झापामा सर्पदंशका विरामी बढे

0
799

बिर्तामोड।

झापामा सर्पको डसाइका कारण उपचार गर्न आउने विरामीको संख्या दिनानुदिन बढ्दै गएको छ ।
सर्पदंशका कारण गएको महिनामा दुई जनाको ज्यान गइसकेको छ ।

झापामा रहेका तीन वटा सर्पदंश उपचार केन्द्रमा दुई हजार पाँच सय जनाले उपचार गराइसकेका छन् । सर्पदंशका घटना बढेपछि यो बर्ष झापाको चारआलीमा रहेको उपचार केन्द्रमा रहेका ११ वटा बेडमा विरामी अटाएका छैनन् ।

धान गोड्दागोड्दै विषालु सर्प गोमनले डसेपछि भद्रपुर नगरपालिका वडा नं. १० का ५७ बर्षीय छविलाल कट्टेलले चाँडो उपचार गर्न भ्याएकोले ज्यान बच्न सफल भएको बताए । उपचार केन्द्रमा विरामीको भीड धेरै भएपछि सर्पको विष कम भएका विरामीलाई बेडको अभावमा अरु अस्पतालमा पठाउनु परेको चारआली उपचार केन्द्रले जनाएको छ ।

सर्पबाट कसरी बच्ने भन्ने चेतनाको अभावले पनि सर्पदंशका घटना बढेको नेपाल रेडक्रस सासाइटी दमक उपशाखा सर्पदंश उपचार केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीको ठम्याई छ ।

त्यस्तै झापाको दक्षिणी भेगमा धेरैजसो सर्पदंशका घटना बृद्धि भएको कन्काई सहारा उपचार केन्द्रका प्राविधिक अभिषेक पोखरेलले बताए । झापामा रहेको तीन वटा उपचार केन्द्रमा पूर्वी नेपालका छ वटा जिल्लासम्मका विरामी आउने गरेका छन् । सर्पदंशका घटना धेरैजसो घाँस–दाऊरा गर्दा वा झाडीमा हुने कार्यमा नै भएको उपचारमा आएका विरामीहरुले बताएका छन् ।

पछिल्लो तथ्यांक अनुसार झापामा बर्षेनि सर्पदंशका घटना बढिरहेको छ । यसका लागि उपचार केन्द्रको विस्तारसँगै सर्प सम्बन्धी सचेतना बढाउनुपर्ने उपचारमा संलग्न प्राविधिकहरुको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here