कारवाही बढ्यो, बिद्युत् चुहावट घट्यो

0
877

मेचीनगर।

विगत तीनवर्ष यतादेखि नेपाल विद्युत् प्राधिकरण भद्रपुर बितरण केन्द्रबाट विद्युत् चुहावट निक्कै कम हुँदै गएको छ ।

प्राधिकरणले गैरकानूनी रुपमा विद्युत् उपभोग गर्नेलाई धमाधम पक्राउ गरी कारवाही अघि बढाएपछि विद्युत् चुहावट हरेक वर्ष घटेको प्राधिकरणले जनाएको छ । अनाधिकृत रुपमा हुकिङ्ग गरी विद्युत् चोरेको भन्दै कारवाही स्वरुप दण्ड जरिवाना समेत गराउन थालेपछि चुहावट कम भएको प्राधिकरण प्रमुख राम उदगार साहले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७५÷०७६मा यस केन्द्रबाट १३ दशमलव ३३ प्रतिशत विद्युत् चुहावट भएको छ । जुन चुहावट अघिल्लो आर्थिक वर्षको तुलनामा ३ दशमलव शून्य ५ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा १५ दशमलव ३८ प्रतिशत विद्युत् चुहावट भएको थियो । बितेको आर्थिक वर्ष २०७३÷०७४को चुहावट १६ दशमलव ४१ प्रतिशत थियो । तुलनात्मक रुपमा भद्रपुर वितरण केन्द्रमा विद्युत् चुहावट नियन्त्रण भएको प्राधिकरण प्रमुख साहको भनाइ छ । ११ देखि १३ प्रतिशतसम्म प्राविधिक तथा सीस्टमकै कारण चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ ।

आफ्नो क्षेत्रमा प्राधिकरणले छड्के अनुगमन गर्ने र हुक लगाएर विद्युत् चोरी गरी गैरकानूनी रुपमा उपभोग गर्नेलाई कारवाही गर्ने क्रमलाई प्रहरीको सहयोगमा तीव्र पारिएपछि बिजुली चोरहरु धमाधम कारबाहीमा पर्न थालेको उनको भनाइ छ । गत वर्ष एकवर्षे अवधिमा ५ हजार ८ सय १७ विद्युत् उपभोक्ताको घर निरीक्षण गर्दा २५ जना उपभोक्ता कारवाहीमा परेका थिए ।

प्राविधिक रुपमा मिटरमा समेत समस्या आएका कारण विद्युत् चुहावट हुने गरेको थियो । प्राधिकरणले यसका लागि पनि अनुगमन गरेको थियो । शुरुमा उपभोक्ताबाट रकम लिएर नयाँ मिटर जडान गरे पनि पछि प्राविधिकरुपमा बिग्रिएका त्यस्ता मिटर संकलन गरी निःशुल्क रुपमा नयाँ मिटर उपलब्ध गराएको साहको भनाइ छ । गतआर्थिक वर्ष २०७५÷०७६मा प्राधिकरणले ४ सय ७७ मिटर निःशुल्क वितरण गरेको छ । वितेको आर्थिक वर्ष २०७४÷०७५मा सिंगल फेजतर्फ ७ सय ३१ र अन्य फेजमासहित एकहजारभन्दा बढी मिटर फेरिएको छ ।

मिटरमा आएको समस्या र गैरकानूनी रुपमा विद्युत् उपयोग गर्दा राज्यले निक्कै ठूलो आर्थिक व्ययभार सहनु परेको थियो अहिले सवै क्रमशः नियन्त्रणमा आएको प्रमुख साहको भनाइ छ । विभिन्न व्यक्तिहरुले विद्युत्को प्रमुख तारबाट हुकिङ्ग गर्दै चिया बगानमा सिञ्चाई गर्ने, घरमा बत्ती बाल्ने गरेको प्रमुख साहको भनाइ छ ।

कसैले गैरकानूनी रुपमा घर नजिकैबाट खोलासम्म लगेर माछा मार्ने गरेका छन् । यो कार्य निक्कै जोखिम र गर्नै नहुने काम भए पनि धेरैले गर्ने गरेको प्राधिकरणले जनाएको छ । यसरी खोलामा करेन्ट लगाएर माछा मार्र्ने क्रममा धेरैको ज्यान समेत गएको प्रहरीले जनाएको छ ।

प्राधिकरणमा देखिएको बिकृति सुधार्न आफू सक्रियतापूर्वक लागेको उनको भनाइ छ । गतवर्ष समयमा विद्युत् महशुल नबुझाउने १ हजार १ सय ४२ उपभोक्ताको लाइन काटेको र पुनः जडान गरेपछि ३ करोड ६८ लाख ९८ हजार ८ सय ३८ रुपैयाँ विद्युत् महशुल संकलन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here