आमाको अर्थ बुझ

0
437

रामचन्द्र उप्रेती,

प्यारो छोरा,
सधैँ सुखी रहनु, खुसी रहनु
छोरा, म अहिले तिमीबाट केही टाडा पुगेकी छु । यो मेरै कमजोरी होला । मेरो संसार ठूलो थिएन, मैले धेरै अवसर पाउन सकिनँ, सायद त्यसैले बुद्धि धेरै फराकिलो हुन पाएन । पढ्न लेख्न नपाएकी, घाँस–दाउरा, चुल्हो–चौका, मेलापातको वरिपरि घुमेको मेरो बालापन र युवा अवस्था सधै अभाव र गरिबीमा रुमल्लियो । जवानी के हो मैले थाहै नपाई अहिले बुढ्यौलीको दैलोमा टेकेको आभाष हुन थालेको छ ।

मेरो संसारमा अलिकति भूगोल थियो । त्यो भूगोलमा मेरो सानो घरपरिवार र थोरै आफन्त थिए । अलिकति छिमेकी । मेरो सीप, कला, ज्ञानविज्ञान भन्नु गोठ, खेतबारी र चुल्हाचौकामा सिमित थियो । त्यो समय म यसैलाई मेरो प्यारो संसार ठान्ने गर्थे । त्योभन्दा पर के थियो म सधैँ अनभिज्ञ रहन पुगेँ । त्यसैले होला मेरो सोच, चिन्तन, व्यवहार धेरै फराकिलो हुन सकेनछ भन्ने लाग्छ । मेरो सानो परिवारमा तिमी आउने कुराको व्यग्र प्रतिक्षा थियो । अहिले थाहा पाउँदा म त भर्खर किशोरी अवस्थामा पाइला राख्दै गरेकी अबोध सोझी केटीको बिहे तिम्रा बुबासँग भएको थियो । विवाहको अर्थै नबुझी म विवाहित भएँ । मेरो थातथलो फेरियो, गोत्र फेरियो, पहिचान फेरियो । आफन्त फेरिए ।

प्यारो छोरा, तिम्रो बुबासँग मेरो खासै गुनासो रहेन । उनले माया दिए । पहिचान दिए । सकेको सुख दिए । उनी आपैm दुःखी भएकाले धेरै सुख दिन सक्ने उनको औकात थिएन । समाजले सिकाएको पितृसत्ताको शासन व्यवस्थामा उनले पनि तिनै कर्म गरे जो अरुले गर्थे त्यसैले त्यसबारेमा मेरो गुनासो रहेन । अझभन्दा म गुनासो गर्न पनि नजान्ने गरी समाज र परिवारबाट प्रशिक्षित थिएँ । परिवारमा तिमी नयाँ सदस्यको रुपमा आउने कुराको व्यग्र प्रतिक्षा थियो । विवाह भएको ३÷४ वर्षसम्म मैले परिवारलाई नयाँ सन्तान दिन सक्ने अवस्था नहँुदा समाजले मात्रै होइन परिवारले पनि कुरा काट्न थालेका थिए । म माथि कालो बादल मडारिन थालेको थियो । म देवीदेवता पुकार्न थालेकी थिएँ । मनमनै भाकल गर्न थालेकी थिएँ ।

एकदिन मैलै अचम्मको सपना देखेँ । आकाशको सूर्य मेरो नजिक आयो । हेर्दाहेर्दै मैले त्यो सूर्य निलें । अत्यन्त खुशी भएँ । त्यो खुशीमा म झल्यास्स बिउझिन पुगेँ । विपनामा म अत्यन्त हर्षित भएँ । मैले कुनै ठूलै उपलब्धि पाउँदैछु भन्ने मलाई लाग्यो । राम्रो सपना देखेपछि फेरि निदाइयो भने सपनाको फल पाइँदैन भन्ने सुनेकी थिएँ । त्यसैले त्यो फल नगुमाउन त्यो रात ननिदाइ बिताएँ । के त्यस्तो फल पाउन लागेँ भनेर मनमा सोचिरहन्थें । तिम्रा बालाई यो कुरा सुनाएकी थिएँ । उनले कुनै प्रतिक्रिया दिएनन्, नपत्याए जस्तो लागो । तर, म फल पाउनेमा विश्वस्त थिएँ । मलाई लाग्न थालेको थियो म अब पक्कै आमा बन्ने छु । खुशीको लागि धेरै प्रतिक्षा गर्नु परेन । मेरो महिनाबारी रोकियो । अलिकति लाजले सतायो । तर, त्योभन्दा कता हो कता धेरै म आमा बन्दैछु भन्ने खुशीले पुलकित भएकी थिएँ । मेरो जाँगर बढेको थियो । खुशीको सीमा थिएन । एकदिन ठूलै आँट गरेर तिम्रा बालाई यो कुरा लजाउँदै सुनाएँ । उनले के ठाने कुन्नी कुनै प्रतिक्रिया दिएनन् ।

