प्रचण्डको राजनीति अब कता !

0
785

प्रज्ज्वल बराल,

नेपालको राजनीतिको जब–जब कुरा आउने गर्छ तब केही पात्रहरुको नाम सबै भन्दा अगाडि आउने गर्छ । ती मध्येको केही नाम हुन्– पुष्पलाल, वीपी कोइराला, मदन भण्डारी आदि । कोही धेरै समयसम्म राजनीतिको शिखर विन्दुमा रहेर परिचित भए भने कोही छोटो समयमै जनताको माझमा लोकप्रिय भएर । वर्तमान समयमा त्यस्ता नेता हुन् कम्युनिष्ट पार्टीको एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिमा सधैँ केन्द्रबिन्दु रहेका पात्र हुन् । नेपाली राजनीति मार्फत छोटो समयमा जनताको माझमा भिज्न र लोकप्रिय हुन सफल प्रचण्ड वि.सं २०६४ देखि औपचारिक रुपमा सत्ताको बागडोरमा आएपछि निरन्तर केन्द्रबिन्दुमै रहे । प्रचण्ड र राजनीति सधैँ सँगसँगै रहेको देखिन्छ । कतिपयले त राजनीतिको परिभाषा नै प्रचण्ड हुन् कि भन्नेमा समेत चर्चा गर्छन् । नेपाली राजनीतिमा प्रचण्डको जनयुद्धदेखि शान्ति सम्झौता हुँदै २०७२ सालको संविधान, दुई फरक राजनीतिक कार्यदिशा भएको कम्युनिष्ट पार्टीको एकतासम्म सधंै मुख्य भूमिकामै रहे । सायद नेपालको इतिहासमा यस्तो थोरै समयमा राजनीतिक रूपमा लोकप्रिय भएको प्रभावशाली पात्र प्रचण्ड मात्रै हुन् । उनको योगदानलाई हेर्दा नेपालको राजनीतिमा एक कुशल नेता र योद्धाभन्दा केही फरक पर्दैन ।

सधैँ राजनीतिको केन्द्रबिन्दुमा रहेका पात्र अहिले ओझेलमा परेका त होइनन् भन्ने प्रश्न समेत जायज हुन्छ । थोरै समयमा नेपालको राजनीतिमा प्रमुख स्थान पाएका प्रचण्डको भूमिका अहिले फरक देखिन्छ । पार्टी एकतासँगै उनको राजनीतिक भविष्यमा समेत प्रश्न खडा हँुदैछ । उनी अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीको छायाँमा पर्ने हुन् कि भन्ने आम सर्वसाधाधरण र कार्यकर्तामा चासो र चिन्ताको बिषय बनेको छ । पूर्व एमालेको पक्षबाट प्रचण्ड प्रति आक्रोश देखिँदै आएको छ । पार्टीभित्र प्रचण्ड अझै पनि प्रमुख पात्र नै हुन् । तर, पनि कहिले ईश्वर पोखरेल, त कहिले जनयुद्धको विषय उठाएर उनको पृष्ठभूमिमाथि नै प्रश्न उठाउन खोजेको देखिन्छ ।

पार्टीको राजनीतिक दस्तावेजमा जनयुद्धलाई सम्बोधन गरेको भए पनि पार्टीभित्र अझै ठूलै जमात उनलाई नरुचाएको जस्तो पाइएको छ । त्यो भनेको यो होइन कि प्रचण्डलाई नरुचाउँने मात्रै पार्टीभित्र छन् । उनको समर्थन गर्ने र जनयुद्धलाई ठूलो योगदानको रूपमा कदर गर्ने जमात पनि छ । कहिले हेगको विषय त कहिले साना कम्युनिष्ट दलहरुको अभिव्यक्तिले प्रचण्ड प्रायः विवादमा तानिएको देखिन्छ । सायद उनी पहिले पनि त्यस्तो अवस्थाबाट नगुज्रिएका होलान् ।

तर, पछिल्लो अवस्था भने फरक देखिन्छ । देशको अनुकूलताका लागि गरिएको एकता उनै प्रचण्डका लागि नै प्रतिकूल हुन्छ कि हुँदैन भन्ने डर समेत देखिन्छ बेलाबखतमा । हरेक भूगोलका नेपालीका हकअधिकारका लागि खुल्ला हृदयले लड्दै आएका प्रचण्डप्रति अझै पनि जनताका आशा र भरोसा मरेको छैन । त्यही आशा पूर्तिका लागि नै पार्टी एकतालाई मजबुत र सुदृढ गरी अहिले अगाडि बढ्दैछन् प्रचण्ड ।

नेपाली राजनीतिबाट प्रचण्डलाई चाहेर पनि निकाल्न नसकिने पात्र हुन् प्रचण्ड । उनीबाट जनतालाई अझै धेरै आशा छ । त्यसैले अबको समयमा पनि उनी राजनीतिको केन्द्रबिन्दुमै रहेको हेर्न आम जनताको चाहना हुनु जायज हो । जनयुद्धका विषय अहिलेको समयमा प्रचण्ड बाहेक अरु कसैले हल गर्न सक्ने अवस्था छैन । जनताको आशा र महान शहीदहरुको सपनालाई अब पनि बेवस्ता गरेमा देश ठूलो दुर्घटनामा जाने प्रष्ट छ । त्यो दुर्घटनाको चौतर्फी घाटा बाहेक लाभ हुने देखिन्न । जसका लागि प्रचण्डले ठूलो कदम चाल्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here