२०० विद्यार्थीलाई तीन महिनादेखि खाजा खुवाउँदै व्यवसायी घोष

0
624

भद्रपुर।

‘धन भएर केही हुँदैन, मन ठूलो हुनुपर्छ, मन ठूलो भए दान गर्ने इच्छाशक्ति आफैमा जाग्छ’ –यस्तै दानवीर दाताको रूपमा झापा भद्रपुरका एक युवा स–साना विद्यार्थीका माझ अभिभावक भएर उभिएका छन् ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत् बालविकास कक्षाका विद्यार्थीलाई दैनिक खाजा खुवाउनका लागि रकम उपलब्ध गराउँदै आइरहे पनि गत आर्थिक वर्ष २०७५÷०७६ को साउनदेखि बालविकास कक्षाका विद्यार्थीलाई दिँदै आइरहेको खाजा खर्चको रकम कटौती गरेको थियो । बालविकासका विद्यार्थीहरुका लागि खाजा खर्चबापत सरकारले विद्यार्थीको संख्या अनुसार विद्यालयलाई रकम निकासा गर्दै आइरहेको र सोही रकमबाट विद्यालयले बालविकास कक्षामा अध्ययनरत् गरीब, दलित तथा सीमान्तकृत विद्यार्थीलाई खाजा खुवाउँदै आइरहेको थियो ।

सरकारले खाजावापतको रकम कटौती गरेपछि विद्यालयले विद्यार्थीलाई खाजा खुवाउन बन्द गरेको थियो । विद्यालयले खाजा खुवाउन छाडे लगत्तै बालविकासमा पढ्न आउने विद्यार्थीको संख्या समेत घट्न थालेको बताइएको छ । सरकारले दिँदै आइरहेको खाजा खर्चको रकम कटौती गरेको थाह पाएपछि भद्रपुर नगरपालिका–५ का युवा व्यवसायी सञ्जय घोषले भद्रपुरस्थित गौतम बुद्ध प्राथमिक विद्यालयमा अध्ययनरत् बालविकाससहित कक्षा ५ सम्मकै विद्यार्थीका लागि अभिभावक भएर आए ।

युवा व्यवसायी घोषले आफ्नो एकल लगानीमा गौतम बुद्ध प्राविका बालविकासदेखि कक्षा ५ सम्मका दुई सय विद्यार्थीलाई विगत तीन महिनादेखि खाजा खुवाउँदै आइरहेका छन् । उनले गत जेठ १ गतेदेखि विद्यार्थीलाई खाजा खुवाउन थालेका हुन् । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका ४० वर्षीय व्यवसायी घोषले भने– ‘सरकारले खाजा दिन बन्द गरेको ढिलै थाहा भयो, म विद्यालयको पूर्व विद्यार्थी पनि हुँ, सामुदायिक विद्यालयमा गरीब तथा सीमान्तकृत विद्यार्थीहरू मात्र पढ्न आउँछन्, उनीहरूको अभिभावक भएर म आफै अगाडि बढेको हुँ ।’

‘मासिक २० देखि २२ हजार रुपैयाँ खाजा खुवाउन खर्च हुन्छ, पैसा ठूलो कुरा होइन, मन हुनुपर्छ, विद्यार्थीको अवस्था हेर्दा मनले थाप्न सकेन, त्यही भएर कमाइको केही रकम विद्यालयमा अध्ययनरत् स–साना बालबालिकाका लागि खर्च गरेको हुँ’ –उनले भने । आफूले विद्यालयमा खाजा खुवाउन थालेपछि यहाँका अरू युवामा पनि आफ्नो जस्तै भावना जागेको बुझेको बताउँदै उनले विद्यालयमा खाजा खुवाउने कार्यलाई निरन्तरता दिने बताए । २०५८ सालदेखि विद्यालयमा बालविकास कक्षा सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक जयन्ती मानीले जानकारी दिइन् ।

सरकारले गत आर्थिक २०७५÷०७६को साउनदेखि खाजा बापत दिँदै आइरहेको रकम कटौती गरेको बताउँदै प्रधानाध्यापक मानीले एक्कासी खाजा कटौती गर्दा विद्यार्थीहरूलाई समस्या हुने हुँदा शिक्षकहरूकै लगानीमा विद्यालयले मंसिरसम्म बालविकासमा अध्ययनरत् सम्पूर्ण विद्यार्थीलाई खाजा खुवाएको बताए । तर, त्यसरी धान्न नसकेपछि विद्यालयले पुसदेखि खाजा खुवाउन छाडेको उनले बताइन् ।

‘पूर्व विद्यार्थी सञ्जय घोष वैशाखको अन्तिममा विद्यालयमा आउँदा विद्यालयको समस्याको बारेमा बुझेपछि मैले खाजा बन्द भएको कुरा राखँे, त्यसको भोलिपल्ट नै सञ्जयले खाजा खुवाउने खाद्यान्न सामग्री खरिद गरेर विद्यालयमा लिएर आए र फेरि विद्यार्थीलाई खाजा खुवाउन थालेँ’ –उनले भनिन् । उनका अनुसार विद्यालयले खाजा खुवाउन छाडेपछि विद्यार्थी संख्या घट्न थाल्यो, खाजा खुवाउन शुरु भएको अभिभावकले थाह पाएपछि फेरि विद्यार्थी संख्या बढ्यो ।

‘सरकारको लगानी हुँदा बालविकासका विद्यार्थीलाई मात्र खाजा खुवाउँदै आइरहेका थियौ’–उनले भनिन्– ‘दाता सञ्जयले बालविकासलाई मात्र होइन, सम्पूर्ण विद्यार्थीलाई खाजा खुवाउनुहोस, खर्च पनि दिन्छु भनेपछि सबै विद्यार्थी खाजा खुवाइरहेका छांै ।’ एकदिनमा खाजा खर्चमा एक हजार खर्च हुने गरेको बताउँदै उनले भनिन्– ‘विद्यालयका सहयोगी कर्मचारी र शिक्षक आफैले खाजा पकाउँछन् र वितरण गर्छन् । सञ्जय भाइ जस्तो दाताहरू सेवाको भावना लिएर यसरी अगाडि बढे हरेक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आफै फेरिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here