झापा,सरकारले असार देखि भदौसम्म तीन महिना नदीजन्य सामग्रीको उत्खनन्मा रोक लगाएको भएपनि नेपाल भारत सीमामा पर्ने मेची र तिरिङ नदीको चरम दोहन भइरहेको पाइएको छ ।
सरकारी बन्देजको बेवास्ता गर्दै इलाम र झापाको सिमानामा पर्ने यी नदीबाट दैनिक सयौँ ट्याक्टर ढुङ्गा उत्खनन् र ओसारपसार भइरहेको भएपनि स्थानीय सरकार र प्रशासन बेखबर छन् । झापाको मेचीनगर नगरपालिका– १ तिरिङका स्थानीय तस्करले इलामको रोङ गाँउपालिका वडानम्बर ६ दुधेचौरी क्षेत्रबाट दैनिक एक सय भन्दा बढी ट्याक्टरमा ढुङ्गा उत्खनन् गर्दै आएका छन् ।
उनिहरुले उक्त ढुङ्गा स्थानीय तिरिङखोला बगरमा भण्डारण गर्दै आएका छन् । मेचीनदीको ढुङ्गा उत्खनन्का लागि स्काभेटर समेत प्रयोग गर्दै आएका छन् । अबैध उत्खनन् गरीएका हजारौ घनमिटर ढुङ्गा बगरमा भण्डारण गरिएको भएपनि सम्बन्धित निकाय मौन बस्नुले आशंका उब्जिएको स्थानीयको भनाई छ । वर्षैदेखि तिरिङ, मेची लगायतका नदीहरुमा उत्खनन् हुर्दै आएको स्थानीय अर्जुन कार्कीले बताए । बर्षभरी नै सम्बन्धित निकायबाट अनुमती नलिई यसरी नै नदि उत्खनन् गदै आएको स्थानीय बताउँछन् । तस्करले खोलामा स्काभेटरै प्रयोग गरेर ढुङ्गा निकालेकाले मेची नदिको नेपालतर्फको भाग गहिरो भई कटान समेत बढेको स्थानीयको भनाई छ ।
माथिको तस्बीर न्यूज २४ टेलिभिजनको अनलाईनबाट लिइएको हो ।
तिरिङ क्षेत्रमा मात्रै २० भन्दा बढी युवाको पेशा नै ढुङ्गा तस्करी रहेको स्थानीय बताँछन् । रोङ—६ इलामका भक्तबहादुर राईले तिरिङ खोलाको ढुङ्गा सबै बेचिसके पछी बिगत चार वर्ष अघिबाट मेचीको ढुङ्गा उत्खनन् गर्न थालेको बताए । उत्खनन्का कारण इलामको पाटापुर, झापाको तल्लो पाटापुर र तिरिङ क्षेत्र कटानको जोखिममा परेको स्थानीयको भनाई छ । मेचीनगर—१ का ओम पुरीले अवैध रुपमा हुने खोला दोहन भइरहेको बताए । तस्करहरुले अवैध रुपमा नदी जन्य वस्तुको तस्करीगर्दा समेत सम्बन्धित निकाय भने मौन रहेको बताए ।
यता मेचीनगर—१का वडाध्यक्ष पासाङ तामाङले तस्करी रोक्न प्रहरी प्रशासन चनाखो हुनुपर्नेधारणा ब्यक्त गरे । अवैध उत्खनन् गरी भण्डारण गरिएका ढुङ्गा नदिको प्रतिवन्ध हटेपछि महंगो मुल्यमा ठेकेदारलाई बिक्री गर्दै आएका छन् । ढुङगा उत्खनन् र तस्करीमा प्रयोग गर्ने उद्धेश्यले तिरिङमा मात्रै ५० भन्दा बढी ट्याक्टर रहेका छन् । भारततर्फ समेत नदी उत्खनन् यतिबेला बन्द रहेको छ ।
प्रतिबन्धको समयमा नेपाल तर्फ उत्खनन् हुदाँ नदीको नेपाल तर्फको भाग गहिरीदैं गएको छ । यसले नेपाल तर्फको भू–भाग कटानको खतरा बढेको स्थानीयले बताएका छन् ।





























