१८ वर्षपछि फेरि श्रीकृष्ण रथ

0
431

भद्रपुर।

भद्रपुरको काठको पाङ्ग्रा भएको जीर्ण रथ १८ वर्षपछि फेरिएको छ । १७ वर्षदेखि झापाको सदरमुकाम भद्रपुरमा मनाइँदै आएको भगवान् श्री कृष्ण रथयात्राको व्यवस्थापकीय जिम्मेवारी यस वर्षदेखि भद्रपुर नगरपालिकाले लिएसँगै जीर्ण रथ फेरिएको हो ।

नगरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रालाई भव्य बनाउने उद्देश्यले नगरपालिकाले नयाँ रथ बनाएको हो । टायरको पाङ्ग्रासहित फलामले बनाइएको नयाँ रथ बुधवार बिहान भारतको शिलगढीबाट ल्याएको श्रीकृष्ण रथयात्रा मूल आयोजक समितिका अध्यक्ष देवु घिमिरेले बताए ।

नगरका धार्मिक व्यक्तित्व, समाजसेवी, नगरवासी, उद्योगी, व्यापारी र राजनीतिक दलको प्रयासमा बसन्त तुलाधरको अध्यक्षतामा समिति गठन गरी वि.सं. २०५९ सालमा काठको पाङ्ग्रा भएको रथ बनाएर भद्रपुरमा पहिलोपटक रथयात्रा शुरु गरेको इतिहास छ । एक लाख एक हजार चन्दा सङ्कलन गरी शुरुवात गरिएको रथ जीर्ण बनेपछि समितिले हरेक वर्ष सोही रथलाई मर्मत सम्भार गरी सञ्चालन गर्दै आइरहेको थियो ।

‘जीर्ण बनेको रथ काम नलाग्ने र बनाउँदा पनि बढी खर्च लाग्ने भएपछि नगरपालिकाको सहयोगमा नयाँ रथ बनाइएको हो’– अध्यक्ष घिमिरेले भने । ‘नयाँ रथ बनाउनका लागि नगरपालिकाले गत आर्थिक वर्षमै १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो, नेपालमा रथ बनाउन खर्च बढी लाग्ने भएपछि भारतको शिलगढीमा बनाएको हो’– उनले भने– ‘रथ बनाउनदेखि यहाँसम्म ल्याइ पु¥याउनसम्म ८ लाख ५१ हजार ५ सय ५२ रुपैयाँ खर्च भएको छ ।’ शुक्रवार मनाइने श्रीकृष्ण जन्माष्टमीका दिन भद्रपुर–५स्थित लक्ष्मीनारायण मन्दिरमा बालबालिकाले विभिन्न देवीदेवताको भेषभुषामा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

भद्रपुरमा सो दिन बेलुका बृहत् मेला लाग्ने गरेको छ । जन्माष्टमीदेखि रथयात्रा सञ्चालन गर्न करिब १४ लाख खर्च हुन्छ– अध्यक्ष घिमिरेले भने– ‘कार्यक्रमलाई यसपटक भव्य बनाउनका लागि बिभिन्न दातासँग चन्दा सङ्कलन गरिरहेका छौं ।’ नगरको पहिचान र गौरव बन्दै गइरहेको रथयात्रालाई भव्यता दिन यसबर्षदेखि व्यवस्थापकीय जिम्मा नगरपालिकाले लिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए । ‘यसबर्ष नगरपालिकाले रथ बनाइदिएको छ’– उनले भने– ‘आगामी वर्ष रथमा भगवान् श्रीकृष्णको मूर्ति, घोडा लगायत अन्य सजावट पनि गरिदिन्छ ।’

नगरको १० वटा वडाकै प्रतिनिधित्व हुने गरी नगरपालिकाको नेतृत्वमा समिति गठन गरी यसलाई भव्य बनाउन लागीपरेको छौं– उनले भने । यसपल्ट रथयात्राको रुट पनि बढाएको बताउँदै नगर प्रमुख श्रेष्ठले भने– ‘रथयात्रा हुने सडकको मर्मत सम्भार लगायतको काममा नगरपालिका जुटिसकेको छ ।’

शनिवार बिहान साढे ११ बजेदेखि शुभारम्भ हुने रथयात्रा यसबर्ष आँपगाछी, ज्ञानेचोक, केन्द्रमोड, चैतुमन्दिर, धनुषमोडसम्म पुग्ने समितिका सचिव विष्णु काफ्लेले जानकारी दिए । यसका लागि सुरक्षाकर्मी लगायत विभिन्न मठमन्दिरसँग समन्वय गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here