प्यारो छोरा, तिमी मभित्र हुर्कदै थियौं । मेरो खुशी पनि सँगसगै हुर्कदै थियो । आराम, स्वास्थको जाँच, पोसिलो खाना जस्ता कुरा म पहिलो पटक आमा बन्दै गर्दा सुन्नै पाएकी थिइन । तर, पनि ममा कुनै डर थिएन । अर्थात् म डराउन पनि जान्दिनथें । डराउन नै नजान्ने भएकाले सुरक्षाको उपाय अपनाउने कुरै थिएन । म त भाग्यमा विश्वास गर्ने साधारण र अबोध मानिस मात्रै रहेछु त्यो समयमा । दुईदिन लामो प्रशव बेदनापछि मैले तिमीलाई जन्म दिन सकेँ । अस्पतालको त कुरै छोडौ कुशल सुडेनी पनि मेरो भाग्यमा थिएन । म पीडाले जोडजोडले कराउँदा पनि तिम्रो आगमन सुखद् रहोस्, मलाई केही गरि तलमाथि परेछ भने पनि तिमी सकुशल रहनुपर्छ भनेर भगवानसँग प्रार्थना गर्थेँ । अन्ततः तिमी आयौं । मेरो कठोर प्रशव यात्रा टुंगियो । तिमी धर्तीमा पदार्पण गर्दा रोएका थियौं र म असिम आनन्द महशुस गर्दै थिएँ । मैले त्यो बेलासम्मका सबै पीडा बिर्सिएँ ।

म भोकै भएर के भयो र तिमी अघाएर र हाँस्दा म औधि खुशी हुन्थें । पोषणको अभावमा मैले तिम्रो धित मर्ने गरि स्तनपान गराउन नसक्ता म पिरोलिन्थें । तिमी रुँदा, नखाँदा, ननिदाउँदा, नखेल्दा, आँखाबाट एकैछिन ओझेलमा हुँदा म पिरोलिन्थेँ । म सधै तिमीसँगै र तिमी मसँगै भएको चाहन्थें । तर, म त्यति भाग्यमानी थिइन । तिमीलाई कोक्रोमा एक्लै छाडेर घाँस–दाउरा, मेला–पात, बस्तु–भाउ, चुल्हो–चौको मेरो दैनिकी थियो । काम सकेर, कामले थाकेर एकछिन तिमीलाई काखमा राखेर स्तनपान गराउँदै तिम्रो अनुहार हेर्दा म कति खुशी हुन्थेँ त्यो शब्दमा भन्ने गरी मसँग कुनै ज्ञान थिएन, छैन ।

तिमीले कोल्टे फेर्न सकेको, घस्रिन सकेको, मेरो औंला समाएर टुकुटुकु हिँडन सकेको, तोतेबोली बोल्न जानेको, आमा बाबा भन्न जानेका हरेक पलमा म कति खुशी हुन्थेँ खै म कसरी तिमीलाई सुनाउँ ? तिमी बाबाको औंला समाएर स्कूल गएको पहिलो दिन म बारीका डिलमा बसेर तिमी ओझेल नपरुञ्जेल मैले आँखा चिम्म नगरी हेरेकी थिएँ । त्यो दिन पनि मेरा खुशीका आँशु धेरै बेर बगे । कसैले देख्लान् कि भनेर पछ्यौराले आँशु लुकाएकी थिएँ । तिम्रा साना–साना खुशीका लागि म जस्तोसुकै त्याग गर्न सधँै तयार हुन्थेँ । त्यसमा मलाई किञ्चित दुःख थिएन । मेरा लागि तिमीले स्कूलमा प्राप्त गरेको अंकको खासै अर्थ थिएन । किनकि म त्यो मूल्यांकन गर्न सक्ने हैसियतमा थिइनँ । म यति बुभ्mथें तिमी पास भयौं । म त्यसैमा औधि रमाउने गर्थें । तिमी पास भएको कुरा मेरा वरिपरिका सबैलाई सुनाउन दौडिन्थेँ । यसरी तिमीले मलाई पाइल्यै पिच्छे खुशी तुल्याएका थियौं ।

