झापाको भद्रपुरस्थित गौशाला सम्भवतः देशकै पुरानो मध्ये एक हो । वैदिक सनातन संस्कृतिमा गाईलाई पशुहरुमध्ये सर्वोच्च मानिन्छ र गाईको सेवा र पूजालाई परमार्थ प्राप्तिको ठूलो आधार मानिन्छ । त्यही मान्यताका अनुचरहरुको जनसंख्या सर्वाधिक रहेका कारण गाईलाई राष्ट्रिय जनावरको रुपमा स्वीकार गर्दै गौसंरक्षणको कार्यलाई महत्व दिँदै आइएको छ । झापाको पछिल्लो नगरपालिका भएका कारण भद्रपुर भौतिक, आर्थिक तथा साहित्यिक सांस्कृतिक रुपमा समृमद्ध थियो कुनै दिन । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माण र सञ्चालन पछि क्रमशः ओझेलमा पर्दै आएको भद्रपुर अझै पनि ‘हिङ बाँधेको टालो’ झैं छुट्टै अस्तित्वमा छ ।
नेपालका स्थापना भए लगत्तै अर्थात् सत्सठ्ठी वर्षअघि वडा नं. पाँचमा स्थानीय अगुवा र सचेत नागरिकको अगुवाईमा स्थापित भयो गौशाला । स्थानीय अग्रज भवानीशंकर मित्रुका मुक्तिध्वज जोशी र जनार्दन शर्माको परिकल्पना र अगुवाईमा एघार कठ्ठा जग्गामा निर्माण तथा शुभारम्भ गरिएको गौशालाका लागि फेरि मित्रुकाले पच्चीस विगाह, जोशीले तीन विगाह र शर्माले साढे तीन कठ्ठा जग्गा प्रदान गरेर व्यवस्थित गरे । तदन्तर भद्रपुरका सहयोगी एवम् धर्मप्राण व्यक्तिहरुले गौशालाका लागि आवश्यक पूर्वाधारहरु थप्दै जुटाउँदै सञ्चालन गरेको गौशाला अहिले स्तरोन्नतिको प्रतिक्षामा छ ।
त्यसो त पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पति एकअर्काका परिपूरक हुन्छन् र छन् । कुनै एक जातिको लोप हुनासाथ अर्को कुनै जातिलाई असर पर्ने भएकाले सबैको अस्तित्वलाई स्वीकार्न र संरक्षण गर्न आजको वातावरण विज्ञानले सुझाव दिएको छ । त्यसमाथि गाई जन्मेदेखि मृत्यु पर्यन्तका लागि जीवन तथा मोक्षदायिनी हुने भएकाले यसको संरक्षण, सेवा र व्यवस्थापन हामी मानिसका लागि मात्र होइन सम्पूर्ण पृथ्वीको जीवनसँग अत्यन्त महत्वको रहेको छ ।
अहिले झापाको कृषि कर्ममा आधुनिकताले अतिक्रमण गरेका ेछ । खेती गर्ने परम्परागत प्रविधि विस्थापित भएको छ । गोरुले हलो जोत्नु नपर्ने भएका कारणले गौपालन अहिले नेपाल कृषकको सहायक पेशा रहेको छैन । अझ चरिचरन क्षेत्र मासिँदै गएक कारण गौपालन कर्म नै घट्दै हराउने अवस्थामा पुगेको छ । बढ्दो बजारी र शहरीकरणले बालक, युवा, सबै आयातित बट्टाबन्द वस्तुको प्रयोगमा मरिहत्ते गर्दैछन् । गाई पाल्नु, गोबर सोहर्नु, घाँस काट्नु जस्ता गौ सेवासँग सम्बन्धित कार्य ‘एकादेशको कथा’ बनिएको छ । त्यहीकारण रासायनिक वस्तुको मिश्रणबाट निर्मित सुरक्षित दूधमा बानी पर्दैछन् आजका मानिस ।
मिसावटयुक्त, अखाद्य वस्तु समेतको योग भएको डेरी र डेरीजन्य उत्पादनले हाम्रो समाजलाई थिच्दै लगेको छ । यस्तोमा भद्रपुर गौशालाले गाईको संरक्षणमा गर्दै आएको सेवा स्तुत्य छ । अझ त्यसको संरक्षण र सञ्चालनमा योग गर्ने अगुवाहरुको सेवा झनै उदाहरणी छ । त्यसैले पनि परम्परादेखि आधुनिकतासम्मका लागि अमृत सरह ठानिने दूधको सम्मान गर्न सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नु आफ्नै हितमा हुन्छ ।




























