सुन हो बालुवा !

0
883

भुवन तामाङ,

एक साधु भिक्षाटनका लागि आश्रमबाट निस्कन्छन् । उनी भिक्षाटनका लागि जानुपर्ने बाटोमा एउटा खोला पर्दछ । दिनहुँ त्यो खोला तरेर पारिपटिको गाउँहरु र बजारहरुमा गएर भिक्षा मागेर साँझ फेरि खोला तरेर आश्रम फर्कनु उनको दैनिकी हो । त्यसरी भिक्षा मागेर साँझ आश्रम फर्कदा खोलामा खोकिलाभरी माछा बोकेका एक मछुवारेसँग साधुको भेट हुन्छ । मछुवारेले बोकेका माछाहरु पानी बिना छट्पटाइरहेको देखेर साधु अत्यन्त मर्माहत हुन्छन् ।

हिँड्नै लागेका मछुवारेलाई रोक्दै साधु भन्छन्– ‘ए मछुवारे भाइ ! ती माछाहरुलाई पुनः खोलाको पानीमा छाडी देऊ ।’
मछुवारे छक्क पर्दै सोध्छन्– ‘किन र बाबाजी ! यी माछा त मैले घाम पानी सहेर दिनभरी लगाएर समातेको हुँ ।’
‘अनि यी माछा घरमा लगेर के गर्छौ त ?’ भनेर साधुले मछुवारेलाई सोध्छन् ।

जवाफमा मछुवारे भन्छन्– ‘म यी माछा बेचेर परिवार पाल्छु, नानीहरुको पढाई खर्च, दबाई जोहो गर्छु ।’
मछुवारेको जवाफ सुनेर साधु भन्छन्– ‘तिम्रो उद्देश्य राम्रो भए पनि उद्देश्य पूर्ति गर्ने कर्म ठीक भएन ।’
‘कसरी ?’ भनेर मछुवारे सोध्छन् ।

साधु मछुवारेलाई सम्झाउँदै भन्छन्– ‘हेर त भाइ ! यी माछाहरु पानी बिना कसरी तड्पिरहेका छन् ? यसरी तड्पाई–तड्पाई यिनीहरुलाई मार्नु त पाप हो नि होइन र ?’

साधुको कुरा सुनेर मछुवारे एकछिन चुप रहन्छन् र सोध्छन्– ‘यो संसारमा म मात्र एउटा मछुवारे होइन क्यारे, अनि कतिलाई मात्र पाप धर्मको कुरा गर्नुहुन्छ बाबाजी तपाई ?’ साधु फेरि भन्छन्– ‘हामीले पहिला आपूmलाई हेर्ने हो, आपूmलाई सही बाटोमा हिँडाउने हो अनि अरुले पनि राम्रो कुरा सिक्दै जान्छन् नि ।’

मछुवारे साधुलाई भन्छन्– ‘हुन्छ म यी माछा खोलामै छाडिदिउँला तर मेरो परिवार कसरी पाल्ने अनि मेरा नानीहरुको पढाइ खर्च कसरी निकाल्ने ? भन्नुस् त बाबाजी ।’ साधु कमण्डलुबाट केही पैसा निकाल्दै मछुवारेलाई दिँदै भन्छन्– ‘लु यी पैसा समात र माछाहरु खोलामा छाडिदेऊ ।’ मछुवारे अवाक हुन्छन् र माछाहरुलाई खोलामै पुनः छाडिदिन्छन् । माछाहरु रमाउँदै खोलाको पानीमा खेल्न थाल्छन् । साधु खुशी हुन्छन् । मछुवारे पनि खेशी हुँदै पैसा समातेर घरतिर लाग्छन् ।

अर्र्कोदिन साधु भिक्षाटन गरेर आश्रम फर्कँदा खोलामा हिजोको जस्तै गरी खोकिलाभरी माछा बोकेको उही मछुवारेलाई देख्छन् र मनमनै भन्छन्– ‘हेर त यी मछुवारे भाइको बुद्धि नफिरेको ? फेरि माछा मारेछन् ।’ मछुवारे नजिक पुगेर साधु भन्छन्– ‘ए मछुवारे भाइ ! मैले तिमीलाई हिजो माछा मार्नु पाप हो भनेर सिकाको होइन ? फेरि आज पनि माछा मारेछौ त ?’

