२ बजेपछि चन्द्रगढी बिमानस्थल बन्द

0
890

भद्रपुर।

झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य शुरु गर्न लागेको छ ।

विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिको कार्य गर्न लागेपछि यही भदौ २०देखि असोज ४ सम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको छ । १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग अहिले जीर्ण बन्दै गएको छ । जीर्ण बन्दै गएको धावनमार्ग १२ वर्षपछि मर्मत कार्य हुन लागेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भद्रपुर विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाखमा ठेक्का लगाएको छ । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतका लागि ठेक्का लिएको हो । २०७५ फागुनमा लिएको ठेक्का अवधि २०७६ माघसम्म तोकिएको छ । एक वर्षको समय अवधि तोकिए पनि १५ दिनभित्र दिनरात काम गरेर धावनमार्गको मर्मत सम्भारसँगै स्तरोन्नतिको काम सक्नुपर्ने कार्यालय प्रमुख चुडालले बताए ।

बिमानको थप सुरक्षा र रात्रिकालीन सेवाका लागि रनवे लाइट राखिएको हुँदा धावनमार्गको दुवैतिर अढाई मिटर नयाँ कालोपत्रे थपिने उनले बताए । ‘१२ वर्षदेखि धावनमार्ग मर्मत नहुँदा जीर्ण बन्दै गरेको छ’– उनले भने– ‘धावनमार्गको विस्तारसँगै मर्मत कार्य सम्पन्न भएपछि बिमानको सुरक्षा थप मजबुत हुनेछ ।’ १५ दिनका लागि दिउँसो २ बजेदेखि बिहानको ७ बजेसम्म मर्मत कार्य हुने उनको भनाइ छ । उनले भने– धावनमार्गको मर्मत कार्यका लागि १५ दिनको समय दिएका छौं । निर्माण कम्पनीले पनि १५ दिनभित्रै काम सक्ने आश्वासन दिएको छ ।

घाँसे मैदानबाट शुरु भएको भद्रपुर विमानस्थलमा अहिले धमाधम स्तरोन्नति कामहरू भइरहेका छन् । अहिले बिमान पार्किङको क्षेत्र बिस्तारको कार्य तीव्र गतिमा भइरहेको छ । १५ दिनका लागि २ बजेसम्म मात्र विमान सेवा सञ्चालन हुने भएपछि एयरलाइन्स कम्पनीहरूले नियमित उडानको समय तालिका परिवर्तन गरिसकेका छन् ।

तीन वटा विमानबाट बेलुका ६ बजेसम्म उडान सेवा दिँदै आइरहेका बुद्ध एयरलाइन्सले पनि समय तालिका परिवर्तन गरिसकेको बुद्ध एयरलाइन्स भद्रपुर स्टेशन म्यानेजर ओम प्रधानाङ्गले बताए । ‘हामीले विमानको संख्या घटाएका छैनांै’– उनले भने– ‘समय तालिका मात्र परिवर्तन गरेको हो, अरू एयरलाइन्सले पनि समय तालिका परिवर्तन गरेको हुनुपर्छ ।’

बुद्ध एयरले भद्रपुर–काठमाडौँका लागि बिहान ९ बजेर ४५ मिनेट, साढे १२ र १ बजेर २० मिनेट तोकेको छ । बुद्धले दिउँसो २ र बेलुका ६ बजेको समय तालिका हाल हटाएको उनले बताए । भद्रपुर विमानस्थलमा अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सोर्य, श्री एयरलाइन्स गरी १० वटा विमानले बिहान साढे ९ बजेदेखि बेलुका ६ बजेसम्म उडान सेवा दिँदै आइरहेका छन् । यस विमानस्थलमा दैनिक ४ सयभन्दा बढीले सेवा लिँदै आइरहेको जनाइएको छ ।

विशेषगरी भद्रपुर विमानस्थलमा झापासहित मेची अञ्चलवासीसँगै छिमेकी राष्ट्र भारत, भुटान र बङ्गलादेशका नागरिकले पनि सेवा लिँदै आइरहेकोले उनीहरूलाई वैकल्पिक बाटोका लागि विराटनगर पठाइने जिल्ला ट्राभल्स संघ झापाका उपाध्यक्ष गोपाल खनालले बताए ।

‘यस विषयमा बुझ्दा एयरलाइन्सहरूले विमान घटाएको छैन’– उनले भने– ‘नेपाली नागरिकको हकमा समस्या छैन, भारतको बागडोगरा विमानस्थल भएर आउने पर्यटकका लागि मात्र समस्या हो, त्यो समस्या पनि बिराटनगर लगेर समाधान गर्छौ ।’ पछिल्लो समयमा भद्रपुर विमानस्थलले काँचुली फेर्न थालिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भद्रपुर विमानस्थलको स्तरोन्नतिसँगै धावनमार्ग विस्तार कार्यलाई दीर्घकालीन योजना बनाएर अघि बढेसँगै यस विमानस्थलले काँचुली फेर्न थालेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here