खाद्यवस्तुको शुद्धता कायम गर

५ भाद्र २०७६, बिहीबार मा प्रकाशित

पानी हाम्रो प्राण हो । पानीको अभावमा सबै प्राणी र वनस्पतिको जीवन असम्भव छ, त्यसैले पानीलाई प्राण भनिएको हो । प्राणी प्रकृतिद्वारा प्रदान भएको उपहार हो । उपहार यस अर्थमा पनि कि त्यसबापत पैसा तिर्नु पर्दैन । पानीका स्रोतहरु खोला–नाला, कुलो, पैनी, कुवा, छाँगा वा तलाउ र हिमाल सबै प्रकृति प्रदत्त हुन् । प्रकृतिले दिएको यो सुन्दरतम् उपहार आज मानिसका कारण प्रदुषित र विकृत भएको छ । यसले हाम्रो जीवन सञ्चार गर्छ भन्ने जान्दाजान्दै पनि त्यसको स्वच्छतामा ध्यान नदिँदा पानी दुःखको कारण बनिँदैछ ।

अहिले पनि ग्रामीण तथा पहाडी क्षेत्रमा बसोबास गर्नेहरु खोला, छाँगा वा छहराको पानी उपयोग गरिरहेका छन् । शहरी क्षेत्रमा पानी अनेक उपयोग गर्ने सुविधा छ । अझ अनेक नाम र ब्राण्डमा बोतल बन्द पानी जतासुकै सहजै उपलब्ध हुन थालेपछि प्रकृतिको स्रोत कम हुँदा समेत मनग्गे उपलब्ध भइरहेको छ । अनि पनि त्यही शहर–बजारमा बसोबास गर्ने मानिसहरु पानीका कारण अनेक संक्रमण व्यहोर्न बाध्य छन् । पानीको अशुद्धताकै कारण महामारीको पीडा पनि भोग्दैछन् ।

झापाको बिर्तामोडमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा बजारमा उपलब्ध पिउने पानीको गुणस्तर परीक्षण गर्दा धेरै पानी पिउने अयोग्य भएको पाइयो । संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजनमा भएको कार्यक्रममा बीस वटा फरक–फरक ब्राण्डका पिउने पानीको गुणस्तर परीक्षण गर्दा त्यस्तो तथ्य सार्वजनिक भयो । पानीमा नभई नहुने तत्व कम र हानीकारक तत्व बढी भएको पानी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई ‘पीएच’ भनिन्छ । गुणस्तरका दृष्टिले पानीमा उपलब्ध पीएच ६ देखि ८.५ सम्म हुनुपर्दछ । ६ भन्दा तलको पीएच भएको पानी अम्लीय अर्थात् एसिडिक र ८.५ भन्दा बढी भएकोलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । स्वास्थ्यका दृष्टिले यही मापदण्डभित्रको पानी मात्र सुरक्षित हुन्छ अर्थात् स्वस्थकर हुन्छ ।

हिजोसम्म हामी उपलब्ध पानीमा आश्रित थियौं । त्यसको गुणस्तर परीक्षण गर्ने प्रविधि थिएन र रोगको परीक्षण गर्ने सर्वसुलभ व्यवस्था पनि थिएन । आज पनि यो सुविधाको पहुँच सहज त छैन तर आवश्यकता अनुसार ढिलोचाँडो परीक्षण गर्न भने सकिन्छ । खोलाकै पानी पिएर स्वस्थजीवन बाँचेका पुर्खाहरु मात्र होइन वर्तमान पुस्ताकै अग्रजहरु समेत छन् समाजमा । आज मानिसले जंगल मासेर, पानीका स्रोत र मुहानहरु प्रदुषित गरेर स्वयम्कै जीवन दुष्कर बनाइरहेका छन् । नदीनालाहरुको दोहन गरेर भूमिगत पानीको समेत अभाव हुन थालेको छ । भएका ट्युवेल, कुवा र इनार सुक्दै गएका छन् । यस्तोमा उपयोग गरिसकेको पानीलाई शुद्धीकरण गर्दै पुनः प्रयोग गर्ने अवस्था सृजना गर्नु आजको आवश्यकता हो । खासगरी बजार–शहर भएर बग्ने नदीलाई शुद्ध बनाएर मात्र कृषि कर्ममा लगाउन ढिलो भइसकेको छ । यी सबै अवस्थालाई बोध गरेर सम्बद्ध सबै निकाय र अङ्गहरुले पानीको समुचित व्यवस्थापन गर्न अग्रसर हुनै पर्छ । समय–समयमा पानीसँगै सबै खाद्यवस्तुको गुण परीक्षण गर्नुपर्छ अनि मात्र आमजनताको स्वास्थ्य रक्षा सम्भव छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here