिड नामको केमिकल प्रयोग गर्ने गरेका छन् । त्यो पनि भारतबाट अवैध रूपमा आयात गरिन्छ । नक्कली मदिराको बढ्दो प्रयोग र बिक्री वितरणका कारण राज्यले वार्षिक करोडौं रुपैयाँ राजश्व गुमाउँदै आएको छ । यसतर्फ नियमनकारी निकायले अहिलेसम्म कुनै चासो दिएको छैन ।

योसंगै प्रहरीले झापामा यौनजन्य अपराधका घटनामा बृद्धि भएको भन्दै महिलामाथि हुने यस्ता अपराधका घटना रोक्न विशेष सुरक्षा रणनीति बनाएको थियो । जसका लागि जिल्लाका विभिन्न स्थानमा २ सय ३५ प्रहरी परिचालन गरिएको थियो ।

पछिल्लो समय दिनप्रतिदिन बालिकादेखि वृद्धासम्म यौनजन्य अपराधका कारण पीडित बन्दै गएको भन्दै प्रहरीले त्यस्ता अपराधका घटना न्यूनीकरणका लागि अभियान शुरु गरे पनि सो अभियान समेत अहिले नारामा मात्रै सीमित छ ।

टोलीले यौनजन्य अपराधका घटना र यसको कारकतत्वको खबर संकलन गरी विश्लेषण गर्ने, यौनजन्य घटना घटाउने अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिलाउने, विशेष सुरक्षा परिचालनमार्फत पीडितका आफन्त र आम नागरिकमा सुरक्षाको थप अनुभूति दिने लगायतका उद्देश्यले यो अभियान पनि तत्कालीन प्रहरी उपरीक्षक ढकालले नै शुरु गरेका थिए । जसका लागि सादा पोशाकमा ५०, मोटरसाइकल गस्तीमा एक सय जना, तलासी लिने टोलीमा ३५ जना, पैदल गस्तीमा ३५ र अनुसन्धान टोलीमा १५ जना प्रहरी परिचालन गरिएको थियो ।

त्यस्तै पीडितको साथी प्रहरी जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको अर्काे अभियान हो । यो अभियान गत वर्ष असोज १५ गतेबाट शुरु भएको थियो । अभियान अन्तर्गत प्रहरीले आएका गुनासालाई छिटो भन्दा छिटो समाधान गर्दै पीडितलाई न्याय दिने उद्देश्य राखिएको थियो । जसका लागि जिल्लाका ५४ वटा युनिटमा एकै साथ पीडितको साथी कार्यक्रम लागू गरिएको थियो । तर, उक्त कार्यक्रम समेत सफल हुन सकेन ।

पछिल्लो समय झापामा एक पछि अर्काे गर्दै अपराधका घटना मौलाई रहँदा समेत झापा प्रहरीले प्रभावकारी रुपमा शान्ति सुरक्षाको बन्दोवस्त मिलाउन नसकेको बताइएको छ । जसका कारण जिल्लाको शान्ति सुरक्षा प्रति नै स्थानीयले शंका गर्न शुरु गरेका छन् ।

प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार हुनु, सुरक्षार्थ खटिएका प्रहरीले नै हतियार हराउनु, कारागारबाट कैदी फरार हुनु, हिरासत कक्षमै झुण्डिएर आत्महत्या गर्नु र आत्महत्याको प्रयास हुनु, प्रहरी चौकी नजिकैको वडा कार्यालयमा वम विष्फोट हुनु जस्ता घटनाले समेत प्रहरीले जन विश्वास गुमाउँदै आएको छ ।

सात महिना अघि झापाको भद्रपुर–९ मा रहेको मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । पर्शुराम अग्रवालले सञ्चालन गरेको सो उद्योगका म्यानेजर भारत घर भएका कमल दुगडको हत्या भएको यतिका समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

२०७५ साउनमा झापा कारागारमा रहेका एक कैदी फरार भए । फरार कैदीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी कारागारमा बिजुली मर्मतको काम गर्दै आएका थिए । १४ वर्षीया बालिका करणीको आरोपमा जेल परेका उनी बिजुली मर्मतकै क्रममा दिउँसै फरार हुँदा समेत प्रहरीले सुइँकोसम्म पाएन । उनी फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतको नेतृत्वमा छानविन समिति बन्यो तर, सो समिति समितिमै सीमित भयो ।

कारागारको सुरक्षार्थ खटिएका एक प्रहरीले १४ राउण्ड गोलीसहित इटलियन पेस्तोल हराउँदा समेत अहिले झापा प्रहरी मौन छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायव निरीक्षक नरेश आचार्य विदामा रहेका बेला हतियार हराएको हो । आचार्य विदामा रहेका वेला प्रहरी सहायक निरीक्षक ंहिरण सिंहलाई कारागारको नेतृत्व प्रदान गरिएको थियो ।
कारागार सुरक्षार्थ खटिएको प्रहरीले हतियार हराएपछि प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनाइएको थियो तरसो समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

