दमक।
राष्ट्र सङ्घीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर) को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भुटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।
युएनएचसीआरले सन् २०२०को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ ।
झापाको पूर्वी नाका काँकरभिट्टा हँुदै नेपाली मूलका भुटानी भुटानबाट नेपालमा खेदिएकोमा तत्कालीन सरकारले सन् १९९२मा राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो ।
आयोगको उपशाखा उठ्ने क्रममा भुटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा (अर्धस्थायी घर) बनाउने क्रम तीव्र पारिएको छ । उपशाखा हट्ने भएपछि शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि बनाउँदै लगिएको छ ।
पुनर्वासमा तेस्रो देश लैजाने क्रम सन् २०१८को डिसेम्बरमा बन्द भएपछि हाल दुवै शरणार्थी शिविरमा छ हजार पाँच सय भुटानी शरणार्थी छन् । शिविरमा बाँकी रहेका शरणार्थीको बसाइ केही लम्बिने भएपछि युएनएचसीआरले उनीहरूका लागि अर्धस्थायी प्रकृतिका छाप्रा बनाउन थालेको हो ।
यसअघि शिविरका एक लाख १३ हजार ५०० शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया, नेदरल्याण्ड, नर्बे, न्यूजील्याण्ड, डेनमार्क र बेलायतमा पुनर्वास भएका थिए ।































