ओझेलमा गौशाला, दाता खोजिँदै

0
583

भद्रपुर।

देशकै जेठो गौशालाका रुपमा भद्रपुर गौशाला (गौ–धाम) लाई चिनिन्छ । गौ प्रेमी केही दाता, सामाजिक व्यक्तित्व र उद्योगीहरूको प्रयासमा भद्रपुर–५स्थित नयाँ बजारमा स्थापना गरिएको भद्रपुर गौशाला अहिले स्तोरन्नतिको पर्खाइमा छ ।

वार्षिक करिब ३४ लाख खर्च हुने यस गौशालाको आम्दानी वार्षिक १८ लाख मात्र हुन्छ । बाँकी १६ लाख चन्दा र दाताको सहयोगमा धान्दै आइरहेको गौशाला व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईँले जानकारी दिएका छन् । राष्ट्रिय जनावर गाईको संरक्षण र प्रवद्र्धनका लागि राज्य संयन्त्रले खासै चासो नदेखाउँदा भद्रपुर गौशाला ओझेलमा परेको सदस्य तथा दाताहरू बताउँछन् ।

यसरी भयो गौशालाको स्थापना

वि.सं. २००८ सालमा भद्रपुर नगरपालिका कार्यालयको स्थापना भएसँगै नगरमा स्वच्छ र शुद्ध दूध पिउने तथा गौ माताको संरक्षण गर्ने उद्देश्यले केही दाता, सामाजिक व्यक्तित्व र उद्योगीको प्रयासमा वि.सं. २००९ सालमा भद्रपुर गौशालाको स्थापना भएको हो । विशेष गरी भद्रपुरका स्थानीय भवानीशङ्कर मित्रुका, मुक्तिध्वज जोशी र जनार्दन शर्माले भद्रपुर गौशालाको परिकल्पना लिएर अघि बढेपछि करिब साढे ११ कठ्ठा जमिनमा गौशाला स्थापना गरिएको थियो ।

मित्रुकाले गौशालाको नाममा २५ बिगाह, जोशीले ३ बिगाह र शर्माले साढे तीन कठ्ठा जग्गा दान गरेका थिए । गौशालामा हालमा दुई वटा गौ आवास भवन, पराल भण्डार, कार्यालय भवन, दिव्य श्री गणेश(कृष्ण भगवान)को मूर्ति, छात्रावास, अध्ययन कक्ष लगायतका संरचना रहेको छ । वि.सं. २०५९ साल जेठ ८ गते भद्रपुरका बयोवृद्ध लादुराम अग्रवालले एउटा गौ–आवासको भवन निर्माण गरिदिएका थिए ।

त्यस्तै गौ प्रेमी स्वर्गीय तोलराम दुगढले २०६२ कात्तिक २४ गते एउटा गौ–आवास गृह, पराल भण्डार र कार्यालय भवनको स्थापना गरिदिएका थिए । अहिले गौशालामा गौ चराउने जमिन नहुँदा गौशाला अगाडि रहेको धनजुजु श्रेष्ठको जमिनलाई घेराबारी गरी गौ चराउने स्थान बनाउन खोजिएको गौशालाका अध्यक्ष चापागाईँ बताउँछन् ।

आम्दानीले धान्नै मुस्किल

गौशालाको नाममा करिब साढे ३१ बिगाह जमिन छ । आम्दानीको स्रोत केही नभएपछि समितिले त्यसमध्ये करिब १७ विगाह जमिन कृषि र पशुपालनका लागि भद्रपुर कृषि समूहलाई लिजमा दिएको गौशालाका सदस्य सुबोध कोठारीले जानकारी दिए । चालू आर्थिक वर्ष २०७६÷०७७ का लागि समितिले ३३ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