गत असोजमा इलाका प्रहरी कार्यालय अनारमनीको दुई सय मिटर परिसरभित्रै एक गहना पसलमा पेस्तोल देखाएर दिउँसो ३ बजे लुटपाट भयो । लुटपाटमा सम्लग्न सीसी क्यामेराको निगरानीमा परे । तर, गहना पसल लुट्ने लुटेरालाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । योसँगै बिर्तामोडमा रहेको एनएमवी बैंकबाट १७ लाख रुपैयाँ दिउँसै लुटियो ।

गत कात्तिक ११ गते दिउँसो ताप्लेजुङ याम्फुदिन–१का शेरवहादुर गुरुङले बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा १६ लाख ९९ हजार रुपैयाँसहितको झोला लिएर लुटेरा समूह फरार भएको थियो । त्यसको समेत अहिलेसम्म प्रहरीले अत्तोपत्तो लगाउन सकेको छैन । रकम लुटेर भाग्ने व्यक्ति सीसी क्यामेराको फुटेजमा देखिन्छ तर, प्रहरीले अहिलेसम्म लुटपाटमा सम्लग्नलाई फक्राउ गर्न असफल हुनुले झापामा सुरक्षा चुनौति बढेको प्रष्ट हुन्छ ।

एक पछि अर्काे गर्दै लुटेरा समूहले बैंक तथा बित्तीय संस्था लुट्दा समेत प्रहरीले सुरक्षा रणनीति परिर्वतन नगर्दा झापाको घैलाडुब्बामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट पनि गतअसार महिनामा मात्रै १८ लाख ८० हजार रुपैयाँ चोरी भयो । एनएमसीको सेफ नै तोडेर दुई व्यक्तिले रकम चोरी गरेको सीसी क्यामेरामा देखिए पनि चोरीमा सम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

यता गत असारमै बिर्तामोडस्थित अतिथि सदन नजिकैबाट एक बालिका अपहरणमा परिन् । अपहरणकारीले ८ वर्षीया बालिकालाई अपहरण गरी सीटी सफारीमा लगे । बालिकालाई अपहरण गर्दाको सीसी क्यामेराको फुटेज अनुसार बिनायक होटल नजिकैबाट ती बालिकालाई पश्चिम बर्सपाकतर्फ लाँदै गरेको दृश्य प्रष्ट देखिन्छ । तर, अपहरणमा सम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बालिका भने सोही दिन अपहरणकारीको पञ्जाबाट फुत्किएर घर फर्किएकी थिइन् ।

त्यस्तै शिवसताक्षी नगरपालिकामा भएको आगलागीमा परी परिवारका चारैजनाले ज्यान गुमाए । सो घटना अहिलेसम्म रहस्यमय छ । कतिपयले सो घटना नियोजित रुपले घटाएको भने पनि प्रहरीले त्यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन ।

झापामा घटेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । एक पछि अर्काे गर्दै झापामा अपराधका घटना दिनहुँ घटिरहेपनि जिल्ला प्रहरी कार्यालय झापा भने शान्ति सुरक्षामा भन्दा कमाउ धन्दामा लागेको बताइएको छ । प्रहरी स्रोत भन्छ– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले तस्करसँग साँठगाँठ गर्दै लाइन मिलाउने काम गरिरहेका छन् । उनले प्रहरी चौकीदेखि तस्करबाट समेत अवैध असुली गरिरहेका छन् ।

यता विशेष परिस्थितिमा बाहेक घुमुवा प्रहरी राख्न नपाइने प्रहरी ऐनमा नै व्यवस्था छ । तर, जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी ऐन विपरीत घुमुवा प्रहरी राखेको छ । झापामा रहेका घुमुवा प्रहरीले अहिले अबैध असुली गरिरहेका छन् । होटलदेखि तस्करसम्म खुलेआम अवैध रकम असुल्दा समेत रमिते बनेको जिल्ला प्रहरी कार्यालय झापाले भने अपराध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको बताउँदै आएको छ ।

जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीले झापा प्रहरीले पछिल्लो समय अपराध नियन्त्रणमा ठूलो फड्को मारेको र आचरण बिपरीत काम गर्ने प्रहरीलाई समेत कारवाही गरेको बताएका छन् । तर, उनकै संरक्षणमा तस्करी हुँदा कतिपयले भने नाङ्लो ठटाएर हात्ती तर्साएको भन्दै आएका छन् ।

यता नेत्रबिक्रम चन्द बिप्लव समूहले पनि झापामा श्रृङ्खलाबद्ध बम विष्फोट गराउनुले झापामा झापामा सुरक्षा चुनौति बढेको प्रष्ट हुन्छ । पछिल्लो समय बितामोड नगरपालिका– ७, ८ र ९को संयुक्त वडा कार्यालयमा बम बिष्फोट गराउने विप्लव नेतृत्वको नेकपा समूहको सुइँकोसम्म नपाउनुले झापा प्रहरीको कार्यसम्पादन माथि नै प्रश्न उठेको छ ।

प्रहरीको चौतर्फी आलोचना पछि बिप्लव समूहका भनिएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान शुरु गरेको छ । प्रहरीले वम विष्फोट गराएको आरोपमा अर्जुनधाराका ५० वर्षीय प्रेम चापागाँईलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here