समय बित्तै गयो । म फेरि–फेरि दुई जिउकी हँुदै गएँ । तिम्रा बहिनीहरु आए । मेरो माया सबैलाई बराबरी नहुने कुरै भएन । किनकि ती सबै मेरा बराबर सन्तान हुन् । तिमीलाई बेहुलो बनाएर सजाएको दिन मेरो खुट्टा भुइँमा थिएन भन्थे मानिसहरु । म औधी खुशी भएकी थिएँ । धेरैले मलाई बधाई दिएका थिए, म फुरुक्क थिएँ । दिल खोलेर नाचेकी थिएँ । भित्र–बाहिर, वरपर गर्दागर्दै औधि थाकेकी थिएँ, तर थाक्ने फुर्सद थिएन । थाक्न पाइनँ । खुशीले गद्गद् हुँदै बुहारीलाई स्वागत गरेँ । मनमनै अनेकौ सपनाहरु सजाएँ ।

गरिबी र अभावले मेरो संसार सानो थियो भन्ने कुरा मैले धेरैपछि थाहा पाएँ । परिवार, रीतिथिति र समाजले सिकाएका कुरा पूर्ण थिएनछन् । तर, म त्यसैमा अभ्यस्त भएर हुर्किएँ, बढेँ र बुढ्यौलीको संघारमा पुग्न लाग्दा आधुनिक र सभ्य समाजका कति कुरा मैले जानिन पनि होला । मैले जे जाने, जे मलाई सिकाइयो त्यही ठिक लाग्यो । कहिलेकाहीँ मैले यथोचित बोल्न जानिन होला, व्यवहार गर्न जानिन होला । उपयुक्त सम्मान गर्न जानिन होला । किनकि मैले त्यो चाहिने जति सिकेकी थिइनँ कि । मैले तिम्री बहिनीहरुलाई तिमीलाईभन्दा धेरै माया गरेकी होइन बरु उनीहरुलाई न्याय मात्र गर्न खोेजेकी हुँ भन्ने कुरा राम्ररी बुझाउन सकिन होला । जानिन होला । म पुरानो संस्कारमा हुर्किएकी र बुढ्यौलीको संघारमा टेकेकी सासु भएकीले बुहारीलाई सम्पूर्णरुपमा चित्त बुझाउन सकिन होला । तिमीहरुका सबै इच्छा पूरा गर्न सकिन होला । व्यवहार र बोलिले चित्त बुझाउन सकिन होला । त्यो मेरो कमजोरी नै सही तर म आमा त हुँ नि ।

प्यारो छोरा, आज म बुढ्यौलीको संघारमा पाइला टेक्दै गर्दा आमा हुनुको आभास खोज्दै छु । मेरो शरीरभन्दा धेरै मन गलेको अनुभूति हुँदैछ । बुढ्यौलीमा पाइँला टेक्दै गर्दा हरेक मानिसलाई भरपर्दो अभिभावक चाहिने रहेछ भन्ने लाग्न थालेको छ जसरी एउटा बच्चालाई अभिभावकको आवश्यकता पर्छ । बुढ्यौलीमा लागेकाहरुको अभिभावक भनेका छोराछोरी हुन् भन्ने बोध हँुदोरहेछ । मेरो संस्कारले छोरीलाईभन्दा छोरालाई अभिभावक मान्न कर लगाउँछ । हुन त छोरी पनि अभिभावक बन्न सक्दैनन् र बन्नु हुँदैन भन्ने म मान्दिनँ । तर, समाजले त बुढेसकालको अभिभावक छोरा हो भनेर सिकाएको छ । मलाई यो समाजको पर्खाल नाघेर अगाडिको बाटो तय गर्न त्यति सजिलो छैन ।

अन्त्यमा, प्यारो छोरा, म तिमीबाट टाडा भएको महिनौं भएको छ । सूचना प्रविधिको यो दुनियाँमा मैले एकपटक पनि तिम्रो आवाज फोनमा सुन्न पाइनँ, भिडियो कलमा तिम्रो अनुहार हेर्न पाइनँ, सञ्चो–विसञ्चो के छ आमा भनेको शब्द सुन्न पाइनँ । त्यसैले म आमा हुनुको अर्थ खोजी रहेकी छु ।

प्यारो छोरा, मलाई यथार्थ बोध हुन थालेको छ । आज तिमीलाई मेरो आवश्यकता छैन । किनकि समयले मलाई धेरै पछाडि छाडेको छ । म तिमीलाई सहयोग गर्न सक्ने हैसियतमा छुइनँ । तर, मलाई लागिरहेको छ मलाई तिम्रो आवश्यकता छ । तिम्रो माया चाहिएको छ । आत्मसम्मान चाहिएको छ । तिमीबाट सुरक्षाको छहारी चाहिएको छ । तर, बुढेसकालमा त्यो मृगतृष्णा मात्रै हुने सम्भावना देख्न थालेकी छु । प्यारो छोरा यो मेरो मनको गनथन मात्र हो । मेरो होइन, तिम्रो भविष्य सुरक्षित होस् सधै सुखी रहनु, खुसी रहनु । मेरो शुभकामना ।

उही तिम्रो आमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here