भद्रपुर।

नेपाल प्रहरी संगठनले भारतको सीमावर्ती नाकासँग जोडिएको वडा प्रहरी कार्यालय भद्रपुर र इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई नयाँ गाडी प्रदान गरेको छ ।
झापाको मुख्यनाका काँकरभिट्टा र भद्रपुर भएकाले हाल भएको गाडी जीर्ण अवस्थामा रहेकोले विभागले नयाँ गाडी पठाइदिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । नयाँ गाडी आएपछि सीमाक्षेत्रको शान्ति–सुरक्षामा थप सहयोग पुग्ने उनले बताए ।
वडा प्रहरी कार्यालय भद्रपुरमा रहेको गाडी कामै नलाग्ने अवस्थामा पुगिसकेको बताइएको छ । २०६४ को निर्वाचनमा वडा प्रहरी भद्रपुरलाई प्रहरी संगठनले नयाँ गाडी पठाएको भए पनि प्रहरी कार्यालय झापाले नयाँ गाडी आफ्नै कार्यालयमा राखेर सोही कार्यालयमा रहेको पुरानो गाडी भद्रपुरलाई पठाएको थियो ।
पुरानो गाडी भद्रपुरलाई पठाएपछि उक्त गाडी जीर्ण हुनुका साथै त्यसका पाटपुर्जा समेत नपाउने भएकाले महिनामा कम्तिमा १० दिन गाडी बिग्रीएर थन्किन्थ्यो ।
‘बल्ल भद्रपुरमा नयाँ गाडी विभागले नै पठाइदिएको छ’ –वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले भने– ‘अब नगरको शान्ति सुरक्षामा थप सहयोग पुग्ने भयो, पुरानो गाडी बिगिँ्रदा गस्तीमा हिँड्ने प्रहरीलाई समस्या हुन्थ्यो, कुन बेला गाडी बिग्रीन्थ्यो थाहा नै नहुने ।’ गत आर्थिक बर्षमा वडालाई दुईवटा नयाँ मोटरसाइकल पनि उपल्बध भएको उनले बताए ।






























