प्रभावकारी सौर्य तारबार

0
817

झापाका सीमान्त क्षेत्रहरुमा मानव र जंगली हात्तीका बीचको द्वन्द्व असाध्य रोग जस्तै भएको छ । पूर्वी सीमाना बाहुनडाँगीबाट शुरु भएको हात्तीको उपद्रो पछि बुधबारे, अर्जुनधारा, पृथ्वीनगर, हल्दीबारी, जलथल लगायतका क्षेत्रमा समेत हुन थालेपछि धनमात्र होइन मानव जीवनमै क्षति पुग्यो । ती क्षेत्रमा जंगली हात्तीको स्थायी बास थिएन, तर करिब दश वर्षअघि भारततर्फबाट आएका हात्तीले प्रत्येक वर्ष आर्थिक तथा मानवीय क्षति गर्न थाल्यो । विसं.२०६७ सालदेखि शुरु भएको हात्ती आतंकका कारण उनन्चालीस जना मानिसले जीवन गुमाइसकेका छन् भने करोडौं रुपैयाँको क्षति भइसकेको छ ।

वैदिक सनातन धर्ममा हात्तीलाई देवताका रुपमा लिइन्छ । विज्ञानका दृष्टिले पृथ्वीका सबै प्राणीको समान आवश्यकता रहन्छ र अस्तित्व पनि छ । त्यसैले वेदबाट अनुप्राणितहरुले हात्तीलाई पूजा गर्छन्, खान दिन्छन् र सकेसम्म उसलाई क्षति पु¥याउँदैनन् । तर, प्रत्येक वर्षजसो भइरहेको हात्ती आक्रमणका कारण भइरहेको खेतीपातीको नोक्सानी, भण्डार गरिएको अन्नबालीको खती, गाईगोठ र घरमा पु¥याएको क्षतिका कारण स्थानीयबासी आजित भइसकेका छन् । स्थानीयबासीलाई यो पीडाबाट मुक्त गर्न स्थानीय प्रशासनदेखि सम्बद्ध निकाय र सरकारले चासो र अग्रसरता देखाउँदा पनि यसको स्थायी समाधान भएमो छैन ।

हात्ती आक्रमणबाट हैरान भएका स्थानीयबासीले यो पीडाबाट जोगिना गरेको हारगुहार र निजी प्रयासका कारण यसबीचमा एघार वटा हात्ती मारिएको डिभिजन वन कार्यालय झापाको तथ्यांक छ । कार्यालय प्रमुख विष्णुलाल घिमिरेले वन नियमावली तथा ऐनमा हात्ती नियन्त्रणको नाममा बिजुलीको तार जोडेर करेन्ट प्रवाह गर्ने काम गैर कानूनी भएको बताएका छन् । तर, कितपय घटना यहीकारण घट्ना गएको तथ्यांकले देखाएको छ । विद्युत्को करेन्ट लगाएका कारण केही हात्ती र बढी मानिस नै त्यस्तो धरापमा परेको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ ।

बाहुनडाँगीमा सर्वप्रथम उत्पन्न यो समस्याको समाधानका लागि सरकारी गैरसरकारी तथा निजी तहबाट अनेक उपाय गरियो । हात्तीलाई प्रवेशमा रोक लगाउने उद्देश्यले गरिएको सुरक्षा उपायले हात्ती रोएिनन् । जसले गर्दा किसानले लगाएका अन्न तथा नगदेवालीहरु नष्ट भए । घर–गोठ भत्किए, स्थानीय घाइते भए भने कतिले हात्तीको आक्रमणमा जीवन गुमाए । राज्यले क्षतिपूर्ति त दियो तर असुरक्षा, अनिश्चय र अप्रत्याशितको आक्रमणको जोखिमले स्थानीय हैरान भए ।

पछिल्लो समय सौर्य विद्युतीय तारबार लगाउन थालिएको छ । हात्ती र मानवबीचको द्वन्द्व रोक्न सौर्य विद्युत् नै प्रभावकारी हुने संरक्षणविद्हरुको भनाइ छ । बाहुनडाँगीदेखि काँकरभिट्टासम्म जडान गरिएको तारबारका कारण हात्तीको प्रवेश नियन्त्रण भएको छ । त्यही उदाहरणका आधारमा हाल दक्षिणी झापाको जलथलको जंगलमा सौर्य विद्युतीय तारबार जडान गर्ने कार्य भइरहेको छ । चालिस किलोमिटर क्षेत्रभित्र तारबार गरिने कार्यको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । यसले हात्तीलाई बस्ती प्रवेशमा रोक लगाउने छ भने मानवीय क्षति नहुने बताइएको छ ।

यसले किसानको श्रम–पसिनाको साथै जीवनको सुरक्षा गर्ने र जैविक विविधतायुक्त जंगल क्षेत्रको संरक्षण गर्दै पर्यापर्यटनको समेत विकासमा टेवा दिने अपेक्षा गरिएको छ । त्यसकारण पनि मानव र हात्तीका बीचको द्वन्द्व रोक्ने यो प्रयास सफल हुन्छ र हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here