एक्टिभ नाइनद्धारा शंख ध्वनी खुल्ला प्रतियोगिताको आयोजना

0
1056

बिर्तामोड ।

नेपाली संकृति र पुराना बाजाहरुको संरक्षण गर्दै आएको एक्टिभ नाइन झापाले शंख ध्वनी खुल्ला प्रतियोगिताको आयोजना गरेको छ ।

संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता भदौ १५ गते आइतवारका दिन अर्जुनधारा नगरपालिका.–६ स्थित सानो संसार हाउजिङमा शंख ध्वनी खुल्ला प्रतियोगिता गर्ने जनाएको छ । ‘कार्यक्रमका लागि कार्यक्रम मात्र नभएर समाज रुपान्तरण तथा जनचेतनाका निमित्त कार्यक्रम’ भन्ने मुलमन्त्रलाई आत्मासाथ गरी संस्थाले उक्त प्रतियोगिता गर्न लागेको संस्थाका अध्यक्ष गोविन्द निरौलाले बताए ।

नौमति बाजाको संरक्षण गर्ने यूवा समूह “एक्टिभ नाइन”को यो दोस्रो अभियानको रुपमा सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ नेपाल मै पहिलो पटक ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को आयोजना गर्न लागिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

शंख नेपालमा मात्र नभई भारत, श्रीलंका बंगलादेश आदि मुलुकमा पनि प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शंख नभई नहुने एक ध्वनी साधन भएको संस्थाका सचिव भानुभक्त खनालले बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार एकसय रुपैयाँ, द्वितिय हुनेलाई तीन हजार एकसय रुपैयाँ, तृतीय हुनेलाई दुई हजार एक सय रुपैयाँ, र दुई जनालाई सान्त्वना स्वरुप जनही पाँच सय रुपैयाँ तथा सम्पूर्ण सहभागी समेतलाई प्रमाण–पत्र प्रदान गरिने संस्थाका सदस्य रोहित भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । शंखको विषयमा जानकार व्यक्तिले निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवम् कीर्तन मण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको अर्का सदस्य सुरेश खतिवडाले बताए ।

शंख दिनानुदिन लोप हुँदै गएको र त्यसको संरक्षण गर्दै युवाहरु एक हुनुपर्नेमा एक्टिभ नाइनले जनाएको छ । झापाबाट शुरु भएको हाम्रो यो अभियान नेपाल राष्ट्रकै पहिलो कार्यक्रम भएको हुँदा सरकारबाट प्रत्येक वर्षको भदौ १५ गतेलाई राष्ट्रिय शंख दिवस घोषणा गरियोस् भन्ने हाम्रो प्रमुख उद्देश्य रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here