गौरादह।
गौरादह–९ बैगुन्धुरामा चैते धान लगाएका किसानहरुका नाममा निकासा भएको रकम बितरण कार्यमा अनियमितता भएको खुलासा भएको छ ।
कृषि ज्ञान केन्द्र भद्रपुर झापाबाट कन्काई नहर जल उपभोक्ता संस्थामार्फत सो क्षेत्रका किसानहरुलाई अनुदान बापत २० लाख ३१ हजार रुपैयाँ कर कट्टी गरी निकासा भएको थियो । कन्काई नहर जल उपभोक्ता संस्थाले नेपाल सरकारबाट किसानहरुको लागि निकासा भएको रकम किसानहरुसम्म ल्याई पु¥याउन संस्थाले किसानहरुको धनीपुर्जा र नागरिकताको प्रतिलिपि लिएको थियो ।
किसानहरुलाई कुनै प्रकारको जानकारी नदिई आवश्यक कागजात लिएर सम्बन्धित निकायमा पेश गरी रकम निकासा गराई भर्पाई अनुसार रकम नदिई कम रकम बुझेको किसानहरुले गुनासो गरेका छन् ।
चैते धान अनुदान रकम वितरण गर्न संस्थाले सो क्षेत्रमा नहर जल उपभोक्ता संस्थाको शाखा नं. १६देखि २१ सम्म जम्मा १० वटा क्लस्टर कायम गरेको थियो । जस अन्तर्गत शाखा नं. १६मा २वटा, १८ मा ४ वटा १९मा २ वटा र २१मा २ वटा क्लस्टर कायम गरी प्रत्येक क्लस्टरमा बढीमा ३० किसान पर्ने गरी क्लस्टर कायम गरेको थियो ।
कन्काई सिञ्चाई जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले किसानहरुसँग आवश्यक कागजात लिँदा कुन कामको लागि मागिएको हो ? किन मागिएको हो ? सो समयमा केही नखुलाएको र अन्तिम समयमा पैसा मात्र बुझाएका छन् । तर, कति पैसा पाउने हो ? कहाँबाट आएको त्यो भने आफूहरुलाई थाह नभएको किसानहरुले बताए ।
गौरादह नगरपालिका वार्ड नं. ९ वडा अध्यक्ष सीताराम भट्टाराईले किसानका लागि आएको रकममा अनियमितता गर्ने जोसुकैलाई पनि कानूनी कारवाही गरिनुपर्ने बताउँदै कृषि ज्ञान केन्द्रले वडा कार्यालयसंग समन्वय नगरी आफूखुशी रकम संस्थालाई जिम्मा दिई रकम निकासा गराएको र किसानले रकम पाए नपाएको अनुगमन समेत नगरेको जानकारी गराए । वडा नं. ९की तत्कालीन कार्यवाहक अध्यक्ष यमकुमारी प्रधानले नहरको क्लस्टर निर्धारणका लागि सिफारिस लिन आएकाले आफूले दिएको सिफारिस दिएको जानकारी दिइन् ।
नहरको शाखा नं. १८ क्लस्टरकी सरस्वती वस्नेतले ४ हजार ९ सय २५को भर्पाईमा सही गरेपनि २ हजार ३ सय पच्चीस मात्र बुझेको बताइन् । त्यस्तै सोही क्लस्टरकी मेनुका भट्टराईले ६ हजार ६ सय ६६को भर्पाईमा हस्ताक्षर गरे पनि ४ हजार ७ सय बुझेको बताइन् । त्यस्तै १ विगाहा खेती गरेकी सारथी मिस्त्रीले ६ हजार ६ सय ६६ रुपैयाँ पाउनुपर्नेमा १२ सय मात्र पाएको गुनासो गरिन् ।
किसानहरुले भर्पाई गरेको कागजात कृषि ज्ञान केन्द्रबाट लिएर किसानको घर आँगनमा पुगी बुझेको रकमको बारेमा जानकारी लिँदा कम रकम पाएको स्थानीय लीला राईले बताइन् ।
कृषि ज्ञान केन्द्रमा पेश गरेको रकमको भर्पाई र किसानहरुले बुझेको रकम फरक पर्न गएपछि यस कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै सम्बन्धित निकायमा जान पहल गर्ने उनले बताइन् । कन्काई नहर जल उपभोक्ता संस्था अध्यक्ष कमल भण्डारीले कृषि ज्ञान केन्द्रको नियम अनुसार नै संस्थाले किसानहरूलाई अनुदान रकम वितरण गरेको बताए ।





























