महेन्द्रज्योतिमा शुद्ध खानेपानी

0
832

बिर्तामोड।

बिर्तामोड नगरपालिका–१० सैनिकबजारस्थित महेन्द्रज्योति माविमा अध्ययनरत् विद्यार्थीहरुले शुद्ध खानेपानीको उपभोग गर्न पाउने भएका छन् ।

स्व. धनशेर सुब्बा तथा शान्ति सुब्बाको पुण्य स्मृतिमा बेलायत निवासी छोरा महेशकुमार सुब्बा, छोरी शशी लिम्बू तथा नातिनी चेतना थापाले रु. दुई लाख ८५ हजारको लागतमा शुद्ध खानेपानी ट्यांकी निर्माण गरिदिएपछि विद्यार्थीहरुले शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

उक्त खानेपानी ट्यांकी दाता परिवारको तर्फबाट नरेश सुब्बा तथा किरण सुब्बाले विद्यालयलाई हस्तान्तरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा दाता नरेश सुब्बाले शुद्ध पिउने पानी व्यवस्थापनमा विद्यालयलाई सहयोग पुगोस् भनेर आफ्नो परिवारले सहयोग गरेको बताए । उनले आफूहरुले प्रदान गरेको सामग्रीको सदुपयोग र संरक्षण गरे मात्र दाताको सम्मान हुने बताए ।

उक्त दाता परिवारले यसअघि विद्यालयमा रु. दुई लाखको धन–शान्ति अक्षयकोष स्थापना, विद्यालयको प्रवेशद्वार निर्माण, प्रोजेक्टर प्रदान गरिनुको साथै विद्यालयलाई थुप्रै सहयोग गरिसकेको शिक्षक तथा दाता परिवारकी सदस्य लोकमाया आङ्बोले जानकारी दिइन् ।

सहायक प्रधानाध्यापक जयकुमार झाले स्वागत गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रत्नबहादुर बस्नेत, वडा सदस्य अर्जुन सिटौला, पूर्व प्रधानाध्यापक मखनबहादुर गुरुङ, बसन्त वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपनारायण मुखिया, सैनिक सेवा समाजकी अध्यक्ष मनु मुखिया, शीतला कृषि सहकारीका उपाध्यक्ष भोलानाथ पौड्याल, पूर्व शिक्षक टेकबहादुर देवान, गौरीप्रसाद घिमिरे, देवीप्रसाद दंगाल लगायतले दाताले गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक वीरेन्द्र कडरियाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here