युवाले शुरु गरे व्यावसायिक फूलखेती

0
1056

बेझाड,

पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गर्नुभएको हो । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गर्नुभएको छ ।

उहाँको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार हजार फूलका बिरुवा रहेका छन् । रामपुर क्षेत्रमा पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको मालाको खपत बढ्न थालेको देखेपछि फूलखेती शुरु गरेको थापाले बताउनुभयो । बिरुवाको माग राम्रै भएकाले अर्को वर्ष व्यवसाय बढाउने थापाको सोंच छ ।

उहाँको नर्सरीमा फूलका बिरुवा खरीद गर्न र हेर्न जानेको चहलपहल बढ्दो छ । एक बिरुवाको रु २० मा बिक्री हुँदै आएको छ । विदेशबाट फर्केर दुई वर्षदेखि गाउँमा तरकारीखेती शुरु गर्नुभएका थापाले यो वर्ष फूलखेतीलाई पनि अगाडि बढाउनुभएको हो ।एक महीनाअघि एकहप्ते व्यावसायिक पुष्पखेती, नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी तालीम लिएर फर्केपछि फूलखेतीमा सौख बढेको उहाँले बताउनुभयो । घरको सौन्दर्यका लागि बनाइएका बगैँचा र गमलाका लागि आवश्यक बिरुवा तयार गर्ने उहाँको भनाइ छ । हाइब्रिड जातको

मखमली र हाइब्रिडसँगै उन्नत जातको सयपत्री फूल उहाँले लगाउनुभएको छ । यहाँको उर्वरा कृषि समूह काँसजरीले एक हजार फूलका बिरुवा खरीद गरेर लगाएको छ । तिहार पर्वमा फूल उत्पादन गरेर बिक्री गर्ने गरी समूहले थापाको नर्सरीबाट बिरुवा खरीद गरी लगाउन शुरु गरेको सीमादेवी रानाले बताउनुभयो ।

समूहका १८ जना महिलाले एक रोपनी बढी जग्गामा फूलखेती शुरु गरेको रानाको भनाइ छ । मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । फूलको महत्व प्रति स्थानीयले चासो नदिँदा गाउँघरमै लोप हुन थालेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here