५ दिनमा सात सय विगाहमा फैलियो, धानबाली नष्ट किसान चिन्तित

0
1063

नरेन्द्र ढकाल / बिर्तामोड ।

झापाको दक्षिणी क्षेत्र गौरादह नगरपालिकामा धान बालीमा फौजी किराको प्रकोप शुरु भएको छ । गौराहदको वडा नं.–६ को करिब सात सय विगाह क्षेत्रफलमा फौजी किराको प्रकोप शुरु भए पछि त्यस क्षेत्रको धानबाली नष्ट हुन थालेको छ । किराको आक्रमणका कारण सयौं मन धान फल्ने क्षेत्रको धान बाली नोक्सान भएको हो ।

फौजी किराले ५ दिनमै आफ्नो डेढ विगाहा क्षेत्रफलमा लगाईएको धान बाली नोक्सान भएको स्थानीय यादवकुमार बस्नेतले बताए । पहिलो पटक यस्तो किराको प्रकोप देखा परेकोउनको भनाई छ । फैजी किराले दिनमा दुई गुना र रातमा चौगुना बाली नष्ट गर्ने गरेको बस्नेतले जानकारी दिए ।

दिन भरी धानको गाजमा लुक्ने र रात परे पछि यो किराले धानका टुप्पा काटेर भुईमा झार्ने अर्का किसान चन्द्रप्रसााद पराजुलीले बताए । समुहमा रही फौजी शैलीमा धान बालीमा आक्रमण गर्ने हुंदा यो किरालाई स्थानीय स्तरमा फौजी किरा भनेर चिनिएको छ । किराको यस्तो प्रकोप देखिन थाले पछि किसान चिन्तित बनेका हुन् । पराजुलीको ५ बिगाह क्षेत्र फलमा लगाइएको धानबाली नष्ट भएको जानकारी दिए ।

धानबालीमा निर्भर रहेका किसानहरु फौजी किराको प्रकोपका कारण चिन्ति बनेका छन् । स्थानीय खड्ग बहादुर कार्कीले आफूले खेती किसानी गरेको ६० वर्ष बितेपनि यस्तो प्रकोप पहिलो पटक देखेको बताए । उनले २–३ दिनभित्रै फैजी किराले बालीलाई नष्ट गरेपछि किसानहरु अब के गर्ने भन्दै अलमलमा परेका छन् ।

गौरादह–६ को वीरबल चौकमा यो रोगको प्रकोप धेरैरहेको स्थानीय सारदा प्रसाई पराजुलीले बताइन् । किसानहरुले फौजी किराका कारण धानबाली नष्ट भएपछि कुन औषधी प्रयोग गर्ने भन्ने विषयमा समेत अलमल भएका छन् । धानबालीमा फैजी किराले आतंक मच्चाएपछि स्थलगत रुपमा सोमबार पूर्वाञ्चलकर्मीको टोली उक्त स्थानमा पुग्दा किसानहरुले फौजी किरा हातमा ल्याउदै देखाएका थिए ।

उक्त क्षेत्रमा धानबाली हिउँदे र वर्षे गरेर दुई बाली हुने गरेको छ । प्रति विगाह ९० मनसम्म उत्पादन हुने धानमा फौजी किराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तिब्रता दिदैं समाधानको बाटो खोज्न सुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए ।

उनले भने– फौजी किराको प्रकोपका कारण सयभन्दा बढी किसान मारमा परेका छन् । यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिती आउन सक्छ । फौजी किराले धानबाली नष्ट गरेपछि वर्षभरी खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीय किसान हेमसागर ओझाले चिन्ता ब्यक्त गरेका छन् ।

धानबालीमा फौजी किराको प्रकोपका कारण समस्या सिर्जना भएसंगै स्थानीय भेटनरी सञ्चालक बालकृष्ण दाहालले औषधी प्रयोग गर्न किसानलाई सिकाएको बताइएको छ । यस्तै कृषि ज्ञान केन्द्रको टोलीले समेत फौजी किराको प्रकोप क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।

उता विराटनगर स्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव,कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठ लगायतको टोली समेत गौरादह पुगेर फैजी किराको प्रकोपको विषयमा अवलोकन गरेको छ । उनीहरुले फैजी किराको प्रकोप यसअघिपनि नेपालमा देखा परेको बताएका छन् ।

बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख यादवले प्रदेश सरकार र कृषि ज्ञान केन्द्र मार्फत तत्काल औषधी प्रयोग गर्ने विषयमा ध्यान दिने बताए । उनले तत्काल यो किरालाई नियन्त्रण गर्न नसके भयावह स्थिती सिर्जना हुन सक्ने उल्लेख गरे । विराटनगरको टोलीले चार प्रकारका औषधी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।

बेलुकाको समयमा मात्रै औषधी प्रयोग गर्न यादवले किसानहरुलाई आग्रह गरे । फौजी किराको निशानामा रञ्जित जातको धान परेको स्थानीयले बताएका छन् । छोटो समयमा धानबाली नै नष्ट गर्ने हिसाबले फौजी किरा फैलिएपछि तत्काल रोकथामका लागि सरकारी स्तरबाट पहल हुनुपर्ने किसानहरुले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here