मछुवारे पनि छक्क पर्दै भन्छन्, ‘बाबाजी ! हजुरले हिजोको लागि पो सिकाको हो त आजको लागि त होइन नि । अनि आज मेरा परिवारले के खाउन् ? मेरा नानीहरु बिमारी छन् के ले दबाई किनेर ल्याऊँ ?’ साधुले आज पनि कमण्डलुबाट केही पैसा झिकेर मछुवारेलाई दिँदै भन्छन– ‘लु त लु यी पैसा लेऊ, यही पैसाले तिम्रो परिवारको छाक टार र दवाईपानी गर ।’ मछुवारेले आपूmले समातेका माछाहरुलाई तुरुन्तै खोलामा छाडिदिन्छन् ।

अर्कोदिन पनि साधुले मछुवारेलाई उसैगरी पैसा दिनुपर्ने हुन्छ । तर, साधुलाई लाग्छ कि यसरी मछुवारेलाई आपूmले दुःखले भिक्षा मागेर ल्याएको पैसा दिएर सधैँ काम चल्दैन । साधु चाहन्छन् मछुवारेले आपैm कुरा बुझुन् र खोलाकै माध्यमबाट आजिविका चलाउन् र माछा चाहिँ नमारुन् । तर मछुवारेको दिमागमा केही सुभ्mदैन सायद ।

साधु सधैँ भैmँ आज पनि पैसा दिँदै मछुवारेलाई भन्छन्– ‘हेर मछुवारे भाइ ! यही खोलामा माछा भन्दा अरु किमती कुरा पनि छन् । तिनका माध्यमबाट तिमीले माछा मारेर कमाएभन्दा धेरै राम्रो आम्दानी गर्न सक्छौ । त्यसैले तिमीले माछालाई तड्पाई–तड्पाई मारेर पाप कमाउनु भन्दा खोलाको अन्य चिजहरुको व्यापारबाट मनग्गे आम्दानी गरी जीवनस्तर उकास्न सक्छौ । लौ है विचार गर भन्दै साधु बाटो लाग्छन् ।

भोलिपल्ट साधु भिक्षा मागेर खोलामा आइपुग्दा मछुवारे खोलामा उभिरहेका देखिन्छन् तर आज उनीसँग माछा भने छैन । साधु खुशी हुँदै भन्छन्– ‘मछुवारे भाइ ! तिमीलाई धन्यवाद र बधाई पनि ।’
मछुवारे सोध्छन्– ‘के को लागि धन्यवाद र बधाई बाबाजी !’
साधु भन्छन्– ‘तिमीले माछा नमार्ने अठोट लिएकोमा ।’
मछुवारे हाँस्दै भन्छन्– ‘ए बाबाजी पनि ! मैले माछा किन नमारेको थाहा छ ?’
साधु तुरुन्तै भन्छन्– ‘तिम्रो बुद्धि पलाएर होला नि ।’
मछुवारे भन्छन्– ‘यी हुन्थ्यो ! अब मैले माछा मारेँ भने बाबाजीले खोलामा फिर्ता छाड्न लगाई हाल्नुहुन्छ । त्यसैले आज माछा मारिन र माछा खोलामै छाडेवापत तपाईले दिने पैसा चाहिँ कुरेर बसेको क्या ।’ जवाफ सुनेर साधु भाउन्न हुन्छन् । साधु मौन बसेकाले मछुवारे फेरि पैसा माग्छन् ।
‘ल ठीकै छ, म आज पनि पैसा दिन्छु तर भोलिदेखि दिन्न ।’
साधुको कुरा सुनेर मछुवारे सोध्छन्– ‘अनि मेरा परिवारले के खान्छन् ?’
जवाफमा साधु भन्छन्– ‘मछुवारे भाइ ! तिमीले कुरा नबुझेकामा म निक्कै हैरान छु ।’
आश्चर्य मान्दै मछुवारे सोध्छन्– ‘कसरी ? किन ?’
साधु सोध्छन्– ‘यहाँ खोलामा माछा मार्ने कति जना छन् ?
मछुवारे जवाफ दिन्छन्– ‘म र अरु केहीजना मात्र छौँ ।’
साधु फेरि सोध्छन्– ‘खोलामा बालुवा चाल्नेहरु कति छन् ?’ जवाफमा मछुवारे भन्छन्– ‘सयौँ होलान् बाबाजी !’
साधु सोध्छन– ‘किन यति धेरै मानिसहरुले बालुवा चालेका होलान् ?’
जवाफमा मछुवारे भन्छन्– ‘बालुवाको व्यापार राम्रो भएर होला ।’

