साताका तीन चर्चित प्रसंग: गणतन्त्रलाई खतरा, ओली–नेपाल दन्त बझान र प्रधानमन्त्रीको स्वास्थ्य

0
521

चिन्तामणि दाहाल,

थालनी :
यो साता नेपालमा पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र पत्रकार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउका घटनादेखि अन्य धेरै घटनाहरु भए । त्यसमध्ये पंक्तिकारले राजनीतिसँग सम्बन्धित गणतन्त्रलाई खतरा, ओली नेपाल दन्त बझान र प्रधानमन्त्रीको स्वास्थ्य गरी तीनवटा प्रसंगहरुलाई चर्चित ठानेर संक्षिप्त विश्लेषण र टिप्पणी गर्ने जमर्को गरेको छ ।

गणतन्त्रलाई खतरा :

गणतन्त्रलाई अहिले कै जस्तो शासनशैली कायम राख्ने हो भने गणतन्त्रलाई खतरा भइरहन्छ । शासन शैलीलाई समय अनुसार परिवर्तन नगर्ने र युवा लक्षित विकास निर्माणका कामलाई अघि नबढाउने हो भने गणतन्त्रमाथिको खतरा टारेर पनि टार्न सकिन्न । दुई तिहाईको सरकारले पनि जनताको भावना अनुसार काम गर्न नसकेको भनी आमजनतामा बढेको निराशा नै गणतन्त्रको लागि खतरा हो ।

यसैलाई लक्षित गर्दै कांग्रेसका एक नेता डा.शेखर कोइरालाले भनेका छन्– ‘गणतन्त्रलाई खतरा स्वयम् ओली सरकारबाटै छ । विप्लब र राजावादी शक्तिबाट कुनै खतरा छैन । उनीहरुबाट खतरा छ भनेर सर्वपक्षीय बैठक नै बोलाएर प्रधानमन्त्री ओलीजीले भनेको सुनेर मलाई हाँसो उठ्यो ।’ यस भनाईले खतरा स्वयम् गणतन्त्रवादी नेताहरु र सरकारबाटै गणतन्त्रलाई खतरा रहेको देखिन्छ ।

हिजो पञ्चायती व्यवस्थालाई स्वयम् पञ्चहरुबाटै खतरा थियो र भयो । त्यस्तै राजतन्त्रमाथि स्वयम् राजा र राजपरिवारबाट थियो र भयो । बामपन्थलाई स्वयम बामपन्थीहरुबाटै र कांग्रेसलाई स्वयम् कांग्रेसीहरुबाटै खतरा छ । यस्तो राणातन्त्रमा पनि थियो भने प्राचीनकालमा पनि स्वयम् आपूm र आफ्नै परिवारबाट त्यस वंशको नाश भएका कथा र इतिहास पढ्न पाइन्छ ।

यदुवंशको नाश यदुवंशीबाटै भयो कौरवहरुको नाश कौरव वंशीबाटै भयो । रावणको नाश स्वयम् रावण र उसकै वंशबाट भयो । उदाहरण कति छन् कति । गणतन्त्रलाई खतरा छ भनेर ओलीजीले भन्नु र बैठक डाकेरै डर भएको पुष्टि गर्नुमा कतै आफ्नो आलोचनाबाट अरुतिरै ध्यान मोड्न त होइन भन्ने पनि छ ।

ओली–नेपाल दन्त बझान :

अहिलेको नेकपा सरकारका दुई प्रभावशाली नेता एउटा प्रधानमन्त्री केपी शर्मा ओली र अर्को प्रभावशाली नेता एवम पूर्व प्रधानमन्त्री माधव नेपालबीच बैठकमै बाझा बाझ भयो । यहाँसम्म कि ओलीजीले नेपालजीबाट आएको सुस्वास्थ्यको कामना पनि चाहिँदैन भनी दिए ।