गौशालाबाट उत्सर्जन् हुने गौमुत्र, गोबर, दूध र जमिनबाट वार्षिक करिब १८ लाख रुपैयाँ आम्दानी हुने गरेको समितिका कोषाध्यक्ष दिलीप वंशलले जानकारी दिए । ‘बाँकी रकम चन्दा र दाताको सहयोगमा जुटाउनु पर्ने हुन्छ’– कोषाध्यक्ष वंशलले भने– ‘आम्दानीको स्रोत हुँदाहुँदै पनि गौशाला धान्नै मुस्किल भइरहेको छ, सरकारी स्तरबाट सहयोग नआउँदा दाताहरूसँग हात फैलाउनु पर्ने बाध्यता छ ।’

गौशालालाई बचाउन भारतको दिल्ली र वृन्दावनबाट १२ थान गाई निःशुल्क ल्याएर उन्नत जातका गाई राखिएको समितिका अध्यक्ष चापागाईँको भनाइ छ । हाल गौशालामा दुई नन्दी र बाछाबाछी तथा यहाँका रैथाने गरी ७१ थान गौ रहेको उनले बताए ।

पशु तस्करले भारत लैजाँदै गरेका गाईगोरुहरु प्रहरीले बरामद गरी भद्रपुर गौशालालाई बुझाउने गर्छ– अध्यक्ष चापागाईँले भने– ‘गौ चरन र गौ आवास नहुँदा प्रहरीले ल्याएका ती गाईगोरुलाई झापाकै शिवसताक्षी नगरपालिकामा रहेको गौधाममा समिति कै खर्चबाट पठाउनुपर्ने अर्को बाध्यता छ ।’

गौशालाबाट उत्सर्जन् भएको सामान र दूध नगर क्षेत्रमा नै खपत हुँदै आइरहेको उनको भनाइ छ । हाल ४२ लिटर दूध सङ्कलन हुँदै आएको गौशालामा अबको केही महिनापछि ७५ लिटर दूध संकलन हुने लक्ष्य लिएको उनले बताए ।

होलस्टेन र जर्सीगाईलाई घटाउँदै उन्नत जातका गाई राख्दै जाने सदस्य कोठारीले थपे । गौशालाको सञ्चालनका निम्ति भद्रपुर छाडेर नेपालका अन्य जिल्लामा बसोबास गर्दै आइरहेका दाता तथा भारतका दाताहरूले वार्षिक रूपमा सहयोग गर्दै आइरहेको उनले बताए ।

गौशालालाई नगद सहयोग जुट्दै

गौशालालाई थप व्यवस्थित बनाउन भद्रपुर–७ निवासी विदुर ढुगांनाको पहलमा दुई लाख एक हजार रुपैयाँ नगद प्राप्त भएको छ ।

पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघ भैरहवाले १ लाख ५१ हजार र गौ–प्रेमी मनिष रुङ्गटाले नगद ५० हजार उपलब्ध गराएपछि ढुङ्गानाले गौशालामै पुगेर समितिका पदाधिकारीहरूलाई सो रकम हस्तान्तरण गरेका थिए ।

दाताबाट प्राप्त भएको सो रकमबाट गौशालाभित्र झिँगा र कागबाट गाईगोरुलाई सुरक्षित राख्न तार जाली बनाउनुका साथै गौशाला अगाडिको जमिन पुग्ने नालामाथि फलामको पुल बनाइने समितिका अध्यक्ष चापागार्इँले बताए ।

गौ धामप्रति आस्था र विश्वास राख्ने व्यक्तिले पनि सहयोग गरिदिनुहुन उनले सबै समक्ष अपिल समेत गरेका छन् ।

नया समिति गठन

गौशालाको स्तरोन्नतिसँगै व्यवस्थापनको पाटोलाई चुस्त दुरुस्त बनाउन नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । गौशालाको साधारणसभाले राजेन्द्र चापागाईँको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नन्दकिशोर सरावगी, सचिव सत्यनारायण तायल, सहसचिव रिता सुवेदी (दाहाल) कोषाध्यक्ष दिलीप बंशल, सदस्यहरुमा बिनोदकुमार मित्तल, बिनयकुमार गोयल, अजय साहेवाला, सुरेश सरिया, पारसनाथ यादव र रमेश चन्द झा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here