भद्रपुर।

१६ बर्षपछि झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन हँुदैछ । नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा हुने जेसीज क्षेत्र ‘क’ सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।
४० वटा शाखाको सहभागिता हुने जेसीज क्षेत्र ‘क’ सम्मेलन यही भदौ २० र २१ गते भद्रपुर–६स्थित सिटी गार्डेन होटल परिसरमा हुन लागेको हो । जेसीज क्षेत्र ‘क’ सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गर्नेछन् ।
यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलन निर्देशक बसन्त पोखरेलले जानकारी दिए । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र ‘क’ सम्मेलनका अध्यक्ष रवीन पोखरेलका अनुसार १८ वर्षदेखि ४० वर्षमुनिका युवाहरुलाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासका लागि बर्षमा एकपटक यस्तो कार्यक्रमको आयोजना नेपाल जेसीजले गर्दै आइरहेको बताए ।
सम्मेलनको आकर्षणको रुपमा चर्चित युवा वक्ता रमेश प्रसाई र मिस नेपाल अनुष्का श्रेष्ठले युवाहरुलाई उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए । सम्मेलनमा विभिन्न कला, संस्कृति, भेषभुषा प्रदर्शनी गर्नुका साथै शान्ति पदयात्रासहित सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ । त्यसअवसरमा जेसीजकर्मीहरुलाई अवार्ड वितरण गरिने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँगै अर्जुन प्रसाई, राजेन्द्र लिङ्देन, रवीन कोइराला र बद्री पाण्डेले समेत सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्मेलनमा शाखाहरुबाट करिब ५ सय सदस्य र पर्यवेक्षक १५० गरी ६ सय ५० भन्दा वढी जेसीजकर्मीहरुको सहभागिता रहनेछ । सो सम्मेलनमा शैलुन, जुत्ता पोलिस, व्युटी पार्लर, साना नानीहरुलाई खाना खुवाउने छुट्टै स्थान, प्राथमिक उपचार समेतको निःशुल्क व्यवस्था गरिने छ । सःशुल्क रुपमा विशेषतायुक्त खानापिनको स्टल राखिने प्रचारप्रसार समितिका संयोजक अभिषेक ढुङ्गानाले जानकारी दिए ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउने सन्दर्भमा युवाहरुले नेतृत्व गर्ने संस्था जेसीजले पनि उक्त अभियानलाई आत्मसात गर्दै प्रर्वद्धन गर्ने निर्णय गरिएको भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले बताए ।
क्षेत्रीय क सम्मेलनमा जिल्ला बाहिरका जेसीजकर्मीहरुलाई यस क्षेत्रको पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको अवलोकन तथा सांस्कृतिक विविधताको बारेमा यसै सम्मेलनमार्फत जानकारी गराउने निर्णय गरिएको उनको भनाइ छ ।
सम्मेलन सहजरुपमा सम्पन्न गर्नका लागि करिव ४० लाख रुपैयाँ खर्च लाग्ने र उक्त रकम रजिष्ट्रेशन शुल्कसहित विभिन्न संघ–संस्था, उद्योगी, व्यवसायीबाट संकलन गरिने जनाइएको छ । यसअघि भद्रपुर जेसीजले प्रथमपटक सन् १९८७मा, दोस्रोपटक सन १९९७ क्षेत्र क सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।