चर्काचर्की निकै ठूलै भयो । पार्टी सञ्चालन र सरकार सञ्चालनका कुरामा नेपालजीले केही दिनदेखि असन्तुष्टि पोख्दै आएका थिए । त्यस बैठकमा पनि असन्तुष्टि पोखे । त्यसअघि उनले पार्टीमा सात बुँदे असन्तुष्टि नै दर्ता गराएका थिए । ती बुँदामा प्रायः सबै दोष ओलीजीलाई लगाइएको थियो । त्यसै पनि आलोचना सहनै नसक्ने र ओठे जवाफ लगाउन माहिर ओलीजीले सहन सक्ने कुरै भएन ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्डबाट ताना खाइरहेका ओली आफ्नैबाट पनि लखेटिन थालेपछि आक्रोशमा आउनु स्वभाविक थियो । बैठक सकिन पनि नपाई ओली–नेपाल दन्त बझान बाहिरियो । अरुलाई गफ गर्ने ठूलै मसला मिल्यो । दन्त बझान भएको पर्सिपल्टै ओलीजी सिंगापुर हिँडे ।

त्यसपछि नेपालजीलाई आफैंलाई लाग्यो वा कसैले बुद्धि दियो त्यो उनैले जानुन् । अनि एउटा भाषणमा उनले भने– ओली जी र मेरो झगडा लोग्ने–स्वास्नीको झैं हो । कति सजिलै नयाँ ब्याख्या भयो । यो विवादले पार्टीलाई ठूलो नोक्सानी भयो भन्ने हेक्का न नेपालजीलाई भयो होला न ओलीजीलाई । दोष कसको थियो भन्ने छिनोफानो गर्ने पंक्तिकारको उद्देश्य होइन र छैन पनि । तर, घटनामा दुबै नेता दोषी छन् । त्यो तहमा पुगेका नेताहरु त्यसरी बाझाबाझमा उत्रनु हुँदैनथ्यो ।

यो भनेको बुढाहरुको नेतृत्व नछोड्ने चाहना हो । यसलाई शरीर विज्ञानको भाषामा बार्धक्य रोग अर्थात् जेरोन्टोक्रेसी पनि भनिन्छ । आफू केही गर्न नसक्ने, अरुले गरेको मन नपराउने र गर्न नजान्ने । यो रोग नेपालका सबैजसो राजनैतिक दलहरुमा छ ।

प्रधानमन्त्रीको स्वास्थ्य :

१२ बर्षअघि मृगौला फेरेका प्रधानमन्त्री ओलीजीको स्वास्थ्य सामान्य बताइए पनि फेरेको मृगौलाले एन्टीबडी उत्पादन गर्न थाल्नु सामान्य अवस्था होइन । तर, उपचार सम्भव देखिएकाले होला चिकित्सकहरुले सामान्य भनी दिए । अरु सामान्य मान्छेको भए उपचार सम्भव थिएन । विशिष्ट व्यक्ति भएकाले उपचार सम्भव भएको हो ।

सिंगापुरबाट चाँडै स्वास्थ्यलाभ गरी प्रधानमन्त्री ओलीजी फर्कन पाउन यो पंक्तिकारको आभ्यन्तरिक कामना हो । चिकित्सकीय भाषाले एन्टीवडी ब्याक्टेरिया फाल्न सकिन्छ र कथम कदाचित फालिएन भने पुनः मृगौला फेर्नुपर्ने हुन्छ पनि भनिएको छ । यसैले यसलाई सामान्य भन्न सकिन्न । त्यसको अर्थ असामान्य छ भनेर चिच्याउने र कोकोहोलो मच्चाउनुको पनि कुनै तुक छैन ।

नेपालमा मृगौलाको पर्याप्त डायलासीस नपाएर विरामीहरु कोही चाँडै मर्दै कोही पीडाले छटपटाइरहेको हाम्रो देशमा हरेक स्वास्थ्य संस्थामा डायलासीस सेवा पनि दिन सके राम्रो हुन्थ्यो त्यो पनि नभइरहेको अवस्थामा हाम्रा नेता र मन्त्रीहरुले यसतर्फ सोचिदिए हुने थियो ।

प्रधानमन्त्रीहरु त सिंगापुर जालान् तर कचनकवलको एउटा विपन्न राजवंशी सिंगापुर त के भद्रपुर आएर डायलासीस गराउने क्षमता पनि राख्दैन । कसैगरी भाडाको जोहो गर्न सक्यो भने डायलासीसका लागि पालै पाउँदैन । त्यस्ताका लागि सोच्नुपर्छ पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here