भद्रपुर ।

मोहियानी हक नदिएको भन्दै नेत्र चन्द विक्रम नेतृत्वको प्रतिबन्धित नेकपा अन्तरगतको लिम्बुवान् स्वायत्त प्रदेश जनपरिषद् झापाले शुक्रवार दिउँसो गौरदाहमा एक व्यक्तिको जमिनसहित घर कब्जामा लिएको छ ।
लिम्बुवान् स्वायत्त प्रदेश जनपरिषद् झापाका प्रमुख यम गिरीले एक विज्ञप्ति प्रकाशन गर्दै ब्यानर टाँसेर गौरदाह नगरपालिका ९ बस्ने भूपेन्द्र ढुङ्गानाको जमिनसहित घर कब्जामा लिएको हो ।
जनपरिषद्ले जारी गरिएको विज्ञप्तिमा गौरदाह ९ बस्ने शहीद विष्णु हस्ताको परिवारले मोहियानी हक मार्फत भूपेन्द्र ढुङ्गाना एवं उनका परिवारबाट तत्कालीन जनसत्ताको रोहभरमा पीडित चादमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन हाल आएर दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवम कथित अदालत समेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दी प्रति जिल्ला जनपरिसदको गम्भीर ध्यानाकर्षण भएको ।

जनपरिषद् झापा, तत्कालीन जनसत्ता एवम सामाजिम रूपमा पटक—पटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पीडक भूपेन्द्र एवम उनका परिवारले भोग चलन गरिराखेको जग्गासहित घर कब्जा गरिएको घोषणा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै पीडित चन्द्रमणि हस्ताको परिवारलाई मोहियानी हक बापत दिनुपर्ने जग्गा नदिएको, पीडित परिवारलाई अदालत र प्रशासन प्रयोग गरी घर संरचना खाली गर्न आतङ्क सृजना गरेको र तत्कालीन जनसत्ताको निर्णय एवम सामाजिक अगुवाहरूको रोहभरमा गरेको लिखित सहमति उल्लङ्घन गरेकोले १५ दिनभित्र पीडितले न्याय नपाए जिल्ला जनपरिषद् झापाद्वारा उचित जनकारबाही गरिने जनपरिषद्ले टाँस गरिएको ब्यानरमा उल्लेख गरिएको छ ।
यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले यस विषयमा आफूलाई थाहा नभएको बताउँदै त्यस क्षेत्रका प्रहरी टोलीलाई तत्काल त्यहाँ खटाएर यस बारेमा बुझ्ने छौँ ।






























