नेका, राष्ट्रिय जागरण र अपेक्षा

0
644

बहुआयामिक व्यक्तित्व तथा प्रजातान्त्रिक समाजवादका प्रवर्तक वीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले जागरण अभियानको दोस्रोचरणको कार्यक्रमको प्रारम्भ गरेको छ । साहित्य र राजनीतिलाई एकसाथ बोकेर हिँडेका कोइराला यी दुबै अवस्थामा पनि निरपेक्ष रहे । अर्थात् साहित्यमा राजनीतकिो गन्ध आउन दिएनन् र राजनीतिमा साहित्यबाट तटस्थ बसे । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत बनेका उनले प्रतिपादन गरेको विचार आज पर्यन्त नेपाली राजनीतिको मार्गदर्शक बनेको छ । राणा शासनको निरंकुशताको अन्त्य गर्दै प्रजातन्त्रको स्थापनामा निर्णायक र अग्रणी भूमिका निर्वाह गरेका कोइराला २०१५ सालको पहिलो निर्वाचनपछि प्रधानमन्त्री चुनिए । आफ्नो कार्यकाल पूरा गर्न नपाइ अपदस्थ गराइएका उनी राजतन्त्र, बहुदल र समाजवादको आस्था एवम् आदर्शबाट कहिल्यै विचलित भएनन् ।

मुलुकले आज राजनीतिक हिसाबले ठूलै फड्को मारेको छ । अढाइसय वर्ष अघिदेखिको राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भइसकेको छ । राजनीतिक परिवर्तनका लागि ठूल्ठूला आन्दोलनको सफल नेतृत्व गरेको कांग्रेस यसका प्रवर्तक तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईहरुको उच्च नैतिक छवि र सगरमाथा सरहको उच्चता स्खलित भएको छ । एउटै दर्शनबाट अनुप्राणित नेपाली कांग्रेस रौं चिरामा विभक्त हुँदै वामपन्थीसँग हात मिलाउन पुगेर वीपीको विचार र चिन्तन बिर्सिर उभिएको छ । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र लगायतका परिवर्तन वीपीको आदर्श र गन्तव्य विपरीत गएर कांग्रेसले नेपाली जनतालाई धोका दिएको छ । जसका कारण नेपाली कांग्रेस आम नेपालीको आस्था र विश्वासको केन्द्र हुन सकेन । परिणाम अत्यन्त कमजोर प्रतिपक्ष बनेर वर्तमान कालखण्डमा अस्तित्व र उपस्थिति खोज्न बाध्य भएको छ ।

अहिले नेपाली कांग्रेसकै शब्दमा कम्युनिष्टहरु अहिले लोकतन्त्रको खोल ओडेर एकदलीय शासन स्थापित गर्न लागेका छन् । उनीहरुको यो आरोपमा भएको सत्यता इतिहासले प्रमाणित गर्ला तर वर्तमान सरकारद्वारा प्रस्तुत मानव अधिकार, मिडिया, गुठी लगायतका जनसरोकारका विधेयकहरुले आशंका गर्ने ठाउँ चाहिँ जन्माएको छ । नेपाली कांग्रेसले गत साउन ६ गतेको वीपी जयन्तीको स्मृतिसभा पूर्व नै यही सन्दर्भमा दोस्रो जागरण अभियान सञ्चालन गर्ने घोषणा ग¥यो । त्यही घोषणाका आधारमा प्रारम्भ भएको कार्यक्रम वृक्षरोपणबाट शुरु भएको छ । तर, त्यसको सार्थकता खोज्न वीपीका विचार, चिन्तन र दर्शनको स्पन्दनको खोजी गर्न अत्यावश्यक छ ।

अरुलाई दोष दिनु पूर्व आफू दोषमुक्त हुनुपर्दछ । विगतमा व्यक्ति, परिवार वा संकीर्ण स्वार्थबाट भएका वा गरिएका अनुचित कार्यको लेखाजोखा गर्दै वीपीका आदर्श विपरीत गरिएका कामको प्रायश्चित गर्नुपर्दछ । वामपन्थी भासमा परेर गरिएका जनविरोधी र सिद्धान्त विरोधी निर्णयहरुको पुनरावलोकन गर्दै नयाँ वैचारिक बहस चलाउनु पर्दछ । त्यसका लागि गुटमुक्त भई प्रजातन्त्रको मूल्य र मान्यता, राष्ट्र, राष्ट्रियताको प्रवद्र्धन गर्न वीपी कै आदर्शको अनुशरण गर्नुपर्दछ । यी सबैको रक्षा स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, मानवअधिकार र प्रजातन्त्रको आधार स्तम्भलाई दरिलो बनाउनु पर्दछ । त्यसका लागि सशक्त, आदर्श, निष्ठा, मर्यादासहितको प्रतिपक्ष आवश्यक छ ।

यो नेपाली कांग्रेसभित्रको एकता, सद्भाव, सहकार्य र सहअस्तित्वबाट मात्रै सम्भव हुन्छ । त्यसैले पनि नेपाली कांग्रेसको जागरण सभा नेता र नेतृत्व वर्गको एकताका लागि हुनुपर्छ । तदन्तर नेपाली जनता निसंकोच र स्वतःफूर्त नेपाली कांग्रेसको विचारमा समाहित हुनेछन् । जसले वीपी, गणेशमान र कृष्णप्रसाद जस्ता आदर्शका शिखरहरुप्रति पनि न्याय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here