साधु गम्भीर हुँदै मछुवारेलाई सम्झाउँदै भन्छन्– ‘लु अहिले भने तिमीले गाँठी कुरा बुभ्mयौ होइन त ?’
मछुवारे हँसिलो मुद्रामा साधुलाई हेर्छन् । साधु फेरि भन्छन्– ‘समय अनुसार चिजको महत्व हुन्छ । आजभोलि बालुवाको महत्व धेरै छ । किनकि देशमा विकास निर्माण कर्म तीव्ररुपमा भइरहेको छ । मानिसहरुले घर बनाउने क्रम तीव्ररुपले बढेको छ । त्यसैले भाइ ! तिमीले माछा मारेर पाप गर्नै पर्दैन । खोलाभरी यतिका मानिसहरुले बालुवा चालिरहेका देखउनी ? उनीहरुले तिमीले माछा मारेर कमाएको भन्दा दोब्बर, तेब्बर, चौबर पैसा कमाउँछन् । ट्याक्टर, टिपरवालाहरुले हेर त कसरी हानाथाप गरेर बालुवा किनेर लग्दैछन् । खोलैमा बालुवा नखतानखती बिक्दैछन् । बालुवा त सुन पो हो त भाई ! ल भोलिदेखि तिमी यही काम गर के ।’

महिनादिनपछि मछुवारे साधुलाई बाटो कुरेर बस्छन् । मछुवारे भाइलाई देखेर साधु सोध्छन्– ‘के छ तिम्रो हाल खबर ?’
मछुवारे साधुलाई नमस्कार गर्दै भन्छन्– ‘तपाईले मेरो आँखा खोलिदिनु भयो बाबाजी ! तपाईले भने जस्तै मेलै निकै पैसा कमाइ सकेँ । मलाई परिवार पाल्न, नानीहरुको स्कुलको फि तिर्न र ओखती मुलो गर्न धेरै सहज भएको छ । त्यति मात्र कहाँ हो र मैले त सहकारीमा बचत पनि गर्न थालेको छु । हो रछ बाबाजी ! बालुवा त सुन पो हो रछ । बाबाजी ! आज मैले तपाईलाई केही फलपूmल दिन भनेर तपाईलाई नै कुरेर बसेको ।’

एक वर्ष पछि फेरि उसैगरी मछुवारे साधुको बाटो कुर्छन् । साधु आइपुगेपछि उनीहरुबीच भलाकुसारी चल्छ । अन्त्यमा साधुको जिज्ञासा शान्त पार्दैै मछुवारे भन्छन्– ‘मैले त घरेडी पनि जोडिसकेँ र एउटा चिटिक्क परेको घर पनि बनाइसकेँ बाबाजी !’ मछुवारे साधुलाई झोलाभरी फलपूmल दिँदै भन्छन्– ‘धन्यवाद बाबाजी तपाईलाई । मेरो जीवनमा तपाई त देवदूत बनेर आउनुभयो ।’ साधु टाढा पुगिसकेका छन् । मछुवारे भाइ साधु ओझेल नपरुञ्जेल हेरिरहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here